तस्बिरः आयुषराज मानन्धर/डब्ल्यूडब्ल्यूएफ
अहिले तारबारभित्र रहेका कृष्णसारलाई कुनै बेला खुला वातावरणमा छाड्नुपर्दा सिकारी जीव चिन्न नसक्ने र आफ्नो बचाउ गर्न नजान्दा लोप हुने हुन् कि भन्ने चिन्ता विज्ञहरूको छ।
काठमाडौँ- लोपोन्मुख वन्यजन्तु कृष्णसार सुन्दर हुन्छ। उफ्रँदा झन् आकर्षक देखिन्छ। यही दृश्य हेर्नकै लागि मानिसहरू टाढाटाढाबाट बर्दियाको खैरापुर पुग्ने गर्छन्। तर यही सुन्दर र आकर्षक दृश्यका पछाडि एउटा गम्भीर प्रश्न लुकेको छ- के यी जन्तु अझै ‘वन्य’ छन् त?
यो प्रश्नको जवाफ खोज्नुअघि कृष्णसार संरक्षणको इतिहासबारे बुझ्न झण्डै ५० वर्षपछाडि फर्कनुपर्छ। कुनै बेला यस्तो पनि अवस्था थियो, जतिबेला कृष्णसार लोप हुनै लागेका थिए। विशेष गरी बाँके, बर्दिया र कञ्चनपुरका वनमा पाइने कृष्णसार २०३१ (सन् १९७५) सालमा बर्दिया वन्यजन्तु आरक्ष (हाल बर्दिया राष्ट्रिय निकुञ्ज) स्थापना हुँदा ताका नेपालबाटै लोप भइसकेको आशंका थियो। तर बाँके-बर्दियामा कृष्णसार बाँकी छन् कि भनेर खोजी गरियो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार त्यसबेला बर्दिया जिल्लाको खैरी पण्डितपुरको जंगल किनार आवादी क्षेत्रमा एउटा सिङ भाँचिएको एउटा बूढो भाले, एउटा वयस्क भाले, तीनवटा पोथी र चारवटा बच्चाहरूसमेत गरी नौवटा कृष्णसार फेला परेका थिए।
बर्दियामा थोरै संख्यामा बचेका कृष्णसार संरक्षणका लागि जिल्ला वन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जले संयुक्त रूपमा प्रयास थालेका थिए। सन् १९७७ देखि १९८७ सम्म तीनपटक गरेर ५२ वटा कृष्णसार निकुञ्जको बघौरा फाँटामा सारिएको थियो। खैरापुरबाट दुईपटक गरेर २५ र सदर चिडियाखानाबाट २७ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत लक्ष्मीराज जोशीका अनुसार कृष्णसार सामान्यतया घाँसेमैदानमा रमाउँछ। त्यसमा पनि यसले पालुवा लागेका नरम घाँस मन पराउँछ। तर बघौरा फाँटामा लामो घाँस भएकाले कृष्णसारका लागि उपयुक्त बासस्थान भएन। साथै सिकारी जनावरका कारण कृष्णसार जोगिन सकेन। जसकारण कृष्णसारको दोस्रो संख्या स्थापना गर्ने पहिलो प्रयास पूर्ण रूपमा असफल भयो।
कृष्णसार संरक्षणका लागि खैरापुरको महत्त्वलाई दृष्टिगत गर्दै तत्कालीन सरकारले सन् २००९ (२०६५ फागुन २३) मा १६.९५ वर्गकिलोमिटर क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गर्यो। त्यसमध्ये झण्डै ५.२७ वर्गकिलोमिटर कृष्णसारको वासस्थान रहेको वन्यजन्तु विभागको भनाइ छ। त्यसपछि भने यहाँ कृष्णसारको संख्या वृद्धि भएर २५० को हाराहारीमा पुगेको छ।
साथै सन् २०१२ मा मिनी चिडियाखाना नेपालगन्जबाट २२, सदर चिडियाखाना जाउलाखेलबाट ६ र सन् २०१५ मा खैरापुरबाट १४ गरी ४२ वटा कृष्णसार शुक्लाफाँटाको हीरापुरमा स्थानान्तरण गरिएको थियो। अहिले यहाँ झण्डै ३०० कृष्णसार छन्। यसरी हेर्दा देशभर चिडियाखानाबाहेक देशभर साढे पाँच सयजति कृष्णसार पुगिसकेका छन्।

गुम्दै रक्षात्मक क्षमता
लोप हुनै लाग्दा निकै संघर्ष गरेर जोगाइएका कृष्णसारको अहिले संख्या बढ्दै गए पनि उनीहरूको प्राकृतिक वृत्ति र रक्षात्मक क्षमता हराउँदै गएको छ। कृष्णसारलाई चितुवा, हुँडारजस्ता परभक्षी वन्यजन्तुबाट जोगाउन तारबार गरेर नियन्त्रित वातावरणमा हुर्काइएको छ।
लामो समयसम्म मानिसको रेखदेख र तारबारभित्र रहँदा कृष्णसारले न त खानाका लागि संघर्ष गर्नुपरेको छ, न त सिकारी जनावरबाट बच्न। त्यसैले कृष्णसारले ‘घरपालुवा’ जस्तो व्यवहार गर्ने र सिकारी जनावरसँग जम्काभेट हुँदा प्रतिरक्षा गर्न नसक्ने अवस्थामा पुगेको वातावरणीय विज्ञानका उपप्राध्यापक एवं अध्येता चन्द्रमणि अर्याल बताउँछन्।
‘यसरी पालिएका कृष्णसारले सिकारी जनावरहरू चिन्न सक्दैन,’ उनी भन्छन्, ‘पछि पूर्ण खुला जंगलमा छाड्दा आफूलाई चितुवा वा अन्य सिकारी जनावरबाट जोगाउन सक्दैन।’ खैरापुर फाँटमा आक्कलझुक्कल तारबारबाट छिर्ने चितुवा तथा अन्य सिकारी जनावरका कारण एकैपटकमा धेरै कृष्णसारको मृत्यु हुने गरेको छ।
त्यसले पनि कृष्णसारको सिकारी जीवबाट बच्न गर्ने प्रतिरक्षा क्षमता कम रहेको तथ्य उजागर गर्छ। त्यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन हेरे पुग्छ। प्रतिवेदनअनुसार त्यतिबेला चितुवाले ३४ र हुँडारले ९ वटा मारेको थियो। त्यतिमात्र होइन कुकुरको आक्रमणबाट पनि कृष्सार मर्ने गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा कुकुरको टोकाइबाट ५ कृष्णसारको मृत्यु भएको तथ्यांक छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य पनि यसमा सहमत छन्। ‘कृष्णसार धेरै पहिलेदेखि मानिस, गाईबस्तुहरूसँग नजिक भयो,’ उनले भने, ‘अन्य जंगली जनावरजस्तो सिकारी जनावरसँग लड्ने, लुक्ने खालको व्यवहार छैन। त्यसैले यसको सुरक्षाको पाटोमा अलि बढी सोच्नुपर्छ।’
त्यसो भन्दैमा प्राकृतिक वातावरण नभएको भने भन्न नमिल्ने उनको भनाइ छ। ‘सबै जीवजन्तु मानिसहरूकै घेरामा छन्, देखिने तारबार मात्रै नलगाएको हो,’ उनी भन्छन्, ‘कृष्णसारका लागि तारबार लगाइए पनि वनभित्रै भएकाले प्राकृतिक रूपमा खुला नै भन्नुपर्छ।’
कृष्णसारको संख्या थोरै भएकाले सिकारी जनावरहरू नछिरून् भन्नका लागि तारबार लगाइएको उनी बताउँछन्। ‘खोरमा राख्ने होइन, हामीले खाना खुवाउने पनि होइन। मौसमअनुसार वासस्थान व्यवस्थापन गर्ने गरिएको छ,’ उनी भन्छन्।
तारबार खोल्दा चितुवा छिर्यो भने लडेर वा लुकेर कृष्णसार सुरक्षित भने हुन नसक्ने उनले स्वीकारे। ‘ठूलो संख्यामा भएको भए त केही थिएन, सानो संख्यामा छ, सबै मारेर सक्काइदिन्छ कि भन्ने चिन्ता हो,’ उनी भन्छन्।

समुदायसँग उहिल्यैदेखि नजिक
कृष्णसार सुन्दर स्तनधारी जनावरमध्ये एक हो। द्वापरयुगमा भगवान् श्रीकृष्णको पालादेखि कृष्णसार गाईबस्तुसँग चर्ने गरेको र श्रीकृष्ण एवं यादव समुदाय दुवैले यसको स्याहार गरेको भन्ने धार्मिक कथन छ।
कृष्णले स्याहार गरेकाले यसको नाम कृष्णस्याहार हुँदै ‘कृष्णसार’ बन्न पुगेको भनाइ छ। त्यसैले पनि कृष्णसारलाई हिन्दु विशेष गरी यादव समुदायले पवित्र प्राणी मान्ने गरेको पाइन्छ।
कृष्णसारले छोटो घाँस मन पराउने भएकाले दुबो र काँसको मैदानमा बस्न रुचाउँछ। साथै कृष्णसारले बालीनाली पनि खान मन पराउँछ। त्यसैले अहिले पनि आवादी छेउमा घरपालुवा गाईवस्तुसँगै चरेको देख्न सकिन्छ।
यसरी हेर्दा कृष्णसार परापूर्वकालदेखि घरपालुवा जनावरसँग सँगै चर्दै आएको र मानव समुदायसँग नजिक रहेकाले यसको व्यवहार अन्य जंगली जनावरजस्तो छैन। बरु घरपालुवा गाईबस्तुसँग बढी मिल्छ।
वरिष्ठ इकालोजिस्ट आचार्य भन्छन्, ‘यो पहिलेदेखि मानव समुदाय र घरपालुवा जनावरसँग जोडिएको हुनाले यसको व्यवहार अन्य जंगली जनावरभन्दा अलि फरक छ।’
खुला छाड्न कति सम्भव?
कृष्णसारलाई पूर्ण रूपमा खुला छाड्न अहिले भने कुनै सम्भावना नरहेको वरिष्ठ इकोलोजिस्ट आचार्य बताउँछन्। ‘बिस्तारै खुला वातावरणमै छाड्ने लक्ष्य हो। संख्या सानो भएकाले तत्काल सम्भावना छैन,’ उनले भने।
खुला वातावरणमा छाड्ने योजनाअनुसार हीरापुरको क्षेत्र बढाउँदै लगेको भए पनि पर्याप्त संख्या नभएको उनको भनाइ छ। १७ हेक्टरबाट सुरु भएको हीरापुरको क्षेत्र ५८ हेक्टर पुर्याइएको छ। ‘माउले बच्चालाई रक्षात्मक हुन सिकाउने क्रम रोकियो,’ उनले भने, ‘अहिले ल तिमी सिक भनेर कृष्णसारलाई चितुवाको नजिक लगे उसले सिध्याइहाल्छ नि।’
त्यसो भए के गर्ने त? अध्येता अर्याल भन्छन्, ‘उनीहरूलाई खुला वातावरणमा छाड्नुअघि अनिवार्य ‘प्रि-रिलिज ट्रेनिङ’ दिनुपर्छ।’ यो विषय अर्याल र अर्का अध्येता प्रकाशचन्द्र अर्यालले सन् २०२३ मा प्रकाशित गरेको नेपालमा भएका वन्यजन्तुका स्थानान्तरणसम्बन्धी आलेखमा पनि विशेष महत्त्वका साथ उठान गरिएको छ।
उनका अनुसार त्यस्तो तालिममा कृष्णसारहरूलाई सिकारी वन्यजन्तु चिन्न र प्रतिरक्षा गर्न सिकाइन्छ। ‘यसमा मानव नियन्त्रित प्रणालीमा हुर्किएका जनावरलाई प्राकृतिक वातावरणमा छाड्नुअघि अभ्यस्त बनाउन तालिम दिइन्छ।’
उनले भनेजस्तै कृष्णसार संरक्षण कार्ययोजना (२०२३-२०२७) कार्ययोजनामा पनि कृष्णसारलाई पुनः खुला जंगलमा छाड्ने विषय समेटिएको छ। तर सीधै खुला वनमा छाड्दा सिकारी वन्यजन्तुबाट जोगिन नसक्ने सम्भावनालाई स्वीकार गर्दै ‘सफ्ट रिलिज’ र परभक्षीविरुद्ध तालिमका विषय समेटिएका छन्।
कृष्णसारलाई तालिम दिन नक्कली सिकारी वन्यजन्तु (डमी प्रिडेटर) र उनीहरूको आवाज प्रयोग गर्ने, निश्चित समयसम्म सुरक्षित घेराभित्र राखेर जंगली वातावरणमा घुलमिल हुन सिकाइने गरिन्छ।
साथै उनीहरूको गतिविधि हिँडडुल गर्ने बाटो बुझ्न रेडियो कलरजस्ता आधुनिक प्रविधिको प्रयोग गर्न सकिने अध्येता अर्याल बताउँछन्। ‘यसले उनीहरूको व्यवहार अध्ययन गर्न र कुनै समस्या परे तत्काल उद्धार गर्न पनि मद्दत पुर्याउँछ,’ उनले भने। त्यसरी गरिने अध्ययनले भविष्यमा गरिने अरू स्थानान्तरणका लागि पनि थप जानकारी हासिल हुने र भविष्यमा तथ्यमा आधारित स्थानान्तरणका लागि तथ्यांक संकलन गर्न एवं वन्यजन्तु स्थानान्तरणको ज्ञान विस्तारमा सहयोग पुर्याउने उनको भनाइ छ।
अब चितवनमा पनि कृष्णसार!
बर्दिया र कञ्चनपुरबाट १८ वटा कृष्णसार चितवन टिकौलीमा स्थानान्तरण गरिँदै छ। त्यसका लागि वन मन्त्रालयले स्वीकृतिसमेत दिइसकेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार ६ भाले र १२ पोथी कृष्णसार स्थानान्तरण गर्न लागिएको हो।
‘टिकौली क्षेत्रमा २० हेक्टर क्षेत्रमा घेराबार तथा न्यूनतम पूर्वाधार निर्माण भइसकेको छ,’ उनले भने, ‘झाडी सफा गर्नेलगायतका काम सकिएपछि स्थानान्तरण गरिन्छ।’
स्थानान्तरण किन?
वन्यजन्तु एक ठाउँबाट अर्को ठाउँमा सार्दा स्थानीयवासी एवं केही संरक्षणकर्मीहरूले कहिलेकाहीँ विरोध जनाउने गर्छन्। चितवनबाट बर्दियामा गैँडा लैजाँदा पनि विरोध भएको थियो। किनभने त्यहाँ गैँडाको संख्या बढ्नुको सट्टा घटेको थियो।
उनीहरूको एउटै प्रश्न थियो- स्थानान्तरण किन गर्ने? जवाफमा वन्यजन्तु विज्ञ राजेन्द्रनारायण सुवाल भन्छन्, ‘जोखिम व्यवस्थापन गर्नका लागि वन्यजन्तु एकै ठाउँ राख्न हुँदैन।’
महामारी, प्राकृतिक विपद् आउँदा एकै ठाउँका वन्यजन्तुहरू मासिन सक्ने भएकाले स्थानान्तरण गरिनुपर्ने उनको भनाइ छ। ‘लोपोन्मुख वन्यजन्तुका लागि ‘स्याटेलाइट पपुलेसन’ दुई-तीन ठाउँ राख्नुपर्छ, ताकि ठूलो विपत्ति आउँदा एकैपटक सबै नमासियोस्,’ उनले भने, ‘त्यतिमात्रै होइन, एकै ठाउँ राख्दा ‘जिन पुल’ (हाडनाता) समान हुने भएकाले पनि रोगसँग लड्ने क्षमता कम हुन्छ।’ उनका अनुसार वंशाणुगत विविधताका लागि पनि स्थानान्तरण महत्त्वपूर्ण छ।
त्यसका लागि वैज्ञानिक अध्ययन गरेर वन्यजन्तुका लागि उपयुक्त छ भन्ने निर्क्योल गरेपछि मात्रै स्थानान्तरण गर्नुपर्ने उनी बताउँछन्।
वन तथा वातावरण मन्त्रालयले पनि एक सूचना जारी गर्दै कुनै पनि वन्यजन्तुलाई निश्चित क्षेत्रमा मात्र सीमित गर्दा वंशाणुगत, वातावरणीय र अप्रत्यासित अवस्था सिर्जना भई एकैपटक लोप हुन सक्ने जोखिम हुने भएकाले स्थानान्तरण गर्नुपर्ने जनाएको छ।
यस्तो अभ्यास विश्वभर हुने भन्दै मन्त्रालयबाट गठित कार्यदलले पेस गरेको सम्भाव्यता तथा स्थलगत अध्ययन प्रतिवेदनमा सिफारिस तथा विगतका सैद्धान्तिक निर्णय र स्वीकृत कार्ययोजनाका आधारमा कृष्णसार स्थानान्तरणको स्वीकृति दिइएको मन्त्रालयले जनाएको छ।





