अर्काकाे नक्कलले नेपाली फिल्म उद्योग पछाडि परेको छः नीर शाह

हिमाल प्रेस २ चैत २०८० १२:१६
14
SHARES
अर्काकाे नक्कलले नेपाली फिल्म उद्योग पछाडि परेको छः नीर शाह

काठमाडौँ- वरिष्ठ फिल्म निर्देशक, निर्माता तथा अभिनेता नीर शाहले बलिउड र हलिउड फिल्मकाे नक्कलले  नेपाली फिल्म उद्योग पछाडि परेकोमा दुखेसाे पाेखेका छन्। सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

साथै उनले वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनका हेलचेक्र्याइँका कारणले राष्ट्रिय फिल्म उद्योग पछाडि परिरहेको बताएका छन्।

वरिष्ठ फिल्म निर्देशक, निर्माता तथा अभिनेता शाहले बोलेको मन्तव्य उनकै शब्दमा

(वित्तीय व्यवस्थापनको अलमल र बजार व्यवस्थापनका हेलचेक्र्याइँका कारणले राष्ट्रिय फिल्म उद्योग पछाडि परेर गइरहेको अनुभूति हुन थालेको छ। तथापि, केही उच्च कोटीका प्रस्तुतिका कारणले गर्दा राष्ट्रिय चलचित्र कर्मले आफ्नो अभियानलाई त्यस दिशातर्फ तीव्रता दिंदै सफलता हासिल गइरहेको अवस्था पनि छ।

एउटा कोणबाट विश्लेषण गरेर हेर्दा यस्तो नभइदिए पनि हुन्थ्यो भन्ने कुराहरु पनि छन्। अर्को कोणबाट हेर्दा आज यो यति माथि उठ्यो हगि भनिनुपर्ने कुराहरु पनि छन्। यस्तै भनिनुपर्ने कुराहरुको द्वन्द्वबाट यसले आफ्नो अग्रगामी छलाङलाई पक्रिएर अघि बढेको छ। यी साह्रै हर्ष लाग्ने कुराहरु हुन्।

थोरै मात्रामा भएपनि थोरै राम्रा फिल्म बनेका छन्। हाम्रो फिल्म कर्मलाई निश्चित रुपले एउटा अध्यायबाट अर्कोमा लैजान यसले मद्दत पुर्‍याएको छ। यो वाक्यांश यसअघि नै मैले भनिसकेको छु। थोरै फिल्मले जुन मात्रामा हामीलाई विश्वास र श्रेय दिएका छन्, त्यो विश्वासको बोझ यति धेरै ठूलो छ कि, थुप्रै अरु फिल्मले जति अविश्वास दिएका छन् र जति फिल्म कर्ममा क्षति पुर्‍याएका छन्, त्यो ड्यामेजको तुलनामा राम्रा फिल्मले दिएको विश्वसनीयताको मात्रा असाध्य माथिल्लो श्रेणीमा भएको कारण राष्ट्रिय फिल्म कर्म यहाँसम्म आइपुगेको हो।

तसर्थ, बिना कुनै संकोच हामीले त्यस्ता फिल्मकर्मीलाई हृदयदेखि नै आभार अभिव्यक्त गर्नुपर्ने हुन्छ। केही नामहरु छन् जसलाई आजकल हामीले ब्राण्ड भनेर चिन्ने गरेका छौं। हरेक साल असफल हुने ९५ वटा फिल्मका कारणले गर्दा चलचित्रकर्म यहाँसम्म आइपुगेको होइन। हरेक साल सफलताको श्रेणी चढेका पाँचवटा फिल्मले गर्दा चलचित्रकर्मीले यो श्रेणी चढेका हुन्। त्यो पाँच चारमा नझरुञ्जेल त्यो चार तीनमा नझरुञ्जेल हामीले दुःखमनाउ गर्नुपर्ने कुनै कारण नै छैन।

पाँच ६ हुन सकेको दिन, छ सात हुन सकेको दिन, १२ हुन सकेको दिनमा हामी अझैपनि बढी हर्षीत हुने स्थिति सिर्जना हुने आशा हामीले राखेका छौं। तमाम नेपाली दर्शकले राखेको आशा पनि त्यही हो। सिनेमासँग सम्बन्धित विभिन्न संघसंस्था, सरकारी निकायले राखेको अपेक्षा पनि त्यही हो। तसर्थ, त्यस्तो दिन आओस् भन्ने शुभकामना पनि अभिव्यक्त गर्न चाहन्छु।

नेपालको चलचित्रकर्मले अन्तर्राष्ट्रियस्तरमा गरिमा प्राप्त गर्न सफल भएको छ। मलाई अर्को कुनै एउटा क्षेत्र देखाउनुस्, जसमा उसले त्यही श्रेणीको सफलता प्राप्त गर्न सकेको होस्। अविनाश शाहले कान्स फिल्म फेस्टिभलमा पटकथाको पुरस्कार जित्नुभएको छ। विश्वका उत्कृष्ट चलचित्र उत्सवमा नेपाली चलचित्रले आफ्नो जबर्जस्त उपस्थिति पेश गरेको छ।

यी त स्मरणयोग्य अथवा नाम लिन योग्य समारोहहरु भए। वर्षभरि नै अन्य थुप्रै महोत्सव छन् संसारभर जहाँ सिनेकर्मले गौरवशाली इतिहास रच्न सफल भएको छ। उसले गौरवशाली इतिहास रच्ने उसकै क्षेत्रमा हो। नेपाली सिनेमाले स्पोर्ट्सको मैदानमा गएर स्वर्णपदक जित्ला भनेर हामीले अपेक्षा त गरेका हुँदैनौं। अर्थात्, मानवअधिकार कर्मका लागि मानवअधिकारको क्षेत्रमा काम गर्ने थलोमा नेपाली चलचित्रकर्म अभ्यास गरिरहेको व्यक्ति पुरस्कृत भएन भनेर चित्त दुखाउने ठाउँमा त हामी छैनौं। जसरी चलचित्रकर्मीले चलचित्रकर्मलाई अन्तर्राष्ट्रिय क्षेत्रको त्यो श्रेणीमा पुर्‍याउन सफल हुनुभयो, त्यसबाट अरु कर्मका मानिसले पनि सिक्नुहोस्। तपाईंहरुले अभ्यास गरेको कर्मलाई अन्तर्राष्ट्रियस्तरमा हेरिने त्यो श्रेणीमा उकाल्नुहोस्। विशेषगरी मेरो यो आग्रह नेपालका राजनीतिकर्मीहरुलाई छ।

त्यसबाट हामीले दुईटा अभूतपूर्व शिक्षा लिन सक्छौं, जसको बारेमा शिक्षित हुने प्रयत्न हामीले गरेजस्तो देखिंदैन। एउटा मान्छेले जीवनभर गर्ने एउटा राम्रो काम भनेको एउटै मात्र हो। जुन काम फिडेल देवकोटा, सुशन प्रजापति, मीनबहादुर भाम, अविनाश शाहहरुले इमान्दारी र निष्ठापूर्ण ढंगले गरिरहुनभएको छ। नेपालमा उहाँहरु कुन स्थानमा हुनुहुन्छ मलाई थाहा छैन, अन्तर्राष्ट्रियस्तरमा फिल्ममेकरको रुपमा उहाँहरुको नाम अत्यन्त प्रतिष्ठाका साथ लिइने गरिन्छ।

यो पाठ हामीले किन सिक्नुपर्छ भने प्रत्येक पेशा अभ्यास गर्दा, त्योसँग जोडिएको निष्ठा कति महत्वपूर्ण हुने रहेछ भन्ने कुरा सिक्न सक्नुपर्दछ। निष्ठा त्यति महत्वपूर्ण कुरा हो। उहाँहरुले ती कर्महरु निष्ठापूर्ण ढंगले गर्नुभएको छ, त्यसकारण उहाँहरु त्यो स्थानसम्म पुग्न सक्नुभएको हो। दोस्रो– ‘मेनस्ट्रिम’को सिनेमाले त्यो लेभलको पुरस्कार जित्यो रे भन्ने आजसम्म तपाईंले आजसम्म सुन्नुभएको छ? जुन सिनेमालाई हामी ‘मेनस्ट्रिम’ को सिनेमा भन्छौं र जुन सिनेमाको विकास भएन भनेर रातदिन रोइलो गर्छौं। अर्काले देखाइसकेको कुराहरु नक्कल गर्छौं र यो हाम्रो हो, तैंले हेर्नैपर्छ किन हेरिनस् भनेर नहेर्नेलाई रिस गर्छौं।

दोस्रो पाठ भनेको नेपालले अलौकिक ढंगमा संसारको सिने भूमिमा आफ्नो विशिष्ट स्थान हासिल गर्न सक्छ भने त्यो ‘सर्ट फिल्म’को आधारमा मात्र गर्न सक्छ। साउथका सिनेमाबाट नक्कल गरिएका, हिजोसम्म भारतको बम्बै (हाल मुम्बई)का सिनेमाबाट नक्कल गरिन्थ्यो, बम्बैका सिनेमाबाट नक्कल गरिएका सिनेमाले हामीलाई त्यो स्थान दिंदैनन्। तर हामीले विश्व मस्तिष्क जित्न सक्ने पाँच मिनेटको सिनेमा बनाउन सक्यौं भनेपनि एउटा नेपाली सिनेकर्मीले नेपाली सिनेकर्मलाई पहिचान दिलाउन सक्छौं।

मैले जोड दिन खोजेको कुरा हामीले अर्जुनदृष्टि राखेर अगाडि बढ्नुपर्ने दिशा भनेको ग्रामीण भेगमा भेटिने हाम्रा लोक र दन्त्य कथाहरु, प्रत्येक समुदायका पाइला/पाइलामा भेटिने आफैं कथालाई सकेजति सारांशमा विश्व प्लेटफर्ममा हामीले पस्कन सक्यौं भने हामीले त्यो कर्ममा समृद्धि प्राप्त गर्नेछौं। सर्ट फिल्मलाई त फिल्मको श्रेणीमै नराखिएको देशको जनता हौं हामी। जुन किसिमका सिनेमा हरिवंश, मदनकृष्णजीहरुले बनाउनुहुन्थ्यो, जुन किसिमको सिनेमाहरु अहिले उपेन्द्र सुब्बाजीहरुले लेखिरहनुभएको छ, त्यस्ता सिनेमाहरु अहिले रामबाबु गुरुङजीहरुले बनाइराख्नुभएको छ, दयाहाङजीलाई नयाँ धारको नायकको रुपमा प्रस्तुत गरेर। यी फिल्मलाई त सिनेमाको रुपमा वर्गीकरण गरिंदैन थियो नि।

धेरै टाढा जानैपर्दैन। २२/२४ वर्षअघि सम्म पनि। तसर्थ, यदि कसैले आफ्नो दृष्टिकोण बदल्न आवश्यक छ भने सबैभन्दा पहिले हामी आफैंले आफ्नो दृष्टिकोण बदल्नुपर्छ। अब हामीले मेनस्ट्रिम सिनेमा भनेर सातवटा गाना राखिएको, ६ वटा फाइट राखिएको, हिरो र हिरोइन नाचेको, बीचबीचमा खलनायक आएको, त्यसले केहीबेर डिस्टर्ब गरेको, अनि हिरोइनलाई लुटेर लगेको, केहीपछि हिरो गएर मुक्का हानेर ढालेको, अनि हिरोइनलाई जितेर आएको सिनेमा बनाएर। त्यसमा राज्यले सकेसम्म बढी सुविधा दिनुपर्छ भन्ने कराएर। यसरी कहीं पनि पुग्नेवाला छैनौं।

अब हाम्रो सबै ध्यान सर्ट फिल्ममा केन्द्रित हुनुपर्छ। जो विश्वमा सफल सावित भइसके। जसले विश्वमा दर्शकलाई आफ्नो मातहत ल्याउन सफल भइसके। यस सम्बन्धमा राष्ट्रिय नीति बन्नुपर्छ भन्ने कुराको माग यही प्लेटफर्मबाट गर्न चाहन्छु।)

प्रकाशित: २ चैत २०८० १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =