सांसद विराजभक्त श्रेष्ठले एक वर्षमा केके काम गरे? [विवरणसहित]

हिमाल प्रेस ९ चैत २०८१ १४:३५
8
SHARES
सांसद विराजभक्त श्रेष्ठले एक वर्षमा केके काम गरे? [विवरणसहित]

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता एवम् पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन्। श्रेष्ठले २०८०/०७/१६ देखि २०८१/०९/२९ सम्म संसद्‌भित्र र बाहिर निर्वाह गरेका गतिविधि समेटेको प्रतिवेदन सार्वजनिक गरिएको हो।

श्रेष्ठ काठमाडौँ-८ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी पूर्ववर्ती पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पाँच महिनाजति युवा तथा खेलकुदमन्त्री भएका थिए।

शनिबार सार्वजनिक प्रतिवेदनमा श्रेष्ठले संसदीय दायित्व वहन गर्दा उठाएका विषयवस्तु, विधेयक संशोधनका प्रस्ताव, संकल्प प्रस्ताव, अर्थ समितिमा गरिएको छलफल र अन्य नीतिगत पहलहरू समावेश छन्।

प्रतिवेदनमा निर्वाचन क्षेत्रमा भएका गतिविधि, पार्टीगत जिम्मेवारी, सञ्चारमाध्यममा प्रस्तुत विचार तथा विभिन्न कार्यक्रम र अन्तरक्रिया समेटिएको छ। श्रेष्ठले भने, ‘प्रतिवेदन पारदर्शिता, जवाफदेहिता र सार्वजनिक उत्तरदायित्वप्रति सांसदको प्रतिबद्धतालाई उजागर गर्ने उद्देश्यले तयार पारिएको हो।’

प्रतिवेदनले सांसदका क्रियाकलापलाई मात्र उजागर नगरी सांसदहरूले नीति निर्माण र व्यवहारमा प्रभावकारी भूमिका खेल्नका लागि चाहिने वातावरणबारे पनि चिन्तन प्रस्तुत गर्ने प्रयास गरेको श्रेष्ठले बताए।

उनले भने, ‘प्रतिवेदनले सांसदको भूमिकालाई पारदर्शी ढंगले जनतासमक्ष राख्ने र सुशासन तथा जवाफदेहिताको अभ्यासलाई संस्थागत बनाउन प्रयास गरिएको छ।’ लोकतन्त्रमा नागरिकको सूचनाको अधिकारलाई सम्मान गर्दै सांसदहरूले आफूले निर्वाह गरेको भूमिकाको जवाफदेही बनाउन खोजिएको उनको भनाइ छ।

श्रेष्ठले पहिलो बागमती प्रदेश सभामा सहभागी हुँदा पनि हामीले वार्षिक रूपमा प्रदेश सभामा गरेका प्रयासहरूलाई समेटेर पारदर्शिताको अभ्यास थालनी गरेका थिए। उनले त्यही अभ्यासलाई निरन्तरता दिँदै आएका हुन्। संघीय संसद्मा निर्वाचित भएपछि उनले यसअघि एउटा प्रतिवेदन सार्वजनिक गरिसकेका छन्।

उनले भने, ‘लोकतन्त्रमा आवधिक निर्वाचन मार्फत नागरिकहरूले खसालेको प्रत्येक मत अत्यन्तै महङ्खवपूर्ण हुन्छ । हामी जनप्रतिनिधिको लागि मत केवल एक आवाज मात्र नभएर एउटा पवित्र विश्वास पनि हो जसले हामीलाई नागरिकप्रति थप जिम्मेवार र दायित्वबोध गराउँछ।’

एक वर्षभित्र श्रेष्ठले गरेका कार्यहरू

संसद्‌मा उठाएका विषयहरू
१. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागिता।

२. धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा सहभागिता।

३. विपद्सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागिता।

४. ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सहभागिता।

५. बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा सहभागिता।

६. सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथिको छलफलमा सहभागिता।

७. सन् २००४ को ग्रिस ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगिना वैद्यले राखेपको निर्देशक पदमा बढुवा प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै दिएको राजीनामाबारे उठाएको प्रश्न।

८. राजदूत पदमा पदीय मर्यादा कायम राख्न नसक्ने व्यक्तिहरूको नियुक्तिबारे उठाएको प्रश्न।

९. श्रमजीवी पत्रकारहरूको समस्याबारे उठाएको प्रश्न।

१०. बालकुमारी घटना छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन र मिटरब्याज पीडितहरूको समस्याप्रति सरकारको बेवास्ताबारे उठाएको प्रश्न ।

११. वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागिता।

संसदीय समितिमा उठाएका विषय

-सुरक्षित कारोबार विधेयकमाथिको छलफलमा सहभागिता।
-कर तिर्न जाँदा घुस माग्ने प्रवृत्ति र सिस्टमबारे उठाएको प्रश्न।

मन्त्री हुँदा केके गरे?

१. राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा वर्षभरिमा सञ्चालन गरिने खेलकुद प्रतियोगिताहरुको आर्थिक वर्ष २०८१/८२ को वार्षिक क्यालेन्डर सार्वजनिक।

२. कतारी राजाको नेपाल भ्रमणको अवसरमा नेपाल सरकार र कतार सरकारबिच भएको द्धिपक्षीय समझदारीपत्रमा युवा तथा खेलकुदका क्षेत्रमा सहकार्य गर्ने समझदारी।

३. नेपाल स्काउटको जग्गा भाडामा लिने दिने बारे भएको सम्झौता र त्यस सम्बन्धमा सम्मानित उच्च अदालत पाटनको फैसला कार्यान्वयनको सम्बन्धमा छानबिन समिति गठन गरी प्राप्त प्रतिवेदनको आधारमा नेपाल स्काउटको जग्गाको संरक्षण तथा नियमसंगत उपयोग गर्न कानुनी व्यवस्थाको कार्यान्वय गर्न गराउन गृह मन्त्रालयको सहयोगमा जग्गा सिलबन्दी।

४. विश्वविद्यालयमा स्पोर्टस साइन्स अध्ययनका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता, विद्यालय स्तरको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष अनुरोध।

५. राष्ट्रिय खेलकुद नीति, २०८० र राष्ट्रिय युवा नीति, २०८० को मस्यौदा उपर प्रदेशस्तरमा राय सुझाव संकलन गरिएको र दुवै नीतिलाई अन्तिम रुप दिइएको।

६. नेपाली खेल क्षेत्रलाई स्वास्थ र स्वच्छ राख्न राष्ट्रिय खेलकुद विकास नियमावली २०७८ बमोजिम गठन भएको राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको रिक्त पदाधिकारीहरु नियुक्ति गरी क्रियाशील बनाइएको।

७. खेलकुद पूर्वाधार विकासका लागि मूलपानी क्रिकेट रंगाशालाको डीपीआर तयार गरिएको, कीर्तिपुर क्रिकेट रंगशालामा स्कोर बोर्ड राखिएको र फ्लड लाइट खरिद प्रक्रिया अगाडि बढाइएको, दशरथ रंगशालाको मर्मत कार्य सम्पन्न, १०औँ राष्ट्रिय खेलकुदलाई समेत दृष्टिगत गरी सुर्खेत रंगशालाको निर्माण कार्यलाई तीव्रता।

८. देशभरका रंगशालाहरुको व्यवस्थापनलाई दृष्टिगत गरी रंगशाला सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार।

९. खेलकुदमा विविध क्षेत्रको ज्ञान तथा क्षमतालाई अवसर प्रदान गर्न तथा अन्तर्राष्ट्रिय पारा ओलम्पिकको मान्यता अनुरुप विकास गर्दै लैजाने उद्देश्यले प्रथम पारा राष्ट्रिय ओलम्पिकको नीतिगत एवं कार्यक्रमगत व्यवस्था।

१०. अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई प्रदान गरिने पुरस्कारका लागि अर्थ मन्त्रालयबाट स्रोत व्यवस्था गरी पुरस्कार वितरणको सुनिश्चितता।

११. नेपाल स्काउट ऐन, २०५० को प्रतिस्थापन गरी नयाँ ऐन जारी गर्न र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई समसामयिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाइएको।

१२. युवा तथा साना व्यावसायी स्वरोजगार कोषको व्यवस्थापन, सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न कार्यदल गठन।

१३. आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा इन्टरनेटका माध्यमबाट खेलिने खेललाई खेलकुद क्षेत्रमा समेट्ने गरी इ-स्पोर्टको व्यवस्था समावेश।

१४. आगामी आर्थिक वर्षको बजेटमा हाई अल्टिच्युडमा खेलिने खेलको लागि बजेटको व्यवस्था ।

१५. युवा तथा खेलकुदसँग सम्बन्धित सूचना तथा तथ्यांक प्राप्तिका लागि पोर्टल तयारीको नीतिगत र कार्यक्रमगत व्यवस्था।

१६. युवाहरुलाई आफ्नै स्थानीय तहमा काम गर्न तीन महिने फेलोसिप कार्यक्रमका लागि बजेट तथा कार्यक्रममा समावेश।

पार्टीगत गतिविधिमा कहाँकहाँ सहभागी भए?

१. काठमाडौँ क्षेत्र नं. ८, कामनपा वडा नं. १३ र १५ समितिको प्रथम अधिवेशनमा सहभागिता।

२. नागार्जुन नगरपालिका वडा नं. ४ मा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा अधिवेशनमा सहभागिता।

३. राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित प्रथम रामेछाप-काठमाडौँ सम्पर्क भेला।

४. राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला भेलामा सहभागिता।

५. ललितपुरमा सम्पन्न प्रथम ऐतिहासिक जिल्ला भेलामा सहभागिता।

६. इलाम, काठमाडौँ र नुवाकोटको उपनिर्वाचनका क्रममा जिल्ला भ्रमण, सदस्य प्रशिक्षण र घरदैलो कार्यक्रममा सहभागिता।

७. पोखरा वडा नं. १३ आर्बाका स्थानीयसँगको छलफल कार्यक्रममा सहभागिता।

८. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषद्को राष्ट्रिय भेलामा सहभागिता।

निर्वाचन क्षेत्रभित्र केके गरे?

१. नागार्जुन नगरपालिका-५ फूलबारी टोल सुधार समितिका नागरिकहरूसँग वडामा समावेश भएका संघीय योजनाहरूको कार्यान्वयन सम्बन्धमा जनप्रतिनिधिसहित
सहभागितामूलक छलफल।

२. पौराणिक सम्पदा क्षेत्रको विकासका लागि कार्यक्रम सञ्चालन।

३. मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन।

४. डल्लु आवास छेउको राजा वीरेन्द्र मार्ग पुनर्निर्माण सम्पन्न।

५. का.म.पा. वडा नं. १३ स्थित गाइबाछा पाटीको बाटो पुनर्निर्माण कार्य सम्पन्न।

६. छाउनीस्थित सिमाना मार्गको पुनर्निर्माण कार्य सम्पन्न।

७. क्षेत्रका विभिन्न टोल विकास संस्थाहरूको आयोजनामा स्थानीय समस्याबारे छलफल गरी समाधानका प्रयास।

८. का.म.पा. वडा नं. १५, लिंकरोड र करिडोर क्षेत्रमा हरियाली पार्क संरक्षणका लागि पर्खाल निर्माण कार्य सम्पन्न।

९. आदेश्वर फूलबारी टोलमा सडक स्तरोन्नति तथा सडक निर्माण कार्य हुँदै।

१०. आदेश्वर फूलबारी टोलमा पहिरो रोकथामका लागि सेरवाल र ढुंगाको पर्खाल निर्माण कार्य हुँदै।

११. नागार्जुन नगरपालिका वडा नं. ४, खोपा टोलमा सडक स्तरोन्नति तथा सडक निर्माण कार्य हुँदै।

१२. डल्लु आवास क्षेत्रको डल्लु आवास मार्गको पुनर्निर्माण कार्य सम्पन्न।

१३. छिन्नलता मार्गका सडकहरूको स्तरोन्नति कार्य सम्पन्न।

१४. ताहाचल मार्गका सडकहरूको स्तरोन्नति कार्य सम्पन्न।

१५. छाउनी गणेश मन्दिरअगाडिको सडक स्तरोन्नति कार्य सम्पन्न।

१६. ज्ञानोदय मार्गको सडक स्तरोन्नति कार्य सम्पन्न।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast