नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न आह्वान

हिमाल प्रेस १५ वैशाख २०८३ २१:२५ | Tuesday, April 28, 2026
2
SHARE
नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न आह्वान

काठमाडौँ- ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान गरिएको छ। सोमबार ब्रसेल्सस्थित युरोप-एसियाली अध्ययन संस्थानमा आयोजित नेपाल–ईयू टेक फोरम २०२६ मा युरोपेली संघका प्रतिनिधि, अग्रणी प्रविधि कम्पनीहरू, लगानीकर्ता तथा नेपाली डायस्पोराका सदस्यहरूको सहभागिता थियो।

डिजिटल नवप्रवर्तन र लगानी’भन्ने मूल नारासहित आयोजित कार्यक्रममा प्रत्यक्ष विदेशी लगानी, डिजिटल प्रतिभाको आवागमन तथा नवप्रवर्तन साझेदारी जस्ता विषयमा नेपाल–युरोप सहकार्यका सम्भावनाबारे छलफल भएको थियो।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै युरोपेली संघका लागि नेपालकी राजदूत सेवा लम्सालले नेपाल डिजिटल रूपान्तरणलाई तीव्रता दिन तयार रहेको र प्रविधि क्षेत्रमा लगानी स्वागत गर्न इच्छुक रहेको बताइन्। उनले नेपालको बढ्दो आईटी सेवा निर्यात र दक्ष जनशक्तिलाई युरोपको डिजिटल सेवाको माग पूरा गर्न सक्षम प्रमुख आधारका रूपमा उल्लेख गरिन्।

युकेस्थित आईटी तथा साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुसन्सका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले मुख्य वक्तव्य दिँदै युरोपमा दश लाख भन्दा बढी डिजिटल जनशक्तिको अभाव रहेको बताए।

बढ्दो लागत र कडा नियामकीय व्यवस्थाका कारण युरोपेली कम्पनीहरूले दक्षिण एसियाजस्ता क्षेत्रतर्फ ध्यान केन्द्रित गरिरहेको उनले उल्लेख गरे। डिजिटल नवप्रवर्तन र अन्तरदेशीय प्रविधि साझेदारीका लागि नेपाल उदाउँदो केन्द्रको रूपमा विश्व मंचमा अगाडी आएको उनले बताए।

फुयाँलले जलविद्युतमा आधारित स्वच्छ ऊर्जाको उपलब्धता र कम लागतमा कम्प्युटिङ क्षमताका कारण नेपाल प्रविधि साझेदारीका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताए।
युरोपेली आयोगअन्तर्गत सञ्चार, नेटवर्क, सामग्री तथा प्रविधि महानिर्देशनालयका अल्भिस एन्कान्सले युरोपेली डिजिटल नीतिबारे प्रस्तुति दिँदै ‘डिजिटल डिकेड’अन्तर्गत डिजिटल सार्वभौमिकता, डेटा सुरक्षा, कृत्रिम बुद्धिमत्ता र साइबर सुरक्षामा केन्द्रित प्राथमिकताबारे जानकारी दिए।

कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले भर्चुअल रूपमा सम्बोधन गर्दै प्रविधि क्षेत्रमा विदेशी लगानी आकर्षित गर्न गरिएका नीतिगत तथा संस्थागत सुधारबारे जानकारी गराएका थिए।

फोरमअन्तर्गत आयोजित दुईवटा प्यानल छलफलमा लगानी तयारी, स्टार्टअप इकोसिस्टम, दिगो डिजिटल विकास तथा डायस्पोराको भूमिका जस्ता विषयमा बहस भएको थियो।

छलफलमा सहभागीहरूले नेपालको प्रविधि क्षेत्रले सम्भावनाबाट कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै युरोपसँगको सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताए। साथै, व्यावसायिक वातावरण सुधार, लगानी प्रक्रियामा सहजता र नाफा फिर्ता लैजान सकिने व्यवस्थामा सुधार भएको पनि उनीहरुले उल्लेख गरे।

प्रकाशित: १५ वैशाख २०८३ २१:२५ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast