
नवलपरासी- पूर्वपश्चिम राजमार्गको चार लेन विस्तार परियोजनाअन्तर्गत नारायणघाट-बुटवल खण्डको ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर सडक कालोपत्र भएको छ। नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यस सडकको ५८.७ प्रतिशत भौतिक प्रगति भएको छ।
गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा भइसकेको छ भने देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ। यस खण्डमा २२ वटा साना पुलहरू पनि निर्माण भएका छन्।
निर्माण सम्पन्न भएका पुलहरूमा लिङ्करोडको काम पूरा नभएको कारणले पुलबाट सवारी साधन सञ्चालनमा केही समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन्।
विनयी खोलाको पुल आगामी मनसुन अगाडि पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ। केही हप्ता अघि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति पुगेपछि पथान्तरण गरेर सवारी साधन सञ्चालन गरिएका छन्।
सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले ४२ ठाउँमा सडक विस्तार कार्य जारी रहेको जानकारी दिए।
उनले भने,‘हामीले सडक विस्तारसँगै पुल निर्माणमा जनशक्ति केन्द्रित गरेका छौँ। ६५० भन्दा बढी कामदार परिचालन गरेर काम गरिरहेका छौँ।’ आगामी वैशाख महिनाभित्र दुम्कीबाससम्म कालोपत्र पूरा गर्ने लक्ष्य राखिएको छ। राकेशले थपे, ‘दाउन्नेमा पूर्वीखण्डको सबैभन्दा कठिन डाँडाको भित्तो कटान पूरा भएको छ।’