
काठमाडौँ- अभिनेत्री मनिषा कोइरालाले फिल्ममा दर्शकको फरक दृष्टिकोणलाई निर्माताले देखाउन सक्नुपर्ने बताएकी छन्।
आठौं नेपाल चलचित्र अन्तराष्ट्रिय महोत्सव (निफ)मा भएको ‘सिनेमा संवाद’ सेसनमा उनले अहिले फिल्म फरक फरक कथाहरुमा बन्न थालेको र त्यसले दर्शकलाई हलसम्म तान्न सहयोग पुर्याइरहेको बताइन्। उनले आफुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्ममा काम गरिरहँदा ३५ वर्षको अवधिमा फिल्म क्षेत्रमा निकै फरकपन भित्रिएको उल्लेख गरिन्।
उनले भनिन्, ‘कुनै समय म पैसाको लागि फिल्ममा काम गर्थे भने क्यान्सर भएपछि म आफ्नो खुसीका लागि मात्र सिमित फिल्ममा गर्छु।’ नेपाली फिल्ममा विगत दुई वर्षयता राम्रा काम भइरहेकाे उनकाे मुल्याङ्कन छ। तर नेपालीले बलिउड शैली कपी गर्न नहुने उनले बताइन् भनिन्, ‘बलिउडमा जुन दर्शकको भीड छ त्यो नेपाली फिल्ममा छैन, फरकपन हुदाँहुदै पनि त्यो छैन। विगत २ वर्षदेखि केही राम्रा काम भएका छन्। नेपाली फिल्मले बलिउडको कपी गर्नु हुदैन। यसमा धेरै कुराको लगानी हुन्छ। जुनलाई हामीले कपि गरेर पनि राम्रोसँग उतार्न सक्दैनौं।’
चलचित्र महोत्सवमा चलचित्र क्षेत्रका मान्छेहरूको बढ्दो प्रभाव रहनुपर्छ भन्दै उनले यो एउटा सिक्ने, बुझ्ने र जान्ने थलो भएको बताइन्। असफलताले मान्छेलाई धेरै कुरा सिकाउने बताउँदै उनले परिस्थितिगत रूपमा अगाडि बढ्दा धेरै कुरामा ध्यान दिनुपर्ने सुझाव दिइन्। उनले भनिन्, कुनै पनि क्षेत्रको सीमा सम्बन्ध र अस्तित्व सधैं कायम रहनुपर्छ।’