
हुम्ला- वर्षौँदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको अदानचुली गाउँपालिका र मुगुको सोरु गाउँपालिकामा ‘फोर जी’सेवा सञ्चालनमा आएको छ।
यसअघि हरेक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा गएर भिडियो कलदेखि अन्य इन्टरनेट सम्बन्धी काम गरीरहेका स्थानीय नागरिकले अहिले घरमै बसेर भिडियो कल गर्न पाएको दानचुली गाउँपालिका ५ का सिंह बोहराले बताए।
दुर्गम गाउँमा फोरजी सञ्चालनमा आएपछि हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै गाउँमा फोर जी सेवा सञ्चालन भएको नेपाल टेलिकमले जनाएको छ।
गाउँमै फोरजी सेवा सहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महशुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए।
गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले आजबाट आफ्नो गाउँपालिकाको केन्द्र नजिकै रहेको लामाकाँधमा राखिएको ‘फोरजी’को टावर सञ्चालनमा आएको र यसले गाउँपालिका भित्रका कुनकुन बस्तीमा यसले काम गरेको छ जानकारी दिन सबैलाई अनुरोध समेत गरेका छन्।
फोर जी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन तथा सूचना आदान प्रदानको कामसमेत सहज हुने उनले बताए।
सोरु गाउँपालिका वडा नम्बर ३ को लामाकाँधमा राखिएको टावरले सोरु गाउँपालिकाका केही बस्ती र हरम्लाको ताँजाकोट, सर्केगाड, र अदानचुली गाउँपालिकाका अधिकांश बस्तीहरुमा शुक्रबार दिउँसोबाट शुरु गरेको छ भने अदानचुली च्याममा राखिएको टावर शनिबार दिउँसो १ बजेदेखि सञ्चालनमा आउने टावर निर्माणको जिम्मा पाएका अदानचुली गाउँपालिका वडा नम्बर ५ का दृघ सिंहले जानकारी दिए।
च्याममा राखिएको टावर शनिबार सञ्चालनमा आएपछि जिल्लाको तल्लो क्षेत्रका अधिकांश बस्तीहरुमा ‘फोरजी’ सेवा सञ्चालन हुने छ भने अदानचुली र सर्केगाड गाउँपालिकाको बीच भाग अर्थात् महतारा चौरमा निर्माणाधीन टावर सञ्चालनमा आएपछि तल्लो क्षेत्रका सबै बस्तीमा इन्टरनेट सेवा सुचारु हुने नेपाल टेलिकम हुम्ला रिन्जिन लामाले बताए।
पालिकाले विगत दुई वर्षदेखि टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँसँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वयपछि गत वर्षदेखि यस क्षेत्रमा टावर निर्माण सुरु भएको हुम्ला अदानचुली गाउँपालिकाका अध्यक्ष सिंहले बताए। ‘निरन्तर दबाबका कारणयसले छिटो निकास पाई सञ्चालनमा आएको हो।’