काठमाडौँ- अन्तर्राष्ट्रिय आरोग्यता दिवसको अवसरमा ओमानस्थित नेपाली दूतावासले मस्कटमा ‘डिप्लोम्याटिक हाइकिङ’ गरेको छ। बुधबार मस्कटको ‘वादी कविर’ ट्रेलमा सो पदयात्रा गरिएको हो।
स्वस्थ जीवनशैलीको प्रवर्द्धन र वेलनेस दिवसबारे जनचेतना जगाउने उद्देश्यले पदयात्रा गरिएको दूतावासले जनाएको छ। उक्त पदयात्राको नेतृत्व सगरमाथा आरोहीद्वय नाधिरा अल हार्थी र सुलैमान अल नावीले गरेका थिए। नाधिरा सगरमाथा आरोहण गर्ने पहिलो ओमानी महिला हुन्।
साढे ४ बजे सुरु भएको उक्त पदयात्रामा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल, चीनका राजदूत ल्यु जियान, उनीहरूका धर्मपत्नीहरू, दूतावासका अधिकारी, सञ्चारकर्मी तथा ओमानी र नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता थियो।
करिब २ घण्टाको उकालो पदयात्रापछि सहभागीहरूले वादी कविरको प्राकृतिक सौन्दर्यको अवलोकन गरेका थिए। पदयात्रापछि सहभागीहरूलाई सम्बोधन गर्दै राजदूत अर्यालले नेपालको पहलमा संयुक्त राष्ट्र संघले मार्च १०, २०२६ मा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय वेलनेस दिवस’ घोषणा गरेको ऐतिहासिक सन्दर्भ उल्लेख गरे।

यो पदयात्रा केवल स्वास्थ्यमा मात्र केन्द्रित नभई वातावरण संरक्षणमा पनि समर्पित भएको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। पदयात्राका क्रममा सहभागीहरूले बाटोमा फालिएका प्लास्टिकका बोतल र अन्य फोहोरहरू संकलन गरेका थिए।



