काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रारम्भिक बालविकास (ईसीडी) को समस्या समाधान गर्न मन्त्रालयले काम गरिरहेको बताएकी छन्। शिक्षा सुधारका लागि काठमाडौँको माइतीघर मण्डलामा उभिएर आन्दोलन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँलाई सोमबार भेट्दै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्।
उनले ईसीडीको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाएर काम गरिरहेको बताइन्। मन्त्री भट्टराईले दरबन्दीबारे पनि पुनरावलोकन भइरहेको बताइन्। उनले भनिन्, ‘म शिक्षामन्त्रीको रूपमा आएपछि ईसीडी शिक्षकको समस्या कसरी समाधान गर्ने भनेर कार्यदल बनाएकी छु। त्यो कार्यदलले काम गर्दैछ। दरबन्दी कति छ भन्ने कुरा पुनरावलोकन भइरहेको छ। ईसीडीलाई के गर्ने भन्नेबारेमा मैले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्छु भनें। धेरैले अनिवार्य र निःशुल्कको कुरा मात्रै बुझ्नुभयो।’
पालिकाको शिक्षा योजनाविना सांसदहरू नै फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउँदै उनले हरेक पालिकासँग शिक्षा योजना र शिक्षा कोर्ष हुनुपर्ने बताइन्।
मन्त्री भट्टराईले आफू चालु आर्थिक वर्षको बजेट बनाइसकेपछि आएकाले आफ्नो योजना बजेटमा राख्न नसकेको बताउँदै यस वर्ष आवश्यक नरहेको कार्यक्रमलाई विपद्मा लैजान सकिने भएकाले प्रस्ताव अर्थ मन्त्रालयमा लगेको जानकारी दिइन्।
मन्त्री भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै चापागाईँले आन्दोलन स्थगित गरेका छन्। चापागाईँले ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे माग राखेर आन्दोलन गर्दै आइरहेका थिए।
शिक्षामन्त्री भट्टराईसँगै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि सभापति अम्मरबहादुर थापा पनि चापागाईँको आन्दोलनस्थल माइतीघर पुगेका थिए।
भिडियाे