प्रधानमन्त्री कप भलिबल : महिलातर्फको फाइनलमा न्यु डायमण्ड

हिमाल प्रेस १५ वैशाख २०८३ १६:५२ | Tuesday, April 28, 2026
12
SHARES
प्रधानमन्त्री कप भलिबल : महिलातर्फको फाइनलमा न्यु डायमण्ड

काठमाडौँ- न्यु डायमण्ड युथ स्पोर्टस् क्लब प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फको फाइनलमा पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार विभागीय टोली एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै न्यु डायमण्ड फाइनल पुगेको हो।

लगातार चौथो जित दर्ता गर्ने क्रममा पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २०–२५ ले गुमाए पनि त्यसपछिका दुई सेट २५–१८ र २५–२१ ले आफ्नो पक्षमा पारेको हो।

जितसँगै १२ अंक जोडेको न्यू डायमण्ड शीर्ष स्थानमा छ। समान चार खेल खेलेको एपीएफको ६ अंक रहेको छ। त्यस्तै महिलातर्फको अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले पहिलो जित दर्ता गरेको छ। आर्मीले २५–१५, २५–१० र २५–५ ले खेल आफ्नो पक्षमा पारेको हो।

त्यस्तै मंगलबार भएको पुरुषतर्फको खेलमा खिल्जी युवा क्लबले कोशी प्रदेश भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो। खेलमा खिल्जी २५–१९, २५–२० र २७–२५ ले विजयी भएको हो।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।

महिला र पुरुष दुवैतर्फको विजेताले १० लाख, दोस्रोले ५ लाख र तेस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०८३ १६:५२ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast