काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले यूएईलाई ३७ रनले पराजित गर्यो ।
नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै १६३ रनमा समेटियो । खेलमा नेपालका लागि करण केसीले सर्वाधिक चार विकेट लिए । त्यसैगरी, सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए । नेपालका दीपेन्द्रसिंह ऐरी र ललीत राजवंशीले समान एक विकेट लिए । एक पटक जिततर्फ उन्मुख भएको यूएईको टोलीलाई नेपाली बलरले धरासायी बनाए। नेपाली बलरको कसिलो बलिङका बाबजुत यूएईका ब्याटर चल्दै सकेनन्। उनीहरूले लामो साझेदारी कायम गर्न नसक्दा जित नेपालको भयो।
ब्याटिङतर्फ यूएईका हरप्रित सिंहले ३९ रन बनाए । ५२ बल खेलेका उनले ५ चौका प्रहार गरे । त्यसैगरी, मुहम्मद वसिमले ३४ र अक्षदीप नाथले ३० रन जोडे ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् ।
नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र करण केसीले २२ रनको योगदान दिए ।
अन्य खेलाडीहरूमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५ रन बनाए । बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिए ।




