 तस्बिर : क्यान
                             तस्बिर : क्यान
                                            काठमाडौँ- ‘जय ट्रफी मेन्स एलिट कप’ क्रिकेटमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरूद्ध शानदार प्रदर्शन गरेको छ।
जनकपुरको रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा पहिलो इनिङमा २७६ रनको विशाल स्कोर बनाएर त्रिभुवन आर्मी क्लबले मजबुत सुरूवात गरेको हो। पहिलो दिनको खेल सकिँदासम्म बागमती प्रदेश १५२ रनले पछाडि रहेको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले ६० ओभर खेलेर पाँच विकेटको क्षतिमा २७६ रन बनायो। निर्धारित ६० ओभर खेलेपछि त्रिभुवन आर्मी क्लबको पहिलो इनिङ स्वतः अन्त्य भएको थियो।
त्रिभुवन आर्मी क्लबका लागि इमरान शेखले सर्वाधिक ७२ रन बनाए। १०४ बलको सामना गरेका उनले ११ चौका प्रहार गरे। त्यस्तै त्रितराज दासले ४४, भीम शार्कीले ३२ र सोमपाल कामीले ७ रन बनाए।
कप्तान विनोद भण्डारी शून्य रनमा आउट हुँदा बासिर अहमद ५२ र कुशल मल्ल ३५ रन बनाएर नटआउट रहे।
बागमती प्रदेशका लागि विपिन आचार्यले ३ र सन्दीप लामिछानेले २ विकेट लिए।
२७६ रन पछ्याएको बागमती प्रदेशले पहिलो दिनको खेल सकिँदासम्म २२ ओभर खेलेर पाँच विकेटको क्षतिमा १२४ रन बनाएको छ। बागमतीका लागि आशुतोष घिरैयाले ११, रित गौतमले २१, उत्तम मगरले २८, इशान पाण्डेले ४ र शुभ कन्सकारले ३४ रन बनाएका छन्। नन्दन यादव १८ र विपिन आचार्य १ रन बनाएर नटआउट छन्।
त्रिभुवन आर्मी क्लब दोस्रो दिनको पहिलो सेसनमा बागमती प्रदेशका बाँकी विकेट निकालेर खेललाई निर्णायक बनाउने रणनीतिमा हुनेछ। त्रिभुवन आर्मी क्लबले पहिलो इनिङमा बनाएको २७६ रन पछ्याउन बागमतीले अझै १५२ रन जोड्नुपर्नेछ।
जय ट्रफीमा अहिलेसम्म भएका सबै खेल बराबरीमा टुंगिए पनि त्रिभुवन आर्मी क्लब र बागमतीबीचको खेलमा निर्णय आउने बलियो सम्भावना देखिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 