प्रतिनिधिमूलक तस्बिर।
पोखरा- पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडबाट १६ जना महिलाहरू पक्राउ परेका छन्। रातको समयमा आन्तरिक एवं वाह्य पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा एकैपटक यति ठूलो संख्यामा महिलाहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहरी कार्यालय बैदामबाट गएराति खटिएको प्रहरी टोलीले राति साढे १२ देखि राति २ बजेसम्म लेकसाइडमा छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार उनीहरूले पर्यटकलाई विभिन्न किमिसका प्रलोभन देखाई अनावश्यक दुःख दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलापमा गर्ने गरेको पाइएको छ। पक्राउ परेकाहरूमध्ये छ/सात जना ‘पटके’ पनि छन्। उनीहरूलाई अभद्र व्यवहारमा मुद्दानै चलाइने तयारी छ।
यस्तै केही १८ वर्षभन्दा कम उमेरका पनि भएकाले पोखरा-३३, भरतपोखरीस्थित पुनर्स्थापना केन्द्रमा पठाइएको छ। साथै केहीलाई तारेखमा राखिएको छ भने केहीलाई अभिभावकको रोहवरमा सम्झाइबुझाइ छोडिने वडा प्रहरी कार्यालय, बैदामका इन्चार्ज डीएसपी नमराज भट्टराईले जानकारी दिए।
आइतबार राति पक्राउ परेका महिलाहरूमध्ये अधिकांशले पोखरा घुम्न आउने पर्यटकसँग नजिकिन खोज्ने र उनीहरूसँग अनैतिक सम्बन्ध राख्न खोज्ने परेको पाइएको छ। यतिसम्मकै केही पर्यटकसँग रकम असुल उपर गर्ने, केहीसँग अनैतिक सम्बन्धका लागि सुरुमा रकम बुझे पनि होटलनजिक पुग्नेबित्तिकै आफ्नो श्रीमान् आएको भन्दै उम्किने गरेकोसम्म भेटिएको डीएसपी भट्टराईले बताए।
डीएसपी भट्टराईले केही समयदेखि वडा प्रहरी कार्यालय बैदामको कमाण्ड सम्हालेयता पर्यटकीय क्षेत्र लेकसाइडमा विभिन्न प्रकारका अवैध क्रियाकलापमा कमी आएको छ। केही समयपहिले पनि दादागिरी मच्चाउने बाउन्सर उनकै कमाण्डमा समातेर मुद्दा चलाइएको थियो, जसमा क्लब-१६, किङ्स डान्सबारबाट बाउन्सर नियन्त्रण लिइएको हो।
डीएसपी भट्टराईले पर्यटकीय राजधानी पोखरा, त्यो पनि प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा विकृति-विसंगति रोक्न अभियाननै सुरु गरिएको बताए। उनले भने, ‘लेकसाइड विकृति-विसंगतिमुक्त बनाउनका निम्ति शान्ति सुव्यवस्थामा खलल मच्याउने, पर्यटकलाई हैरानी दिने, खुलेआम बेश्यावृत्ति गर्नेहरूलाई नियन्त्रणमा लिने अभियान सुरु गरिएको छ। यसमा सबै नागरिकको सहयोगको अपेक्षा गर्दछौं।’
पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पनि फेवाताल किनारको सुन्दर क्षेत्र लेकसाइड सुरक्षित, शान्त कायम राखिराख्नुपर्नेमा जोड दिन्छन्। पोखराको छवि सुधार्न र पर्यटकलाई सुरक्षित बसाइँका लागि सुनिश्चित गर्न प्रहरीको यो अभियानले सघाउ पुग्ने पोखरेलीले विश्वास गरेका छन्।



