जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगले यसै साता प्रतिवेदन बुझाउँदै

हिमाल प्रेस २६ माघ २०८२ ८:११ | Monday, February 9, 2026
20
SHARES
जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगले यसै साता प्रतिवेदन बुझाउँदै उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की।

काठमाडौँ- गत भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) आन्दोलनमा भएको अकल्पनीय जनधनको क्षतिबारे सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय जाँचबुझ आयोगले छानबिन पूरा गरी रायसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। करिब पाँच महिनाको छानबिनपछि आयोगले दोषीमाथि कारबाहीको किटानी रायसहित यसै साता सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको समाचार गोरखापत्र दैनिकमा उल्लेख छ।

जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम गठन भएको तीन सदस्यीय जाँचबुझ आयोगले गत असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको थियो। जाँचबुझ आयोगलाई काठमाडौँलगायत मुलुकभर विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने कार्यादेशसहित तीन महिना समयावधि तोकिएको थियो।

आयोगलाई तोकिएको समयभित्र जाँचबुझ पूरा नभएपछि सरकारले गत पुस ३ गते एक महिना म्याद थपेको थियो। उक्त अवधिमा छानबिन प्रतिवेदन लेखनलगायत काम पूरा नभएपछि गत माघ २ गते दोस्रो पटक २० दिन आयोगको म्याद थपिएको थियो।

यही माघ २९ गते समयावधि सकिनुअघि नै छानबिन प्रतिवेदन सरकारलाई बुझाउने तयारी भइरहेको जाँचबुझ आयोगका सदस्य तथा प्रवक्ता शर्माले जानकारी दिए।

घटनामा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न दुई सयभन्दा बढी व्यक्तिसँग बयान तथा सोधपुछ र पक्षहरूको विश्लेषणसहितको प्रतिवेदन लेखन अन्तिम चरणमा रहेको बताउँदै प्रवक्ता शर्माले भने, ‘घटनासँग सम्बन्धित अधिकांशसँग बयान तथा सोधपुछ गरी तयार पारिएको रायसहितको प्रतिवेदन यसै साता सरकारलाई बुझाउँछौँ।’

आयोगले भदौ २३–२४ गतेको जेनजी आन्दोलन हिंसात्मक हुँदा नवयुवासहित ७६ जनाको ज्यान जाने गरी र दुई हजार ४२९ जना प्रदर्शनकारी घाइते हुने गरी भएको घटनामा आदेश दिने र संलग्न हुनेको पहिचान गरी कारबाहीको सिफारिस गर्ने तयारी गरेको छ।

प्रकाशित: २६ माघ २०८२ ८:११ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast