केपिलासगढीमा ‘मह सिकार महोत्सव’

हिमाल प्रेस ९ जेठ २०८३ ८:१८ | Saturday, May 23, 2026
4
SHARES
केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ- केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन्। लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले मह सिकार महोत्सवको आयोजना गरिएको हो। महोत्सवमा फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले गरेको भीर मौरीको मह सिकार आकर्षण बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए।

स्थानीय स्रोत तथा सामग्री प्रयोग गरेर गरिने भीर मौरीको मह सिकार हेर्न जिल्लाभित्रका सबै स्थानीय तह तथा छिमेकी भोजपुर, ओखलढुंगा, झापा, विराटनगरलगायत स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ।

महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका साहसिक तरिकाले गरिन लागेको भीर मौरीको मह सिकार अवलोकनका साथै स्थानीय साम्पाङ राईहरुको संस्कार÷संस्कृतिको अध्ययन एवं अनुसन्धान गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। पर्या–पर्यटनसँग जोडेर प्रदेश सरकारसँगैको सहकार्यमा गाउँपालिकाले पहिलोपटक आयोजना गरेको महोत्सवमा जिल्लास्थित सबै स्थानीय तहका जनप्रतिनिधि तथा मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राईलगायत पर्यटन व्यवसायीको सहभागिता छ। फेदीको लेकाली क्षेत्रमा पर्ने तेरावामा आयोजना गरिएको महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीयले त्रिपाल टाँगेर खाने तथा बस्ने व्यवस्था मिलाएका छन्।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजित महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिए। ‘हाम्रो गाउँपालिकाको धेरै भीरहरुमा भीर मौरी पाइन्छ। लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा महोत्सव आयोजना गरिएको हो’, उनले भने।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीरलगायत भीरहरुमा वर्षौंअघिदेखि भीर मौरी बस्दै आएका छन्। फेदीका स्थानीय बासिन्दाले उभौलीको समयमा जेठ–असार तथा उधौलीको समयमा कात्तिक–मङ्सिर महिनागरी वर्षमा दुईचोटी भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन्। एक याममा एउटै भीरबाट कम्तीमा पनि रु पाँच लाखदेखि रु सात लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन्।

फेदीमा पुस्तौँदेखि किरात संस्कारका रुपमा भीर मौरीको मह सिकार भइरहेको मह सिकारी हस्तराम राईले बताए। ‘मैले विसं २०३५ देखि यो पेसा सुरु गरेको हुँ, अहिले युवा पुस्तासमेत यो परम्परागत मह सिकार गर्ने पेसामा आकर्षित भएका छन्’, उनले भने, ‘भीर मौरीको सिकार गर्न उनीहरुलाई हामीले नै सिकायौँ। युवापुस्ता पेसेवर बन्दा आफूहरुलाई खुसी लागेको छ ।’

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा ९सेफ्टी०, सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरोलगायत सामग्रीको सहयोगमा परम्परागत रुपमा भीर मौरीको मह सिकार गरिन्छ  । प¥याङका माध्यमबाट चढ्ने, सुताका माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ ।

स्थानीय मह सिकारीको भाषामा भीरमा गएर मह निकाल्नेलाई ‘प¥याङ्गे’ भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता आवश्यक सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ । प¥याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धुवाँ लगाउनेलगायत अन्य व्यक्तिलाई सहयोगी भन्ने गरिन्छ ।

भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला, पिपिङलगायत क्षेत्रमा बसोबास गर्दै आएका गाउँभरिका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजालगायत लिएर उत्सवका रुपमा रमाइलो गर्न भेला हुने गरेका छन्। फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँका साथै बेलायत, हङकङ, सिङ्गापुरलगायतका देशहरुमा निर्यात हुने गरेको छ।

फेदीका किरात राई (साम्पाङ) समुदायले भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत संस्कार तथा संस्कृतिसँगसमेत जोड्ने गरेका छन्। उनीहरुले भीरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात् पितृ (दिवंगत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादका रुपमा ग्रहण गर्ने गरेका छन्। भीर मौरीले जडीबुटीजन्य फूलबाट मह बनाउने भएकाले भीर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ  । धेरै खाँदा मात लाग्ने विशेषता भएको भीर मौरीको मह हाडजोर्नी, नसासम्बन्धी समस्या, युरिक एसिड, प्रेसरलगायत दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरुले बताउने गरेका छन्।

प्रकाशित: ९ जेठ २०८३ ८:१८ | Saturday, May 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast