
२४ अक्टोबर १९४५ का दिन ५१ चार्टर सदस्यहरूको सक्रियतामा संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो। यसको प्रस्तावनामा लेखिएको छ, मानव जातिको आउने पुस्तालाई युद्धको विभीषिकावाट बचाउने। प्रथम तथा द्वितीय विश्वयुद्धमा मारिएका करोडौँ मानिस तथा खर्बौँ डलरको क्षतिले मानव जातिमा केही मानवीयता जागृत भएको जस्तो लागेको थियो। तर आज युरोपको मुटुमा गत ३ वर्ष ५ महिनादेखि भीषण युद्ध चलिराखेको छ। लाखौँ जनता प्रभावित भएका छन्। एउटा यृद्ध समाप्त हुन नपाई फेरि मध्यपूर्वमा अर्काे युद्ध भएको छ। हजारौँ जनताले अनाहकमा ज्यान गुमाइसके भने लाखौँ जनता प्रभावित भएका छन्। विश्वका अन्य कतिपय भागमा पनि आन्तरिक तथा अन्य युद्ध र झैझगडा चलिराखेका छन्। आधुनिक विज्ञानले जति नै चामत्कारिक प्रगति हासिल गरे पनि मानवको मनबाट युद्धको उन्माद हटिनसकेको कुरा बुझ्न सकिन्छ। राजजीतिक उद्देश्यका अगाडि मानवता गौण भएका छन्। कूटनीति पनि पराजित भएको हो कि भन्ने भान पर्दछ।
विश्वमा शान्ति तथा स्थायित्वका लागि कूटनीति अपरिहार्य छ। अनि कूटनीतिज्ञहरूको भूमिका तथा सक्रियता पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ। सयुक्त राष्ट्रसंघमा हाल १९३ सदस्य राष्ट्र छन्। राष्ट्रहरू एकआपसमा कुनै न कुनै प्रकारमा जोडिएका हुन्छन्। कति राष्ट्रले अर्काे राष्ट्रसँग कूटनीतिक सम्बन्ध स्थापना गरी दूतावासहरूसमेत स्थापना गरेका हुन्छन्। अनि सम्बन्ध बढाउन उपयुक्त पात्रहरूलाई राजदूत पदमा नियुक्ति गरी पठाउने गरिन्छ। राष्ट्रराष्ट्रहरूबीचको सम्बन्धलाई एकआपसमा फाइदाजनक बनाउन राजदूत तथा अन्य कूटनीतिज्ञहरूले काम गर्छन्। जसरी देशको भौगोलिक परिस्थिति तथा अन्य अवयव फरक छन्, कूटनीतिक कार्य पनि फरक हुन्छन्। कुनै पनि देश तथा त्यो देशले नियुक्ति गरी पठाएका राजदूतहरूको प्रमुख कामकर्तव्यमा आफ्नो देशको हित प्रवर्धन गर्नु नै हुन्छ।
राजदूत अहं महत्त्व बोकेको पद हो। राजदूतलाई राष्ट्र प्रमुखबाट प्रदान गरिने ओहदाको प्रमाणपत्रमा स्पष्टसँग आफ्नो विश्वासपात्र तथा असाधारण अधिकार सम्पन्न व्यक्तिका रूपमा परिचय गराइन्छ। त्यसैले राजदूत एक असीम विश्वास तथा अभिभारा बोकेको पद हो। यसमा उपयुक्त व्यक्ति नियुक्त हुनु अति जरुरी छ। यो पदमा नियुक्त हुने व्यक्ति गलत परेमा देशदेशबीच रही आएको सुमधुर सम्बन्धमा पनि आँच आउन सक्छ। विश्वका विभिन्न भाग घटेका घटनाहरूले यो कुरा पुष्टि गरेको छ।
मैले आफ्नो अनुभवका आधारमा एउटा किताब लेखेको थिएँ- ‘कूटनीतिमा तीन दशक’ शीर्षक राखेर। पुस्तक बजारमा आएको पनि १० वर्ष पूरा हुन लागिसकेको छ। पुस्तकमा लेखिनुपर्ने कतिपय कुरा छुटेका छन्। अतः यस लेखमा राजदूत पदमा नियुक्त गरिने पात्रहरूका सम्बन्धमा केही स्पष्टता झल्काई पाठकवर्गलाई सुसूचित गर्न खोेजेको छु।
विदेशमा पठाउनका लागि राष्ट्रहरूले आआफ्नो नियमकानुन तथा परिस्थितिअनुसार उपयुक्त व्यक्तिलाई उपयुक्त देशमा पठाउनका लागि नियुक्त गर्दछ। राजदूत नियुक्ति भनेको सरकारको एउटा सामान्य कार्य हो। पद रहिरहन्छ, तर पात्रहरू फेरि रहन्छन्। समयको प्रवाहअनुसार पात्रहरू फेरिने हुन्। कुनै पनि व्यक्ति जति लामो समयसम्म राजदूत पदमा कार्यरत रहे पनि एक न एक दिन सरकारले फिर्ता बोलाएपछि स्वदेश फर्कनैपर्ने हुन्छ।
राजदूत पदमा कस्तो व्यक्ति नियुक्त गर्ने, राजदूतको पदको हैसियत के हो, कस्ता व्यक्तिहरू राजदूत पदमा नियुक्त गरिँदा कस्तो प्रभाव पर्छ आदि विषयमा केही गन्थन गर्न लागेको छु। नेपालको परिप्रेक्ष्यमा राजदूत पदमा नियुक्ति दुई प्रकारले हुने गरको छ। राजदूतको पद ३० वटा छ। यसमा सिद्धान्ततः ५० प्रतिशत परराष्ट्र सेवाका अधिकृतहरू तथा ५० प्रतिशत राजनीतिक दलहरूले नियुक्त गर्ने परिपाटी रहिआएको छ।
परराष्ट्र सेवाबाट नियुक्त हुने व्यक्तिका हकमा न्यूनतम सहसचिवसम्म भएका व्यक्तिहरू चयन गरिन्छन्। नेपालको इतिहासमा विचार गर्दा अपवादका रूपमा उपसचिव तहका केही व्यक्तिहरू पनि राजदूत नियुक्त भएका थिए विगतमा। त्यस्तै सहसचिव तहमा कार्यरत रहे तापनि परिस्थिति नमिल्दा राजदूत पदमा नियुक्त पाउन नसकी खाली हात घर गएका कतिपय व्यक्तिहरू छन्। यसलाई कसरी लिने, आफ्नो भाग्यमा नभएको रुपमा लिने कि प्रतिकूल परिस्थितिको सिकार। अहिले हाम्रो कूटनीतिका आधार पनि पहिलेको तुलनामा अलि फराकिलो भएका छन्। कूटनीतिक मिसन बढेका छन्। नियुक्तिको दायरा पनि फराकिलो बनाएको छ। विगतमा एउटै व्यक्तिले तीन पटकसम्म राजदूत पदमा नियुक्ति पाएका विरलैको इतिहास छ भने हाल परिस्थितिमा परिवर्तन भई तीन पटकसम्म राजदूत नियुक्ति पाउन सक्ने व्यक्तिहरू कतिपय निक्लिएका छन्।
कूटनीतिमा राजदूत जसरी महत्त्वपूर्ण व्यक्ति हुन्छ, उसको वैयक्तिक विवरण तथा अनुभवको पनि उतिकै महत्त्व हुन्छ। धेरैजसो देशहरूमा मुख्यतया राजदूत पदमा कूटनीतिक सेवाका अधिकृतहरू नियुक्ति गर्ने चलन छ। कूटनीतिक सेवाबवाहिरका व्यक्तिहरूलाई नियुक्त दिनुपर्ने अवस्थामा निजको उपादेयताबारेमा प्रशस्त छानबिन हुन्छ।
अब राजदूत पदमा नियुक्त भएका केही पात्रहरूका बारेमा वर्णन गरूँ। जति उच्च ओहदाको व्यक्ति राजदूत पदमा नियुक्त गरिन्छ। उच्च तहको राजदूत नियुक्त गर्नु भनेको त्यस देशलाई महत्त्व दिएको रुपमा बुझ्नुपर्दछ। राजदूत पदमा नियुक्त गर्दा नेपालमा पनि निकै जिज्ञासाहरू उत्पन्न हुने गरेका छन्। विगतमा नेपालले पनि प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पदमा काम गरिसकेको व्यक्तिहरूलाई राजदूत पदमा नियुक्त गरिसकेको छ। अन्य व्यक्तिहरूमा सेना, प्रहरी प्रमुखहरूदेखि कर्मचारीतन्त्रको सहसचिव वा सचिव तहका व्यक्तिहरू पनि नियुक्त भएका छन्।
पछिल्ला दिनमा भने राजदूत पदमा नियुक्त भएका व्यक्तिहरूको नाम सुनेर जनता चकित भएका उदाहरण पनि छन्। यसरी नियुक्त हुने पात्रको सो पदमा उपादेयताभन्दा अरू कुनै कारण देखिन्छ। यसरी नियुक्त भएका पात्रले देशको हित प्रवर्धन गर्ने कार्यका केकस्तो योगदान दिन सक्छ वा गरे भन्नेतर्फ कुनै विचारविमर्श हुँदैन। यस्तो परिस्थितिमा राजदूत पदमा नियुक्त व्यक्तिले दिन कताएर विदेशी मुद्रामा तलबभत्ता खाने मात्रै हुन्छ।
नियुक्तिका पात्रहरू
राजदूत नियुक्ति सरकारहरूको साधारण प्रक्रिया हो। कहिलेकाहीँ कोही समाजमा प्रतिष्ठित उच्च तहका व्यक्ति राजदूतमा नियुक्त हुँदा एउटा अनौठो भाष्य सुनिन्छ। त्यो के हो भने मन्त्री भइसकेका व्यक्ति राजदूतमा नियुक्त भए। राजदूत पद गरिमामय भए तापनि यस्लाई नबुझेर स्तर तल झरेको जस्तो कुराहरू पनि सुनिन्छ। कस्ताकस्ता व्यक्तिहरू राजदूत नियुक्त हुन्छन् त?
प्रधानमन्त्री भइसकेका मातृकाप्रसाद कोइराला अमेरिकाका लागि राजदूत नियुक्त भएका थिए भने परराष्ट्रमन्त्रीको ओहदा सम्हालिसकेका कृष्णराज अर्याल फ्रान्सका लागि राजदूत नियुक्त भएका थिए। त्यस्तै अर्थमन्त्री भइसकेका डा. भेषबहादुर थापा अमेरिका र भारतका लागि राजदूत नियुक्त भएका थिए। यसरी मन्त्री पद सम्हालिसकेका व्यक्ति राजदूत नियुक्त हुँदा मन्त्रिपरिषद्को निर्णयमा कोष्ठमा मन्त्रीस्तरीय लेख्ने चलन छ। यसो गर्दा उनले पहिला पाएका मानमा कमी हुन दिँदैन। एक प्रकारले यो पनि सम्बन्धित व्यक्तिप्रति न्याय हुन्छ।
अन्य देशमा पनि राजदूत भएका व्यक्ति परराष्ट्रमन्त्री तथा प्रधानमन्त्री नियुक्त भएका उदाहरण पनि छन्। नाइजेरियामा सन् २०२२ मा हालका राष्ट्र्रपति बोलो टिनुबुले कार्यकाल सुरु हुनासाथ जर्मनीका लागि राजदूत प्राध्यापक युसुफ तुग्गारलाई परराष्ट्र्रमन्त्री पदमा नियुक्त गरे। अझ अलि अगाडिको कुरा गर्ने हो भने अफ्रिकी मुलुक बुर्किना फासोका राष्ट्रपति ब्लासे कम्पाओरेले सन् २००७ मा अमेरिकाका लागि राजदूत तेर्तिैयस जोन्गोलाई सीधा प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। हाल उक्त मुलुकमा ३७ वर्षीय राट्र्पति इब्राहिम ट्रओरेले मुलुकको बागडोर सम्हालेर देशभित्र सकारात्मक रुपमा कायापलट गरिआएका छन्।
सन् २०२३ मा अस्ट्रेलियाले पनि अमेरिकाको राजदूत पदमा प्रधानमन्त्री भइसकेका व्यक्ति केभिन रुदलाई नियुक्त गरेको थियो। यस नियुक्तिले गर्दा अमेरिका तथा अस्ट्रेलियाबीच एउटा राम्रो सन्देश गएको थियो। सन् १९९३ मा अमेरिकाले जापानको राजदूत पदमा उपराष्ट्रपति तथा राष्ट्रपति पदका लागी चुनाव लडेर हारेका वाल्टर मोन्डेललाई नियुक्त गरेको थियो। त्यो नियुक्तिले जापान निकै खुसी भएको थियो। उनै राष्ट्रपतिले आफ्नो मित्र बेचेल कर्पाेरेसनका पे्रसिडेन्ट फ्रान्क विस्नरलाई भारतका लागि राजदूत नियुक्त गरेका थिए। उनको कार्यकाल निकै सफल भएको मानिन्छ। उनी म्याद थप गर्न र फ्रान्समा सरुवा हुन पनि नमानी स्वदेश फर्किएका थिए।
राजदूत पद हरेक दृष्टिकोणले उच्च तथा आकर्षक भए तापनि यदाकदा सो पदमा काम गर्न अनिच्छुक व्यक्तिहरू पनि हुँदा रहेछन्। पेरिसमा रहँदा मलेसियाका राजदूत तान अब्दुल अजिज जैनल र मैले एकै दिन २ जुलाई २०१० का दिन राष्ट्रपति निकोलास सार्काेजीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका थियौँ। उनी मलेसिया सेनाको प्रमुख भई सेवा निवृत्त भएपछि राजदूत पदमा नियुक्त भएका रहेछन्। तीन वर्षपछि एकपल्ट भेट हुँदा सरकारले अर्काे एक वर्ष बस भने पनि आफू फर्कन लागेको बताएका थिए।
राजदूत नियुक्तिको शृंखला खोतल्दै जाँंदा के पनि भेटियो भने दक्षिण अमेरिकी मुलुक कोलम्बियाले आफ्ना पूर्वराष्ट्रपति आन्द्रियास पास्त्रानो अरोन्गोलाई सन् २००५ मा अमेरिकाका लागि राजदूत नियुक्त गर्यो। उनलै कोलम्बियाका राष्ट्रपतिका रुपमा सन् १९९८ देखि २००२ काम गरिसकेका थिए।
कतिपय देशहरूले कूटनीति सेवाभन्दा बाहिरका व्यक्तिहरूलाई पनि उसको विशिष्टता तथा दखलअनुसार राजदूत पदमा नियुक्ति गरेको पाइन्छ। सन् १९८० को दशकमा फ्रान्सले जापानका लागि राजदूत पदमा एअर फ्रान्सका प्रेसिडेन्ट जिल्बर्ट पेरोललाई नियुक्त गरेको थियो। त्यस्तै जापानले यूएइर्एका लागि राजदूत पदमा योसियो हातानो भन्ने मित्सुबिसी कर्पाेरेसनमा कार्यरत विशेषज्ञलाई नियुक्त गरेको थियो। सरकारले व्यक्तिको उपादेयतालाई ध्यानमा राखी उययुक्त व्यक्तिलाई राजदूत पदमा नियुक्त गर्ने प्रचलन छ। तहको कुरा गर्नुपर्दा कूटनीतिक सेवाका कर्मचारीहरूको हकमा सहसचिव, महानिर्देशक वा सोभन्दा माथि हुन्छ।
मैले आफ्नो सक्रिय कूटनीतिक सेवाका अवसरमा बोलिभियाका राजदूत एडवार्दाे गालिन्दो तथा उत्तर मेसेडोनियाका राजदूत आग्रोन बुदजाकुसँग मित्रता गाँस्न पाएको थिएँ। उनीहरू दुवैजना आआफ्नो देशमा राष्ट्रपतिको चुनावमा पराजित भएका थिए। जितेका राष्ट्रपतिले सान्त्वनास्वरूप राजदूतमा नियुक्त गरेका रहेछन्। मेरा पुस्तकमा यस्ता केही कुराहरू उल्लेख भए तापनि पुस्तक पढ्न नपाएका महानुभावहरूलाई यो जानकारी काम लाग्न सक्छ।
(श्रेष्ठ फ्रान्सका लागि पूर्वराजदूत एवं पूर्वशिष्टाचार महापाल हुन्)
श्रेष्ठका कूटनीतिक अनुभवसम्बन्धी अन्य लेखरचना पढ्न तस्बिरमा क्लिक गर्नुहोस्।