संस्थापकसहित दर्जनौँ नेताले गरे आहुतिको पार्टी परित्याग

हिमाल प्रेस १६ माघ २०८२ १३:४८ | Friday, January 30, 2026
30
SHARES
संस्थापकसहित दर्जनौँ नेताले गरे आहुतिको पार्टी परित्याग पार्टी महासचिव विश्वभक्त दुलाल (आहुति)

काठमाडौँ- वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी स्थापनाकालदेखि सक्रिय रहँदै आएका संस्थापक सदस्यसहित केन्द्रीय,प्रदेश र जिल्ला तहका दर्जनौँ नेताकार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

पार्टी महासचिव विश्वभक्त दुलाल (आहुति) लाई सम्बोधन गर्दै जारी गरिएको विज्ञप्तिमा उनीहरूले पार्टीको नेतृत्व कार्यशैली, आर्थिक अपारदर्शिता र असफल कार्यान्वयनप्रति गम्भीर असहमति जनाउँदै आजकै मितिदेखि पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले दक्षिण एसियाली समाजको वर्ग निर्माणको मुख्य आधार जात व्यवस्था रहेको, उत्पीडित समुदायले क्रान्तिको नेतृत्व गर्नुपर्ने, महिला मुक्ति र समाजवादी अर्थतन्त्रका विषयमा सैद्धान्तिक रूपमा सही दृष्टिकोण अघि सारे पनि व्यवहारिक रूपमा पार्टीले विगत ८ वर्षमा कुनै गुणात्मक उपलब्धि हासिल गर्न नसकेको आरोप लगाइएको छ।

पार्टी पुरानो कम्युनिस्ट आन्दोलनको असफलताबाट नयाँ युगको नयाँ आन्दोलन गर्ने उद्देश्यले स्थापना भए पनि नेतृत्वको कार्यशैली भने पुरानै, व्यक्ति केन्द्रित र स्वेच्छाचारी देखिएको उनीहरूको ठहर छ। आलोचना सहन नसक्ने प्रवृत्ति, निर्णय प्रक्रियामा सीमित स्वार्थ समूहको प्रभाव र चरम आर्थिक अपारदर्शिता निरन्तर कायम रहेको आरोप पनि विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी पार्टीको प्रमुख कार्यदिशा मानिएको सार्वभौम उत्पादन समिति सम्बन्धी नीति ठोस योजना बिना लागु गरिँदा सबै प्रयास असफल भएको र ती असफलताबाट सिकेर अघि बढ्ने विषयमा नेतृत्व गम्भीर नभएको आरोप लगाइएको छ।

त्यस्तै, दशक पूरा हुन लाग्दा पनि पार्टीले देशको कुनै भूगोलमा जनाधार निर्माण गर्न नसकेको, पार्टीका आन्दोलन र क्रान्तिका कार्यक्रम बहस र सामाजिक सञ्जालमै सीमित भएको निष्कर्षसहित उनीहरूले पार्टी परित्यागको निर्णय लिएको जनाएका छन्।

पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्य, सचिवालय तथा कार्यालय सदस्य, केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार, महिला संगठनका प्रदेश, जिल्ला र जनसंगठनका जिम्मेवार नेताहरू रहेका छन्।

जसमा धनकुमारी सुनार, गणेश रसाइली, यशोदा बराल, विक्रम सुनार, तुलसी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिजापती, सुमित्रा खाति, शर्मिला जिआर, कमला विसी, रीता नेपाली रहेका छन्।

प्रकाशित: १६ माघ २०८२ १३:४८ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast