कांग्रेसले भन्यो : अध्यादेश एमालेसँग छलफल गरेरै आएको हो

हिमाल प्रेस ३ माघ २०८१ १६:०९
16
SHARES
कांग्रेसले भन्यो : अध्यादेश एमालेसँग छलफल गरेरै आएको हो

काठमाडौँ– सरकारले दुई दलको सहमतिमै अध्यादेश ल्याएको नेपाली कांग्रेसले जनाएको छ। बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसको सहमतिमै अध्यादेश आएको बताएका हुन्।

‘बैठकमा अध्यादेशको बारेमा पनि छलफल भयो। दुई राजनीतिक दलबीच सल्लाह गरेर नै अध्यादेश ल्याइएको हो। अध्यादेश ल्याउन तत्काल नै जरुरी थियो,’ उनले भने, ‘केही आर्थिक सुधारका पक्षमा र सुशासनका पक्षमा तत्काल अध्यादेश ल्याएर सम्बोधन नगरे समय प्रक्रिया लम्बिने र सरकारले केही गर्न नसकेको भन्ने सन्देश जनतामा प्रवाह हुने भएकाले अध्यादेश ल्याइएको हो।’

यस्तै, कांग्रेसले संसदीय दल अनुशासन समिति पनि बनाएको छ। बैठकले सांसद दिलेन्द्र प्रसाद बडूको संयोजकत्वमा अनुशासन समिति बनाएको हो।पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशशरण महत, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको प्रमुख सचेतक घिमिरेले बताए।

उनका अनुसार बैठकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्नुका साथै दोषीमाथि कारबाहीको माग गरेको छ।संसदीय समितिमा रहेका विधेयकहरूलाई तत्काल पास गर्न सहजीकरण गर्ने र नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय भएको उनले बताए।

बैठकले संविधान कार्यान्वयनका केही अत्यावश्यक विधेयकहरू संसदमा छिटोभन्दा छिटो ल्याउन आग्रह गर्ने निर्णय पनि गरेको छ। बैठकले सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने, महत्वपूर्ण विषयहरूमा नियमित छलफल गर्ने निर्णय गरेको पनि प्रमुख सचेतक घिमिरेले बताए।

विभिन्न समितिमा विचाराधीन विधेयकलाई टुंगोमा पुर्‍याउन सक्रियताका साथ काम गर्ने, आफ्नो–आफ्नो मन्त्रालयको कार्यक्षेत्रमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रमहरू सम्पन्न गराउने प्रक्रियामा गति बढाउने, बजेटका अभावले थन्किएर बसेका अधुरा आयोजनाहरूलाई चाँडो अगाडि बढाउन पार्टीबाट सरकामा सहभागी मन्त्रीहरूलाई निर्देशन दिएको छ।

चालु आर्थिक वर्षको बजेटमा रहेका तर श्रोत सुनिश्चितको पर्खाइमा रहेका, टेण्डर हुन नसकेका, निर्माण सुरु भएका तर गतिमा काम नभइरहेका विकास आयोजनाहरूलाई सम्पन्न गराउन आवश्यक पहलकदमी लिने निर्णय गरेको छ। बैठकले दुई दिन पार्टीका नेतार/कार्यकर्ताहरूसँग पार्टी कार्यालयमा भेटेर जनताका आवाज सुन्ने र ५ दिन मन्त्रालयको काममा लाग्न पनि निर्देशन दिएको छ।

प्रमुख सचेतक घिमिरेले सांसदहरूको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत संसदीय दल कार्यसमिति र मन्त्रालयहरूले समन्वय गर्ने निर्णय भएको पनि बताए। पार्टीको प्रदेश समिति, जिल्ला, क्षेत्र एवं स्थानीय तहहरूमार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरूका सम्बन्धमा महिनामा एक पटक पार्टी केन्द्रीय कार्यालयमा छलफल गर्ने निर्णय भएको जानकारी दिए।

मन्त्रीहरूलाई देउवाको निर्देशन : गठबन्धनमा केही समस्या छैन, सहमतिअनुसार अघि बढ्नू

 

बडूको संयोजकत्वमा कांग्रेसले संसदीय अनुशासन समिति बनाउने

 

प्रकाशित: ३ माघ २०८१ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast