काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको तयारीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको यो कदमलाई ‘अलोकतान्त्रिक’ र ‘संसद्को अपमान’ को संज्ञा दिएका हुन्।
सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको विषयलाई गम्भीरतापूर्वक लिएको बताउँदै नेता आङ्देम्बेले लोकतन्त्र प्रक्रिया मात्र नभएर प्रवृत्ति पनि भएको उल्लेख गरेका छन्। ‘संसद् अधिवेशनको बैठक स्थगित गराएर अध्यादेश ल्याउनु लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारको अलोकतान्त्रिक कदम हो,’ विज्ञप्तिमा भनिएको छ।
नेता आङ्देम्बेले प्रधानमन्त्रीलाई लक्षित गर्दै आफ्नै पार्टीको बहुमत र संसद्को गरिमामाथि किन अविश्वास गरेको भनी प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु- आफ्नै पार्टीको बहुमतप्रति किन अविश्वास? संसद्को गरिमा र मर्मको किन अवमूल्यन?’
संवैधानिक परिषद र सहकारी ऐन संशोधनजस्ता महत्त्वपूर्ण विषयहरू संसद्बाटै टुङ्ग्याउनुपर्नेमा सरकारले बलमिच्याइँ गरेको कांग्रेसको आरोप छ। ‘संवैधानिक परिषद सम्बन्धी विधेयक संसद्ीय बहसमै थियो, यसलाई संवाद र सहमतिबाट टुङ्ग्याउन सकिन्थ्यो,’ आङ्देम्बेले भनेका छन्, ‘सहकारी ऐन संशोधन जस्तो गम्भीर विषयलाई पनि संसद्बाटै निष्कर्षमा पुर्याउनुपर्नेमा सरकारले अध्यादेशको बाटो रोज्नु अनुचित छ।’
अहिले मुलुकमा अध्यादेश ल्याउनुपर्ने जस्तो कुनै संकटकालीन वा जरुरी अवस्था नरहेको जिकिर गर्दै उनले प्रमुख प्रतिपक्ष र अन्य दलहरूसँग परामर्श नगरी कानुन बनाउन खोज्नुलाई ‘बलमिच्याइँको राजनीति’ भनेका छन्।
कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्न आफूहरू सधैँ खुला रहे पनि लोकतन्त्र, जनअभिमत र संविधानको मर्म मिच्ने कार्यमा प्रतिपक्षले कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएको छ।




