महान्यायाधिवक्ताविरुद्धको रिट निवेदनमा कारण देखाऊ आदेश

हिमाल प्रेस १० वैशाख २०८३ १८:३६ | Thursday, April 23, 2026
14
SHARES
महान्यायाधिवक्ताविरुद्धको रिट निवेदनमा कारण देखाऊ आदेश सर्वोच्च अदालत

काठमाडौँ– महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश गरेको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त रिट निवेदनमा कारण देखाऊ आदेश गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार वैशाख १७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाइएको हो।

महान्यायाधिवक्ताको नियुक्तिविरुद्ध बुधबार छुट्टाछुट्टै तीन रिट निवेदन दायर गरिएको थियो। बिहीबार उक्त विषयमा प्रारम्भिक सुनुवाइ भएर कारण देखाऊ आदेश गरेको हो।

महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै शिवराज बराल, माधव बस्नेत, दीपकराज जोशीलगायतका अधिवक्ताले रिट निवेदन दायर गरेका थिए। रिट निवेदनमा महान्यायाधिवक्ता जस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरिएको उल्लेख छ।

प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत २२ गते कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए।

सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई प्रधानमन्त्रीले महान्यायाधिवक्तामा नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ। निरन्तर १५ वर्ष कानुन व्यवसायमा संलग्न व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता कँडेलको यो अनुभव नभएको रिट निवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: १० वैशाख २०८३ १८:३६ | Thursday, April 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast