चीन संयुक्त रूपमा सुमधुर भविष्य सिर्जना गर्न इच्छुक : राष्ट्रपति सी चिनफिङ

अजय अलौकिक १७ पुष २०८१ १२:३१
14
SHARES
चीन संयुक्त रूपमा सुमधुर भविष्य सिर्जना गर्न इच्छुक : राष्ट्रपति सी चिनफिङ चिनियाँ राष्ट्रपति सी चिनफिङ तस्बिर : रोयटर्स

बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले अविस्मरणीय पलहरूले सन् २०२४ असाधारण भएको बताएका छन्। उनले नयाँ वर्ष सन् २०२५ को शुभकामना सन्देश दिँदै गत वर्षलाई यसरी मूल्यांकन गरेका हुन्। राष्ट्रपति सीले नयाँ वर्ष सन् २०२५ मा सबैको कामना पूरा होस् भन्दै सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।

विश्वमा सयौँ वर्षको परिवर्तन तीव्र गतिले विकास हुने भएकाले फराकिलो र मायालु भावना बोकेर मतभेद र भिडन्त पार गरी मानवजातिको भाग्यको ख्याल विचार गर्नु ज्यादै आवश्यक कुरा रहेको राष्ट्रपति सी चिनफिङले आफ्नो शुभकामना सन्देशमा व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘विभिन्न मुलुकसँगै मिलेर मैत्रीपूर्ण सहकार्य चलाउने, पारस्परिक सभ्यता आदानप्रदान अघि बढाउन तथा मानवजाति भाग्य एकरूपताsf स्थापना कार्यमा भाग लिएर संयुक्त रूपमा सुमधुर भविष्यको सिर्जना गर्दै जान चीन इच्छुक छ।’

वर्तमान विश्व उतार चढावमा रहेको र जिम्मेवार ठूलो मुलुकका रुपमा चीनले विश्वको सञ्चालन तथा सुधारलाई सक्रियताका साथ अघि बढाइरहेको औँल्याउँदै उनले शुभकामना सन्देशमा भनेका छन्, ‘वर्तमान विश्व उतारचढावमा छ। जिम्मेवार ठूलो मुलुकका रूपमा चीनले विश्वको सञ्चालन तथा सुधारलाई सक्रियताका साथ अघि बढाउँदै ग्लोबल साउथ बीचको एकता तथा सहकार्य गर्दै आएको छ।’

चीनले बेल्ट एन्ड रोडको संयुक्त रूपमा उच्च गुणस्तरीय निर्माणलाई अघि बढाउँदै चीन-अफ्रिका सहयोगात्मक मञ्च बेइजिङ शिखर सम्मेलनको आयोजना गरेको स्मरण शुभकामना सन्देशमा गरिएको छ। ‘हामीले सांघाई सहयोग संगठन, ब्रिक्स, एसिया प्रशान्त आर्थिक सहयोग संगठन तथा जी-२० लगायत द्विपक्षीय अथवा बहुपक्षीय वातावरणमा चिनियाँ अडान स्पष्टसँग प्रस्तुत गर्दै विश्व शान्ति तथा स्थिरताका लागि अरु बढी प्रेरक शक्ति थपेका छौँ’, उनले भनेका छन्।

सीले नयाँ चीन स्थापनाको ७५ औँ वार्षिकोत्सवसँगै गणतन्त्र चीनको बदलिँदो परिवर्तनको अनुभवसँगसँगै चिनियाँ शैलीको आधुनिकीकरणले सुधार र खुलापन प्रकियामा अझ फराकिलो भविष्यको सिर्जना गर्दै जाने पनि व्यक्त गरे।

‘हामीले भव्यताका साथ नयाँ चीन स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउँदै जनगणतन्त्र चीनको बदलिँदो परिवर्तनको सिंहावलोकन गरेका छौँ। चिनियाँ सभ्यताको ५ हजारभन्दा लामो इतिहास रहँदै आएको सिलसिलामा चीन भन्ने अक्षर प्रत्येक चिनियाँ जनताको मनमा कुँदिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सफलताका साथ आयोजना गरिएकाले सम्पूर्ण रूपमा सुधारलाई गहन पारिएको छ। हामी सुधार र खुलापनको युगको मूल प्रवाहमा अगाडि लम्कँदैछौँ। चिनियाँ शैलीको आधुनिकीकरणले सुधार र खुलापन प्रकियामा अझ फराकिलो भविष्यको सिर्जना गर्दै जानेछ’, सीले भनेका छन्।

उनले बाह्य जगतबाट आउने अनिश्चित चुनौती र नयाँ तथा पुरानो उत्पादक्त्व शक्तिको फेरिने प्रकियामा आउने दबावलाई प्रयासमार्फत ती कठिनाईलाई मेटाउने र सबैजना आशावादी रहनुपर्ने भन्दै जहिल्यै आँधी र पानीको परीक्षणबाट हुर्कँदै आएको बताए। सन् २०२५ मा १४औँ पञ्चवर्षीय योजना पूरा हुने र अझै सकारात्मक तथा प्रभावकारी नीति अपनाउँदै अगाडि बढ्ने तथा उच्च गुणस्तरीय विकासलाई अघि बढाउनुका साथै उच्चस्तरीय विज्ञान प्रविधिको आत्मनिर्भरता र स्वतन्त्रतालाई सबल पारी आर्थिक र सामाजिक विकासको राम्रो प्रवृत्तिलाई कायम राख्दै जाने औँल्याए।

उनले चिनियाँ तथा विश्व अर्थतन्त्रतर्फ औँल्याउँदै भने, ‘हामीले स्वदेश र विदेशको वातावरणबाट ल्याइएको असरको सकारात्मक रुपमा सामना गरेका छौँ। हामीले अनेकन् प्रभावकारी नीतिको तर्जुमा गर्दै उच्च गुणस्तरीय विकासलाई अघि बढाएका छौँ। चीनको आर्थिक पुन:उत्थान भएको छ, राष्ट्रिय कुल गार्हस्थ उत्पादन मात्रा जीडीपी १ हजार ३०० खर्ब चिनियाँ युआनभन्दा बढी हुने अनुमान छ। चीनको अन्नबालीको कूल मात्रा ७ हजार खर्ब केजीभन्दा बढी पुगेको छ। चिनियाँ कचौरामा अरु बढी चिनियाँ खाद्यान्न राखिएको छ। क्षेत्रीय विकास संयुक्त रुपमा अघि बढ्दै आएको छ। नयाँ ढाँचाको शहरीकरण र ग्रामीण क्षेत्रको पुन:उत्थान सँगसँगै बढ्दै आएको छ। हरित तथा कम कार्बन विकास अघि बढ्दै आएको छ र सुन्दर चीनको चित्र बिस्तारै कोरिँदै आएको छ।’

विभिन्न ठाउँको विशेषता बमोजिम सुहाउँदो नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गर्नुका साथै नयाँ उद्योग र नयाँ ढाँचाको क्रमश: विकास भएको पनि औँल्याए। नयाँ ऊर्जायुक्त मोटर गाडीको उत्पादन मात्रा पहिलोपटक एक करोड भन्दा बढी पुगेको तथा इन्ट्रिगेटेड सर्क्युट, एआई र क्वान्टम सञ्चार लगायतका क्षेत्रमा नयाँ उपलब्धिहरु प्राप्त भएको र चिनियाँहरुले आकाश र समुद्रको सर्वेक्षण गर्ने उत्साह देखाएको कुरा पनि आफ्नो सन्देशमा भनेका छन्।

उनले २०२४ मा चीनका विभिन्न क्षेत्रको निरीक्षण र भ्रमणमा आमजनताका रङ्गीचङ्गी जीवन देखेको औँल्याउँदै ठाउँ विशेष वस्तु र सडक तथा गल्लीका कुराहरूको सम्झना समेत गरेका छन्। उनले थ्यानश्वैको ह्वान्यु ठूलो तथा रातो स्याउदेखि थ्यानचिनको प्राचीन संस्कृति सडकमा देखिएको भिडसम्मको पनि चर्चा गरेका छन्। उनले सबैको ध्यानमा रहेका विषयलाई आफूले पनि ध्यान दिएको भन्दै भने, ‘सबैको ध्यानमा रहेका रोजगारी, आय वृद्धि, वृद्धवृद्धा तथा बालबालिकाको हेरचाह, शिक्षा तथा चिकित्सालगायतका विषयहरुलाई मैले पनि ध्यान दिँदै आएको छु। विगत एक वर्षदेखि वृद्ध भत्ता बढेको छ, घर जगाको व्याज घटेको छ, भुक्तानीको परिधि विस्तार भएको हुनाले विभिन्न ठाउँमा उपचारका लागि सजिलो बनेको छ, पुरानो उपभोग्य वस्तुबाट नयाँ साट्ने तरिकामार्फत जीवनको स्तर पनि उकासिएको छ। सबैले धेरै उपलब्धिहरु प्राप्त गरेका छन्।’

मकाउ मातृभूमिमा समाहित भएको २५औँ वार्षिकोत्सवको उपलक्ष्यमा पुनःएकपल्ट हाउ नदीको छेउ पुगेको सम्झना गर्दै दृढताका साथ एक देश दुई व्यवस्था कार्यनीतिलाई व्यवहारमा उतार्नुका साथै हङकङ र मकाउको दीर्घकालीन समृद्धि र स्थिरतालाई कायम राख्दै जाने पनि औँल्याए। उनले मकाउ भ्रमणको सम्झनामा भने, ‘त्यहाँको नयाँ विकास र नयाँ परिवर्तन देख्दा मलाई साह्रै खुसी लागेको छ। हामीले दृढताका साथ एक देश दुई व्यवस्था कार्यनीतिलाई व्यवहारमा उतार्नुका साथै हङकङ र मकाउको दीर्घकालीन समृद्धि र स्थिरतालाई कायम राख्दै जानेछौँ। दुई किनाराका देशबन्धुहरू एउटै परिवारका नातेदार हुन्। कसैले पनि हामी बीचको रगतको सम्पर्क र गहिरो भावनालाई विच्छेद गर्नसक्दैन। कसैले पनि मातृभूमिको एकीकृत ऐतिहासिक महाकार्यको विकास प्रवृत्तिलाई छेक्न सक्दैन।’

आमजनताको सुखमय जीवन बिताउनसक्ने भन्ने कुरा सबैभन्दा महत्वपूर्ण विषय रहेको औँल्याउँदै उनले भने,‘केटाकेटीले अझ राम्रो शिक्षा पाउन्, वृद्धवृद्धाहरूले उत्कृष्ट प्रत्याभूति सेवा पाउनसकुन् र युवायुवतीले अझ बढी रोजगारीका अवसर पाउनसकुन् भन्ने प्रत्येक परिवारको अभिलाषा रहेको छ। ती सबै अभिलाषाबाट सुमधुर जीवनप्रति मानिसहरूको कामना र इच्छा प्रतिबिम्बित गरिन्छ। हामीले सँगसँगै प्रयास गर्दै समाजको निर्माण र सञ्चालन गर्ने स्तरलाई उकासेर मिल्दोजुल्दो र सहिष्णु वातावरणको सिर्जना गर्दै जानेछौँ। हामीले निरन्तर रूपमा सर्वसाधारणका साना र ठूला समस्याहरूको राम्रोसँग समाधान गरी उनीहरुको मुहारमा अझ बढी मुस्कान र मनलाई अझ न्यानो पार्दै जानेछौँ।’

बाढी तथा आँधीबेहरी लगायत प्राकृतिक प्रकोपको सामना गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरुले पहिलो समयमा लडाइँ लडेको पनि बताए। पेरिस ओलम्पिक खेलकुदमा चिनियाँ खेलाडीहरुको विदेशीभूमिमा अहिलेसम्मकै उत्कृष्ट नतिजा भएको भन्दै युवापुस्ताले आफ्नो कोशिश तथा आत्मविश्वास प्रदर्शन गरेको पनि आफ्नो सम्बोधनमा व्यक्त गरे।

सपना अलि टाढा भए तापनि प्रयासमार्फत त्यसलाई साकार तुल्याउन सकिने तथा लक्ष्य अलि अप्ठ्यारो भए पनि निरन्तर लागेर त्यसलाई पूरा गर्नसकिने भन्दै चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ यात्रामा हरेक मानिस मुख्य पात्र रहेको र प्रत्येक प्रयास एकदमै मूल्यवान रहेको र प्रत्येक किरण ज्यादै चम्किँदै जाने राष्ट्रपति सीले स्पष्टरूपमा व्यक्त गरे।

उनले आफ्नो शुभकामना सन्देशलाई यसरी टुङ्ग्याएका छन्, ‘मातृभूमिको प्राकृतिक दृश्य झन् झन् रमणीय देखिएको छ। ताराको किरणले हजारौँ परिवार ढाकिएका छन्। हामीले पर्याप्त आशा बोकेर नयाँ वर्षको स्वागत गरौँ। मातृभूमिले अझ बढी राम्रो उपलब्धि, समृद्धि र सुख प्राप्त गरोस्। सबैको कामना पूरा होस्, नयाँ वर्ष सबैमा सुख, शान्ति र समृद्धिको कामना।’

प्रकाशित: १७ पुष २०८१ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast