
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार बदल्ने कसरतमा लागेका छन्। केही साता मधेशमा अभियान चलाएर बीचै स्थगित गरी काठमाडौँ फर्किएका प्रचण्ड ‘राष्ट्रिय सहमति’ को सरकार गठनमा जुटेको उनी निकट नेताहरूको दाबी छ।
काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा नागरिकको बाक्लो उपस्थिति देखेपछि प्रचण्ड मधेशमा जारी पार्टीको अभियान स्थगित गरी फिर्ता भएका थिए। फागुन १२ गते सुरु भएको अभियान चैत ७ सम्म चलाउने कार्यतालिका थियो। मधेश प्रदेशको रौतहट पुगेर अभियान स्थगित गरेर प्रचण्डले पार्टी पदाधिकारी बैठक राखेका थिए।
बैठकले संघीयता मन नपराउनेहरुले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्थाविरोधी अभियान चलाएको आरोप लगाएको थियो। प्रचण्डले यसपछि समाजवादी मोर्चाको बैठक राखेर आन्दोलन घोषणा गरेका छन्।
यसपछि उनले दिएका अभिव्यक्ति पूर्वराजाप्रति आक्रामक छन्। नेपाली कांग्रेसप्रति भने केही लचक देखिएका छन्। फागुन २७ मा प्रचण्डले सदनमा गणतन्त्रवादी दलहरू एक भएर अघि बढ्नुपर्ने बताए। उनले राजावादीको गतिविधिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वानसमेत गरे।
राजावादीको चहलपहलको पछाडि देशभित्रको मात्र होइन बाहिरको पनि चलखेल रहेको जिकिर प्रचण्डको थियोे। वर्तमान सरकार निर्माण लगत्तै ‘प्रतिगमन’ बढेको दाबी उनले गरेका थिए। प्रचण्डले भनेका थिए, ‘ठूला काण्डलाई तपाईँहरूले धुनुभयो तर मैलो लोकतन्त्रमा लाग्यो।’ उनले वर्तमान सरकारको सुशासनविपरीत कामले राजावादी मौलाएको दाबी गरे।
जानकारहरू प्रचण्डले सदनमा दुई अर्थ लाग्ने अभिव्यक्ति दिएको बताउँछन्। पहिलो, एमाले-कांग्रेसले भ्रष्टाचारविपरीत काम गरे। अर्को, अब गणतन्त्रवादी दल एकजुट हुने बेला भयो भनेर कांग्रेस-एमालेसँग सहकार्य गर्न तयार रहेको संकेत गरे।
राजावादी गतिविधि बढेपछि प्रचण्ड त्रासमा छन्। उनी जसरी भए पनि ठूला दलसँग मिलेर राजावादी गतिविधिविरुद्ध उभिनुपर्ने बताइरहेका छन्। उनी मात्र होइन, कांग्रेस-एमालेका शीर्ष नेताको पनि चहलपहल बढेको छ। एमालेका एक नेताका अनुसार शीर्ष नेतामा एक भएर अघि बढ्नुपर्ने आवाज उठेको छ। सरकारमा समेत सामूहिक रूपमा अघि बढ्नुपर्ने आवाज बलियो रहेको दाबी ती नेताको छ।
माओवादीका नेताहरू त राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने दाबी गरिरहेका छन्। आइतबार संसद् बैठक बाहिर बोल्दै माओवादी नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ ले भनेका थिए, ‘अब गणतन्त्रका पक्षधरहरूबीच सहकार्य गरी अर्काे सरकार बनाउनुपर्ने हुन्छ।’
सहकार्यको सरकारका लागि माओवादीले एमालेभन्दा कांग्रेससँग छलफल चलाउने उनले बताए। एमालेभन्दा कांग्रेस बढी प्रगतिशील रहेको दाहालको दाबी छ। ‘क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको बीचमा सहकार्य, व्यवस्था र संविधानको रक्षा, संविधान कार्यान्वयन प्रक्रियामा एमालेभन्दा कांग्रेस प्रगतिशील भएको नाताले हाम्रो छलफल कांग्रेससँग बढी हुन्छ,’ दाहालले भने।
अहिले सडकभन्दा मुख्यतया सरकारमै समस्या रहेको र सरकारमा बसेर व्यवस्थाविरोधी गतिविधि भइरहेको उनको आरोप छ। व्यवस्थाविरोधी गतिविधि निरुत्साहित गर्न, संघीय लोकतान्त्रिक पक्षधरहरू एक ठाउँमा उभिन अर्को सरकार बनाउनुपर्ने उनले बताए। उनले माओवादीले गणतन्त्रविरोधीसँग कुनै पनि हालतमा सहकार्य नगर्ने बताए।
‘गणतन्त्रविरोधीहरूसँग हाम्रो सहकार्य हुँदैन, गणतन्त्र पक्षधरहरूको सहकार्यको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ, यो प्रक्रियामा हामी छलफल सुरु गरिराखेका छौँ’, दाहालले भने, ‘प्रारम्भिक छलफल हो, यसले आकार ग्रहण गरिसकेको छैन।’ उनले नेपाली कांग्रेस र नेकपा एमालेभित्र इमानदार, देशभक्त र लोकतान्त्रिकवादीहरू प्रतिगमनका पक्षमा कोही पनि नरहेको बताए।
कांग्रेस नेताहरूसमेत एक हुनुपर्ने आवाज उठेको दाबी गर्छन्। उनीहरूका अनुसार यसबारे प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संवादसमेत भएको छ। ‘सडकको गतिविधि हेरेर ठूला नेताहरू छलफलमा बस्नुभएको हो,’ कांग्रेसका एक नेता भन्छन्,‘ संविधानको रक्षा, अग्रगमनका लागि माओवादी नेतृत्व गर्न तयार रहेको सन्देशका लागि संवाद सुरु हो।’ एमाले सचिव योगेश भट्टराई राजनीतिक रूपमा सहकार्य सकिने बताउँछन्। विगतका अभ्यास हेर्दा समेत एक हुनुपर्ने आवाज उठ्दै गरेको उनी सुनाउँछन्।
एमालेका प्रमुख सेचतक महेश बर्तौला सरकार परिवर्तनको कुनै संकेत नभएको दाबी गर्छन्। संसद् भवन परिसरमा सोमबार पत्रकारसँगको कुराकानीमा उनले भने, ‘कांग्रेस-एमालेको सातबुँदे सहमतिअनुसार सरकार राम्ररी अघि बढिरहेको छ। अहिलेको सरकार राष्ट्रिय सरकार हो। यही रूपमा यसले काम गर्छ।’ उनले राष्ट्रिय सहमतिका आधारमा वर्तमान सरकार बनेको पनि बताए।
‘केही राजनीतिक पार्टीहरूलाई सरकारमा बस्न इच्छा हुन सक्छ। सरकारमा आउन पाए हुन्थ्यो पनि लाग्न सक्छ। कुनै राजनीतिक पार्टी अहिलेको सत्ता साझेदार दलसँग मिलेर अगाडि बढ्छौँ भनेर कोही आउँछ भने छलफल हुन सक्छ’, बर्तौलाले भने। उनले सरकार तथा एमाले-कांग्रेसका तर्फबाट कुनै अन्य राजनीतिक पार्टीहरूलाई सरकारमा ल्याउनका लागि छलफल नचलाएको स्पष्ट पारे।
प्रचण्ड भन्छन् : यो सरकारमा सामेल हुँदैनौँ
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको चर्चा भइरहेको बताएका छन्। यद्यपि उनले सरकारमा जाने कुनै नीति नलिएको दाबी गरे।
काठमाडौँमा सोमबार राजेन्द्र श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण कार्यक्रममा प्रचण्डले भने, ‘सामाजिक सञ्जाल, साथीभाइहरूले फोन मार्फत चासो राखेका छन्। आज म यो मञ्चबाट भन्छु कि हामी अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौँ। लिँदैनौँ।’ उनले देशमा संकट आयो भने संकट कसरी समाधान गर्ने भन्ने विचार दिने बताए। उनले भने, ‘यही सरकारमा गएर हामी सामेल हुने हाम्रो कुनै नीति छैन। बाँकी प्रचार सबै भ्रम हो।’