रंगमञ्च हुँदै नेपाली फिल्ममार्फत दयाहाङ राई, सौगात मल्ल, विजय बराल, नाजिर हुसेन, पशुपति राई, मेनुका प्रधानलगायत थुप्रै कलाकार दर्शककाे राेजाइ बनेका छन्। उनीहरूकै चरित्रप्रधान फिल्म दर्शकले मन पराइरहेका छन्। रंगमञ्चमा अभिनय गर्दै नाटक निर्देशन र फिल्ममा लम्किएका व्यक्तित्व हुन् सुलक्षण भारती।
भारतीले थुप्रै नाटक खेले। निर्देशन गरे। थिएटरमै मञ्चन भएको नाटकलाई फिल्मको पर्दामा ल्याउन सफल भए। सुलक्षणको निर्देशनमा बनेको पहिलो फिल्म ‘बोक्सीको घर’ चर्चित बन्यो। त्यसयता उनले रोड थ्रिलर जनरामा बनेको फिल्म ‘बाटो’ मा गरेको अभिनयबाट चर्चा पाए। तेस्रो फिल्म ‘ममी’ भने यही माघ २५ मा प्रदर्शन हुँदैछ। अहिलेसम्म उनले तीन फिल्म खेलेका छन्- ‘बोक्सीको घर’, ‘बाटो’ र प्रदर्शनको तयारीमा रहेको ‘ममी’।
पछिल्लो समय नेपाली फिल्म फरकफरक जनरामा बनिरहेको छ। त्यस्ता फिल्ममा दर्शकको आकर्षण बढेको छ। यसै वर्ष प्रदर्शन भएका ‘बोक्सीको घर’, ‘गाउँ आएको बाटो’, ‘घरज्वाइँ’, ‘खुस्मा’, ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’, ‘पूर्ण बहादुरको सारङ्गी’, ‘तेल भिसा’ जस्ता फरक जनराका फिल्म चले। यी फिल्म दर्शकको रोजाइमा परेका थिए।
फरक शैली र परिवेशको कथाले फिल्ममा विविधता बढिरहेको छ। कमेडी, सामाजिक, पारिवारिक कथासहित हरर, एक्सन, सस्पेन्स, थ्रिलरलगायत जनरामा फिल्म निर्माण र प्रदर्शन भइरहेका छन्। निर्देशक भारती विविधता आउँदा दर्शकको रोजाइ र रुचि बढ्ने बताउँछन्। फिल्म राम्रो हुनका लागि परम्परागत जनराबाट माथि उठ्नुपर्ने उनको बुझाइ छ।
मकवानपुरमा हालै सम्पन्न ‘थाहा फिल्म फेस्टिभल’ मा ‘नेपाली फिल्मको विविधता’ शीर्षकमा बाेल्दै निर्देशक भारतीले नेपाली फिल्ममा विविधता भित्रिसकेको र त्यसलाई दर्शकसम्म पुर्याउन चुनौती बनिरहेको बताएका हुन्। ‘यहाँ हरेक जनरालाई मन पराउने दर्शक छन्। नेपाली फिल्ममा विविधता पनि भित्रिसकेको छ। थुप्रै फिल्म बनिरहेका छन्। त्यसलाई आमदर्शकमाझ पुर्याउने चुनौती भने थपिएको छ’, उनले भने।
कतिपय नयाँ जनरा भनिएको फिल्म कुन दिन हलमा लाग्छ र उत्रिइसक्छ दर्शकलाई थाहा नहुने उनको बुझाइ छ। उनी दर्शक नभएर होइन, त्यसलाई उनीहरूसम्म पुर्याउन नसकेर फरक जनराको फिल्म कम चलेको बताउँछन्। अहिले मार्केटिङमा चुकिरहेको र नयाँ मेकरलाई विश्वास गर्न गाह्रो रहेको उनकाे अनुभव छ। दर्शकको स्वाद परिवर्तन गराउन जरुरी रहेको र त्यो काम फिल्मकर्मीहरूले गरिरहेको उनी बताउँछन्।
‘नयाँ जनरा बनाउने प्रायः नयाँ मेकर हुन्छन्। पुरानाको आफ्नै ब्रान्ड बनिसकेको हुन्छ त्यसकारण नयाँलाई झट्ट विश्वास पनि गर्न सक्दैनन्। यसैले पनि नयाँ जनराको फिल्म कम चलेको जस्तो लाग्छ। हामी रेस्टुरेन्टमा गएर मेन्यु हेर्छौँ तर अन्तमा मम नै अर्डर गर्छौँ। केही फरक टेस्टतिर लागिरहेका हुन्नौँ। अब यसलाई हामीले परिवर्तन गर्दै लैजानुपर्छ। जसको सुरुवात पनि भइसकेको छ’, उनले भने।
नयाँ फिल्मकर्मीलाई चलेको फिल्मको अनुसरण गर्नुभन्दा आफूलाई रुचि भएको जनरालाई छनोट गरेर फिल्म बनाउन उनको आग्रह छ। ‘आफूले भन्न खोजेको कथा के हो र त्यसको बजार कुन ठाउँ हो त्यो प्रस्ट हुनुपर्छ,’ उनले भने।
पछिल्लो समय फिल्ममार्फत विभिन्न समुदायको कथा भनिएको छ। फिल्मबाट एक समुदायले अर्को समुदायको संस्कार र संस्कृतिबारे बुझ्ने मौका पाइरहेका छन्। कतिपय दर्शकले एकोहोरो समुदायकै कथामात्र आइरह्यो भनिरहेका छन्। नेपाली फिल्मले विगतदेखि नै विभिन्न वर्ग, जाति वेषभूषामार्फत समाजकै प्रतिनिधित्व गरिरहेको सुलक्षणको बुझाइ छ। अहिलेको समयमा ती कथा समुदाय केन्द्रित भएर आएको उनी बताउँछन्।
यसलाई कतिपय फिल्म समीक्षकहरुले मेकरहरूलाई समुदायको कथा भन्दै आफ्नो संस्कार र संस्कृतिको गरिबीपन बेचिरहेको आरोप पनि लगाएका छन्। यस्तो आरोपप्रति सुलक्षण विपक्षमा छन्। कुनै पकड क्षेत्रमा बसेर पूरै भूगोलका बारेमा कसैले पनि औँल्याउन नसकिने उनको तर्क छ। आफूले देखिरहेको कथा अन्य ठाउँको मानिसलाई फरक लाग्ने पनि उनको बुझाइ छ।
‘हामीले देखिरेहेको कथा विदेशीलाई नौलो लाग्न सक्छ। एउटा पकड क्षेत्रमा बसेर हामी २१ औँ शताब्दीलाई मनाइरहेका हुन्छाैँ तर उपत्यकाबाट बाहिरिनेबित्तिकै त्यो पाइँदैन। यस्ता कुरामा फिल्मले आकर्षक गर्नु स्वाभाविक हो जस्तो लाग्छ। आज पनि यस्तो किन छ भनेर दर्शकमा उत्सुकता जाग्नु सामान्य कुरा हो। गरिबी बेचेको भन्ने होइन वास्तविकता देखाएको भनिन्छ। बेच्ने भन्ने कुरा धेरै फरक पाटो हो’, उनले भने।