चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्ष यात्री

हिमाल प्रेस २८ चैत २०८२ १२:४० | Saturday, April 11, 2026
30
SHARES
चन्द्रमा परिक्रमा गरी फर्किए चार अन्तरिक्ष यात्री अन्तरिक्षबाट फर्किएका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन। तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी अन्तरिक्ष संस्था नेसनल एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) को आर्टेमिस-२ क्याप्सुल र त्यसमा रहेका चार अन्तरिक्ष यात्रीहरू १० दिन अन्तरिक्षमा बिताएर शुक्रबार पृथ्वीको वायुमण्डल हुँदै प्रशान्त महासागरमा सुरक्षित अवतरण भएका छन्। यससँगै आधा शताब्दीभन्दा बढी समयपछि मानिस पहिलो पटक चन्द्रमा नजिक पुगेको ऐतिहासिक यात्रा सम्पन्न भएको छ।

नासाको ‘ओरियन’ क्याप्सुल ‘इन्टिग्रिटी’ स्थानीय समयअनुसार साँझ ५:०७ बजे दक्षिणी क्यालिफोर्नियाको तट नजिक शान्त समुद्रमा प्यारासुटमार्फत सुरक्षित रूपमा अवतरण गर्‍यो। चार दिनअघि यो यानले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीबाट करिब चार लाख ६ हजार ७७० किलोमिटर टाढासम्म पुर्‍याएको थियो। यसलाई अहिलेसम्म मानव पुगेको सबैभन्दा टाढाको दूरी मानिएको छ।

आर्टेमिस–२ उडानले कुल ११ लाख १७ हजार ५१६ किलोमिटर यात्रा गर्दै पृथ्वीको दुई पटक परिक्रमा र चन्द्रमाबाट करिब ६ हजार ४३७ किलोमिटर टाढाबाट नजिकैको उडान पूरा गरेको थियो। यो आर्टेमिस कार्यक्रमअन्तर्गतको पहिलो मानवसहितको परीक्षण उडान हो। जसको लक्ष्य सन् २०२८ देखि फेरि चन्द्रमाको सतहमा अन्तरिक्ष यात्री पठाउनु रहेको छ।

अवतरणलाई नासाले पूर्ण सफल अवतरण भनेको छ। नासाका टिप्पणीकार रोब नेभियसले अवतरणपछि इन्टिग्रिटी र चार अन्तरिक्ष यात्रीहरूका लागि एकदमै सटीक अवतरण भयो भनेका थिए। मिसन कमान्डर रिड वाइसम्यानले अवतरणपछि रेडियोमार्फत सबै चार जना सुरक्षित र राम्रो अवस्थामा रहेको बताए।

अमेरिकी नौसेनाको सहयोगमा करिब दुई घण्टाभित्र क्याप्सुल सुरक्षित गरी चारै अन्तरिक्ष यात्री अमेरिकी रिड वाइसम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी हान्सनलाई उद्धार गरिएको थियो। अवतरण यस मिसनको सबैभन्दा जोखिमपूर्ण चरण मानिएको थियो, जसले क्याप्सुलको हिट सिल्ड अत्यधिक तापक्रम र दबाब सहन सक्षम छ भन्ने प्रमाणित गरेको छ।

क्याप्सुल पृथ्वीको वायुमण्डलमा ध्वनिको गतिभन्दा ३२ गुणा तीव्र गतिमा प्रवेश गरेको थियो र करिब २,७६० डिग्री सेल्सियससम्मको तापक्रम सहनुपरेको थियो। यस क्रममा रेडियो सम्पर्क केही मिनेटका लागि टुटेको थियो। पछि प्यारासुट खुलेर गति घटाउँदै क्याप्सुल समुद्रमा सुरक्षित रूपमा पुगेको थियो।

त्यसपछि अन्तरिक्ष यात्रीहरूलाई रबर डुंगामार्फत उद्धार गरी हेलिकप्टरबाट नजिकैको नौसैनिक जहाजमा लगिएको थियो, जहाँ प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको छ।

यो मिसन सन् २०२२ मा भएको बिना चालक आर्टेमिस–१ परीक्षण उडानपछि गरिएको हो र यसले भविष्यमा चन्द्रमामा पुनः मानव अवतरण गराउने योजनातर्फ महत्त्वपूर्ण कदम मानिएको छ। नासाले चीनभन्दा अघि मानवलाई चन्द्रमामा पुर्‍याउने लक्ष्य राखेको छ भने अन्ततः मंगल ग्रहसम्म मानव यात्रा विस्तार गर्ने दीर्घकालीन योजना छ।

नासाका अधिकारीहरूले यो उडानलाई अत्यन्त महत्त्वपूर्ण परीक्षण भन्दै प्रशंसा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अन्तरिक्ष यात्रीहरूको सफल फिर्तीको प्रशंसा गर्दै सम्पूर्ण यात्रा असाधारण र सफल भएको बताएका छन्।

प्रकाशित: २८ चैत २०८२ १२:४० | Saturday, April 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast