लिङ्देनमाथि राप्रपा नेताको ९ बुँदे आरोप, ज्ञानेन्द्रको आज्ञा नमानेकोदेखि राजावादी आन्दोलन स्खलित गराएकोसम्म

हिमाल प्रेस ६ वैशाख २०८३ १०:२५ | Sunday, April 19, 2026
12
SHARES
लिङ्देनमाथि राप्रपा नेताको ९ बुँदे आरोप, ज्ञानेन्द्रको आज्ञा नमानेकोदेखि राजावादी आन्दोलन स्खलित गराएकोसम्म

काठमाडौँ- राप्रपा नेता रन्जन कार्कीले पार्टी नेताहरूका विभिन्न असान्दिर्भक हर्कतले पार्टी पत्तासाफ अवस्थामा पुगेको बताएका छन्। उनले वर्तमान नेतृत्वले देखाएको सत्तालिप्सा, राजसंस्थावादी कमजोर बनाउने कामले कमजोर बनेको बताएका छन्। उनले पार्टी विधि र थितिअनुसार पार्टी नचलेकोको कारण लज्जाबोध अवस्थामा पुगेको निष्कर्ष निकालेका छन्। ‘चारिक प्रतिबद्धताका साथ निर्वाचनअघि नै नवीन राजनीतिक समझदारी निर्माण गरेर मात्र निर्वाचन प्रक्रियामा सहभागी हुनु उपयुक्त हुन्छ भन्ने मसहित अधिकांश नेतारसदस्यहरूको धारणा थियो।’ उनले भनेका छन्,‘महाराजाधिराज सरकारको वक्तव्यले समेत निर्वाचनअघि नै समस्याको समाधान खोजेर मात्र निर्वाचनमा जानु उचित हुने सन्देश दिएको परिस्थितिमा यसले राप्रपाभित्र गम्भीर बहस र उकुसमुकुसको स्थिति सिर्जना गरेको थियो।’ उनले बुँदागतरूपमा राप्रपा सकिनुका कारण खुलाएका छन्।

गत महाधिवेशनबाट प्राप्त म्यान्डेटअनुसार पार्टी नेतृत्व अघि बढ्न नसकेको, २-४ सिट जितेर सरकारमा जाने प्रवृत्ति अन्त्य गर्ने घोषित निर्णयलाई आफैंले लत्याएको, उपप्रधानमन्त्रीको पद खानका लागि “संघीय गणतन्त्रलाई सुदृढीकरण गर्ने” लिखित सम्झौतामा हस्ताक्षर गर्दै प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएको बताएका छन्। उनले प्रदेश सरकार खारेजीको राप्रपाको मुख्य एजेन्डालाई लत्याउँदै प्रदेश सरकार र सभामुख, उपसभामुख पदहरूमा सोही पक्षीय व्यक्तिहरूलाई पठाएको, चैत १५ र जेठ १५ गते राजसंस्थावादी आन्दोलनलाई कमजोर पार्ने, झारा टार्ने तथा आम नागरिकको आँखामा छारो हाल्ने खालका गतिविधिहरू गरेको र पार्टीका जिम्मेवार नेताहरू हिरासतमा हुँदा समेत पार्टीले संस्थागत प्रतिरक्षा नगरेको बताएका छन्।

‘जेन्जी बिद्रोहलाई सम्बोधन गर्दै, भदौ २४ गते पार्टीका प्रवक्ताको नाममा जारी गरेको विज्ञप्तिमा ‘देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद् र संविधानको औचित्य समाप्त भइसकेकोले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिई संसद्बाट बाहिरिने निर्णय गरेको’ तर, संविधान संशोधनको माग समेत नगरी र सामूहिक राजीनामा नदिई पार्टीलाई वैचारिक रूपमा स्खलित गराएको कारण कमजोर बनियो।’ उनले भनेका छन्,‘ पार्टीको विधानअनुसार संस्थागत निर्णय प्रक्रियालाई लत्याउँदै पटकपटक विधानविपरीतका निर्णयहरू अध्यक्षबाट हुँदै आएको छ।’

उनले पार्टीलाई सुधार र सुदृढीकरण गर्नका लागि योग्य उम्मेदवारहरूलाई सुनियोजित अन्तर्घात गरेको र पार्टी अध्यक्षलाई सार्वजनिक रूपमा पार्टीभन्दा बाहिरबाट समेत गम्भीर आरोप लाग्दा पनि उक्त आरोपहरूको खण्डन नगरी आम कार्यकर्तालाई लज्जाबोध हुने स्थिति भएको बताएका छन्।

 

प्रकाशित: ६ वैशाख २०८३ १०:२५ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast