
सुर्खेत- वसन्त आगमनसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर एक अनौठो आकर्षणमा रमाइरहेको छ। सडकछेउ, चोक–चौराहामा ढकमक्क फुलेका गुलमोहरले सहरलाई दुलहीझैँ सिँगारिदिएका छन्। बिहानको उज्यालोमा जब घामको मधुर किरण ती राताम्य फूलमा पर्छ, वीरेन्द्रनगर आकाशले ओढाएको पछ्यौरीजस्तो भान हुन्छ।
कुइनेपानी, घण्टाघर, जिल्ला अदालतदेखि नगरपालिकासम्म फैलिएको गुलमोहरको सुन्दरता कुनै सजाइएको उद्यानभन्दा कम देखिँदैन। सडकछेउ उभिएका ती विशाल र रंगीन बोटहरूले न केवल आँखालाई मोहनी लगाउँछन्, उनीहरूले सहरमा जीवनको उज्यालो पनि थपेका छन्।
कुइनेपानी क्षेत्रमा फोटो खिच्न पुगेकी सुशीला केसी भन्छिन्, ‘गुलमोहरको फेदमा फोटो खिच्दा यस्तो लाग्छ, मानौँ आकाश आफैँले रंग पोतिदिएको हो। यत्रो अनुपम दृश्य अन्त कतै देखिएको छैन।’
गुलमोहरको सुन्दरता दृश्य सौन्दर्यमा मात्र सीमित छैन, यसको वरिपरि मानवीय उपस्थिति पनि बाक्लिँदो छ। प्रेमिल जोडी, सेल्फीप्रेमी युवकयुवती, फोटोग्राफर, पर्यटक र सामाजिक सञ्जालका क्रियाशील प्रयोगकर्ता गुलमोहरमुनि जम्मा भइरहेका छन्।
गुलमोहरको हरियाली नगरको सौन्दर्य योजनाको अंश मात्र होइन। यसको पछाडि इतिहासको एउटा पाटो पनि लुकेको छ। तत्कालीन राजा वीरेन्द्रको पहलमा कुइनेपानी क्षेत्रको सडकछेउमा गुलमोहर रोपिएको थियो। आज त्यो पहलले वीरेन्द्रनगरलाई वसन्त ऋतुमा चिनिने एक सौन्दर्यपूर्ण नगरको छवि दिएको छ।
गुलमोहरले चिरबिराउने चराको बास पनि बनाएको छ। विभिन्न पक्षीको गुँड, फूलमा भमराको गुन्गुन, पातमा बस्ने फट्यांग्रा र मौरीको रमझमले प्रकृति र सहरबीचको सम्बन्ध झल्काउँछन्। वीरेन्द्रनगर नगरपालिकाले यी बिरुवा संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिएको छ।
सहर केवल इँटागिटीको संरचना मात्र होइन, त्यो बासिन्दाको भावना, सपना र जीवनशैलीसँग गाँसिएको हुन्छ। जब सहर आफैँ फूल्न थाल्छ, त्यसको आत्मा मुस्काउन थाल्छ। वीरेन्द्रनगर अहिले त्यही चरणमा छ- जहाँ सडक किनारको गुलमोहरले आत्मीयता छर्दैछ अनि सहर आफैँ वसन्तको कविता बनेर झल्किरहेको छ।