काठमाडौँ- इरानी सेनाको कब्जामा रहेका धनुषाका युवा अमृत झा रिहा भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य राजीव खत्रीले अमृत रिहा भएको जानकारी दिएका हुन्।
‘इरानी सेनाको कब्जामा रहेका धनुषाका युवा अमृत झा रिहा हुनुभएको जानकारी नेपालका लागि इरानी अवैतनिक वाणिज्यदूत नरेश श्रेष्ठलाई मलाई भर्खरै फोन गरेर जानकारी गराउनु भएको छ,’ खत्रीले सामाजिक सञ्जालमा लेखेका छन्।
कब्जामा भएको जानकारी पाएदेखि आफूहरू अमृतका दिदी पूजा र अवैतनिक राजदूत श्रेष्ठसँग सम्पर्कमा रहेको उनले बताएका छन्।
अमृतलाई नेपाल ल्याउने तयारी भइरहेको प्रतिनिधिसभा सदस्य खत्रीले जानकारी दिएका छन्। उनले भनेका छन्,‘अब अमृतलाई कसरी नेपाल पुर्याउने भन्ने तयारी भइरहेको पनि श्रेष्ठले जानकारी गराउनुभयो।’
इरानले होर्मुज क्षेत्रबाट अमृतलाई नियन्त्रणमा लिएको थियो। उनी इरानको नियन्त्रणमा रहेको जानकारी परराष्ट्र मन्त्रालयले चैत ६ गते गराएको थियो।
पानी जहाजमा कार्यरत सबै क्रु सदस्यहरूलाई होर्मुज क्षेत्रबाट नियन्त्रणमा लिएको थियो। त्यही क्रममा अमृत पनि पक्राउ परेका थिए। पक्राउ परेका विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए।
अमृत दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। उनी ‘ब्यल्याक सी मरिन एलएलसी कम्पनी’ को जहाजमा क्याप्टेन थिए। इरानी सेनाले होर्मुज क्षेत्रबाट उनीसँगै जहाजका अन्य सदस्यहरूलाई नियन्त्रणमा लिएको थियो।




