चिनियाँ राष्ट्रपति सी चिनफिङ। तस्बिर : एपी/रासस
बेइजिङ- नयाँ वर्ष सन् २०२६ को पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङबाट सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। आफ्नो शुभकामना सन्देशमा सीले विकास, सुरक्षा र सभ्यतासम्बन्धी तीन वैश्विक पहलहरूको घोषणा गरिसकेपछि अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणालीलाई प्रवर्द्धन गर्न वैश्विक सुशासन पहल (ग्लोबल गभर्नेन्स इनिसिएटिभ) अघि सारेको पनि बताएका छन्। सीले इतिहासको सही पक्षमा उभिएर चीनले विभिन्न मुलुकसँग विश्व शान्ति र पूर्ण विकास एवम् मानवजातिको साझा भविष्यसहितको भाग्य समुदायको निर्माण गर्ने इच्छा लिएको बताए।
आफ्नो नयाँ वर्षको सन्देशमा सन् २०२५ अमिट सम्झनाले भरिएको पनि सुनाए। उनले भने, ‘हामीले चिनियाँ जनताको जापानविरूद्धको युद्ध एवम् विश्व फासिवाद विरोधी युद्ध विजयको ८०औँ वार्षिकोत्सव भव्य रुपमा मनायौँ र थाइवान पुनःउत्थान स्मरण दिवस स्थापना गरेका छौँ। ती समारोह निकै भव्य थिए भने विजयको महिमा इतिहासको पानामा सुनौलो अक्षरबाट लेखिएका छन्।’ चिनियाँहरुलाई इतिहासको सम्झना गर्न, शहीदको स्मरण गर्न, शान्तिको कदर गर्न र राम्रो भविष्य निर्माण गर्न प्रोत्साहन गरी चीन राष्ट्रको महान पुनःउत्थानका लागि शक्ति जुटाउनमा जोड दिए।
शाङहाइ सहयोग संगठन थयेनचिन शिखर सम्मेलन र विश्व महिला शिखर सम्मेलनको सफलतापूर्वक आयोजना तथा करमुक्त हाइनान स्वतन्त्र बन्दरगाह सम्बन्धमा कुरा राख्दै विश्वलाई अरू खुला भएर अँगालेको विचार व्यक्त गरेका छन्।
‘शाङहाइ सहयोग संगठन थ्येनचिन शिखर सम्मेलन र विश्व महिला शिखर सम्मेलनको सफलतापूर्वक आयोजना गरिएको छ भने हाइनान स्वतन्त्र बन्दरगाहलाई करमुक्त बनाइएको छ। जलवायु परिवर्तनको अझ राम्ररी सम्बोधन गर्न चीनले नयाँ चरणको राष्ट्रिय योगदानको घोषणा गरेको छ। विकास, सुरक्षा र सभ्यतासम्बन्धी तीन विश्वव्यापी पहलहरूको घोषणा गरिसकेपछि मैले अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणालीलाई प्रवर्द्धन गर्न ग्लोबल गभर्नेन्स इनिसिएटिभ अघि सारेको छु।’
परिवर्तन र अशान्तिबाट गुज्रिरहेको विश्वलाई हेरेर उनले भने ‘आज विश्व परिवर्तन र अशान्ति दुवैबाट गुज्रिरहेको छ र केही क्षेत्रहरू अझै पनि युद्धमा डुबेका छन्। इतिहासको सही पक्षमा उभिएर चीनले विभिन्न मुलुकसँग विश्व शान्ति र पूर्ण विकास एवम् मानवजातिको साझा भविष्यसहितको भाग्य समुदायको निर्माण गर्ने इच्छा लिएको छ।’
चालु वर्ष, चीनको चौधौँ पञ्चवर्षीय योजनाको अन्तिम वर्ष रहेको छ। आर्थिक शक्ति, वैज्ञानिक तथा प्राविधिक शक्ति, प्रतिरक्षा शक्तिलगायत समग्र शक्तिमा नयाँ छलाङ मारिएको छ। चीनको कुल ग्राहर्स्थ उत्पादन लगातार नयाँ उचाइमा पुगेको छ र यस वर्ष १४०० खर्ब युआन पुग्ने अनुमान गरिएको छ। नवीन सिर्जनामार्फत उच्च गुणस्तरीय विकासलाई शक्ति प्रदान गरिएको र नवीन सिर्जनाको उपलब्धि एकपछि अर्को गरी देखिएको बताउँदै एआई बिग डाटाको समृद्ध रुपमा विकास भएको र आफ्नै चिप्सको अनुसन्धान र विकासमा नयाँ प्रगति भएको र यसले चीन नवीन सिर्जनाशक्ति भएको सबैभन्दा तीव्र आर्थिक समूहमध्येको एक बनेको औँल्याए।
थ्येनवन-२ को प्रक्षेपण, ब्रम्हपुत्र तल्लो भागको जल विद्युत परियोजनाको निर्माण सुरु, पहिलो इलेक्ट्रोम्याग्नेटिक प्रक्षेपणयुक्त विमानवाहक पानीजहाज औपचारिक रुपमा सञ्चालन तथा ह्युमनोइड रोबोटको ‘चिनियाँ कुङ्फु’ र ड्रोन ‘लाइट शो’ को नवीन सिर्जनाले नयाँ गुणस्तरीय उत्पादन शक्ति प्रवर्द्धन गर्नुका साथै जनजीवनमा रंगीन आयामहरू थपेको बताए।
बितेका पाँच वर्षमा अथक प्रयास गरी दृढ रुपमा विभिन्न कठिनाइ र चुनौतीलाई पार गरी पूर्णतया लक्ष्य भेटेको जसबाट चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ यात्रामा सुदृढ पाइला चाल्न सकिएको पनि सुनाए। उनले भने, ‘बितेका पाँच वर्षमा हामीले उद्यमशीलता र धैर्यका साथ अगाडि बढेका छौँ र धेरै कठिनाइ र चुनौतीहरू पार गरेका छौँ। पाँच वर्षको यात्रा साह्रै असामान्य थियो भने उपलब्धिहरु प्राप्त गर्न कठीन थियो। सबैले उत्साहपूर्वक कोशिश र समर्पण गरी समृद्ध चीन बनाएका छन्। मेहनतपूर्वक काम गरेका हरेकलाई म सलाम गर्न चाहन्छु। स्वच्छ पानी र हराभरा पहाडहरू हाम्रो परिदृश्यको मुख्य विशेषता भएका छन्। सर्वसाधारणको प्राप्त अनुभव, सुखमय अनुभव र सुरक्षा अनुभव बढ्दै आएको छ।’
बितेका पाँच वर्ष साँच्चिकै उल्लेखनीय यात्रा भएको र उपलब्धिहरू सजिलै प्राप्त नभएको भन्दै अटुट परिश्रम, असाधारण लगनशीलता र अमूल्य योगदानका लागि चिनियाँ जनतालाई अभिवादन पनि गरे।
चिनियाँ राष्ट्रपतिले चारै ऋतुमा पर्याप्त खानेपिउने कुरा छ भने प्रत्येक परिवार सुखी हुने छ र यसरी नै ठूलो चिनियाँ परिवार पनि समृद्ध हुने छ भन्दै सिचाङ र सिनच्याङको स्थापना दिवस समारोहमा उपस्थित भएर हिमाली पठारदेखि थ्येनशानसम्म विभिन्न जातिका सर्वसाधारणका मन र हात आपसमा मिलाएर अनारका दानाजस्तो घनिष्ठ रुपमा अँगालिएको बताए।
‘एक देश दुई प्रणाली’ नीतिको सुदृढ रुपमा पालना गरी हङकङ, मकाउलाई राष्ट्रिय विकासको महान स्थिति अनुकूल दीर्घकालीन समृद्धि र स्थिरता कायम राख्न समर्थन मिलेको भन्दै क्वाङतोङ, हङकङ, मकाउ तीन क्षेत्रले संयुक्त रूपमा आयोजित राष्ट्रिय खेलकुद उद्घाटन समारोहमा उपस्थित हुन पाउँदा निकै खुसी लागेको बताए। थाइवान जलडमरुका दुई किनारका देशबन्धु एकै परिवारका हुन् भन्दै मातृभूमि एकीकरणको ऐतिहासिक प्रवृत्ति अवरुद्ध नहुनेमा पनि जोड दिए।
केवल एक बलियो चिनियाँ कम्युनिस्ट पार्टीले देशलाई बलियो बनाउन सक्छ भन्दै उनले भने, ‘केवल एक बलियो चिनियाँ कम्युनिस्ट पार्टीले हाम्रो देशलाई बलियो बनाउन सक्छ। हामीले पार्टी र सरकारको आचरण सुधार गर्नको लागि केन्द्रीय पार्टी नेतृत्वको आठ-बुँदे निर्णयलाई पूर्ण रूपमा लागू गर्ने अध्ययन र शिक्षण कार्यक्रम सुरु गरेका छौँ। हामीले विश्वसनीय उपायहरूमार्फत् पार्टीको कडा शासन अभ्यास गरेका छौँ, र भ्रष्टाचारसँग लड्न र स्वस्थ सुशासनलाई अघि बढाउन पार्टीको आत्म-क्रान्ति प्रवर्धन गरेका छौँ। यसको परिणामस्वरूप, हाम्रो पार्टी र सरकारको आचरणमा निरन्तर सुधार भएको छ। हामीले हाम्रो मूल आकांक्षा र स्थापना मिशनप्रति सच्चा रहनुपर्छ र धैर्य र समर्पणका साथ हाम्रो लक्ष्य पछ्याउनुपर्छ। प्रारम्भिक उद्देश्य र जिम्मेवारी लिएर लामो समयसम्म अथक प्रयास गरी येनआनको ‘गुफा प्रश्न’ को उत्तर दिएर जनतालाई सन्तोषजनक नतिजा दिनुपर्छ। नयाँ युगमा जनताको अपेक्षाको योग्य साबित हुनुपर्छ।’
जनताको कुनै पनि मुद्दा सानो नभएकोमा पनि जोड दिँदै भने, ‘जनताको जीवनयापनको कुरा सानो हैन भन्ने सोचेर हरेक कुरामा ध्यान दिएको छु। जनताको कुनै पनि मुद्दा सानो छैन। हामी हरेक पातको हेरचाह गर्छौँ र मानिसहरूको भलाइको बगैँचामा प्रत्येक हाँगाको हेरचाह गर्छौँ।’
नयाँ वर्ष, २०२६ बाट चीनको पन्ध्रौँ पञ्चवर्षीय योजना सुरु हुनेछ। योसँगै चीनको चमत्कारको कथामा नयाँ अध्याय लेख्न आग्रह गरेका छन्। ‘२०२६ ले १५औँ पञ्चवर्षीय योजनाको सुरुवातको संकेत गर्दछ। हामीले हाम्रो लक्ष्य र कार्यहरूमा ध्यान केन्द्रित गर्नुपर्छ, आत्मविश्वास बढाउनुपर्छ, र अघि बढ्नका लागि गतिको निर्माण गर्नुपर्छ। हामीले उच्च-गुणस्तर विकासलाई प्रवर्द्धन गर्न ठोस कदम चाल्नुपर्छ, सुधार र खुलापनलाई अझ गहन बनाउनु पर्छ, सबैका लागि समृद्धि प्रदान गर्नुपर्छ र चीनको चमत्कारको कथामा नयाँ अध्याय लेख्नु पर्छ।’
अगाडिको बाटो अप्ठ्यारो भए तापनि सपनाको खोजी गर्दा ठूलो पाइला चाल्नुपर्छ भनेर सुझाएका पनि छन्। साथै, अबको चिनियाँ नयाँ वर्ष घोडा वर्ष रहेको छ र घोडाजस्तै ऊर्जावान भएर अगाडि बढ्दै सपनालाई सुन्दर वास्तविकतामा परिणत गर्न पनि आग्रह गरेका छन्। ‘सपना उच्च छन्, यात्रा लामो छ, साहसी कदमहरूले हामीलाई त्यहाँ पुर्याउनेछन्। हाम्रा घोडाहरूजस्तै सामर्थ्य, जीवन्तता, र ऊर्जाका साथ अगाडि बढौँ, हाम्रा सपना र खुशीका लागि लडौँ र महान दृष्टिलाई सुन्दर वास्तविकतामा बदलौँ।’
चिनियाँ राष्ट्रपति सीले आफ्नो नयाँ वर्षको शुभकामना सन्देशमा परम्परा र आधुनिकताको मिश्रणबाट चिनियाँ संस्कृतिले अझ उज्यालो र रंगीन प्रकाश छर्दै गएको पनि बताए।




