![यूएईको नेपाली दुतावासबाटै श्रम स्वीकृति सुरु : श्रममन्त्री भण्डारीले गरे उद्घाटन](https://himalpress.com/wp-content/uploads/2025/02/UAE_Nepal_Embassy.jpg)
अबुधाबी – युनाइटेड अरब इमिरेट्स (यूएई) को अबुधावी स्थित नेपाली दुतावासबाटै श्रम स्वीकृति सेवा सुरु भएको छ। नेपाली श्रमिकहरूको सुविधालाई मध्यनजर गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले अब श्रम स्वीकृति सेवा सिधै दूतावासबाटै प्रदान गर्ने भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिह भण्डारीको उपस्थितिमा बिहिबार यो सेवा उद्घाटन भएको यूएईका लागी नेपाली राजदुत तेजबहादुर क्षेत्रीले जानकारी दिए।
करिअर राजदूत मध्येमा सक्रिय राजदूतको पहिचान बनाएका क्षेत्रीले दुबईमा जारी वर्ल्ड गभर्मेन्ट समिटमा सहभागी हुन यूएई आएका श्रममन्त्री भण्डारीलाई एक कार्यक्रमकाबीच उक्त सेवाको उद्घाटन गराएका हुन्।
नयाँ व्यवस्थाले यूएईमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रक्रियामा सहजता र सरलता प्रदान गर्ने अपेक्षा गरिएको छ। अब श्रमिकहरूले श्रम स्वीकृतिका लागि नेपाल फर्कनु पर्ने बाध्यता हटेको छ। यसले नेपालीको समय र खर्च जोगिने पनि राजदूतको धारणा छ।
दूतावासका अनुसार, यो सेवा विशेष गरी पुनः श्रम स्वीकृतिका लागि उपयोगी हुनेछ। वैदेशिक रोजगार विभागले यसअघि नै अनलाइनमा पुनः श्रम स्वीकृति सेवा प्रदान गर्दै आए पनि विदेशमा रहेका कामदारलाई त्यो प्रकृया सहज थिएन। त्यही अनलाई प्रक्रियामा अडेर दूतावासले आफैँले प्रक्रिया गरेर सहजीकरण गर्ने उपाए खोजेको हो।
नेपाली कामदार श्रम स्विकृतीकै लागि भनेर महँगो भाडा तिरेर नेपाल आउने र फर्कने गर्न परेन् भन्दै कामदारको बीचमा पनि उत्साह थपिएको गैर आवासियन नेपालीसंघमा आवद्धहरु बताउँछन्। कतिपय नेपालीहरु श्रम स्विकृतीविना नै काम गरिरहेका छन्। उनीहरुले यसरी स्विकृतिविना काम गर्दा कुनै दुर्घटना हुँदा वा समस्यामा पर्दा पाउने सुविधाहरुबाट बन्चित रहन्छन्।
पहिलो पटक विदेश आएका, बायोम्याट्रिक नगरेका तथा भिजिट भिसामा आएर श्रम स्विक्रिती नलिई काम गरिरहेका श्रमिकलाई वैधानिकीकरण गर्न दुतावासबाट प्रदान गर्न लागेको श्रम स्वीकृति सेवाले निकै मद्दत हुने आम श्रमिकको बुझाइ छ।
‘विदेशमा कार्यरत हाम्रा श्रमिकहरूको हितलाई ध्यानमा राख्दै, उनीहरूको श्रम स्वीकृति प्रक्रियालाई सहज बनाउन यो कदम चालिएको हो,’
उद्घाटनपछि हिमाल प्रेससँगको संक्षिप्त कुराकानीमा मन्त्री भण्डारीले भने, ‘यसले श्रमिकहरूको समय र स्रोतको बचत गर्नेछ। यो निकै अगाडि हुन पर्ने कुरा हो। अहिले भएको छ। यसलाई प्रभावकारी बनाएर लागू गर्नेछौँ। दूतावास नै हाम्रो मुलुक हो भनेर बुझ्न पनि आवश्यक छ। दूतावास मार्फत नै यस्ता कार्यहरु हुनुपर्छ।’
यूएईमा रहेका नेपाली श्रमिकहरूले अब दूतावासको आधिकारिक वेबसाइटमार्फत आवश्यक जानकारी प्राप्त गरी, श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन्। दूतावासले यस सेवाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक तयारी पूरा गरिसकेको छ। तर यसलाई लागू गरेर सहज सेवाको लागि भने दूतावासमा जनशक्तिको अभाव रहेको अधिकारीहरु बताउँछन्।
अबुधावीमा रहेको नेपाली दुतावासमा जनशक्तीको अभावमा हालका सेवा समेत कार्यालय खुल्ने अगाडि र बन्द गर्ने समयमा समेत रहेर गर्न परेको अवस्था छ। विदाको दिनमा समेत अबुधाधी स्थित दूतावास काम गरिरहेको हुन्छ। स्थानीय कर्मचारी थप गर्न अत्यावश्यक रहेको भए पनि सरकारले मन्त्रालय र दूतावासमा अधिकृत स्तरको कर्मचारीको संख्या बढाउँदा त्यसको असर यूएईमा पर्नेछ। थालनी भएकाले विस्तारै सहज हुने विश्वास पनि आम नागरिकले दखएका छन्।