चिनियाँ राष्ट्रपति सी मस्कोमा, भेटे समकक्षी पुटिनलाई

हिमाल प्रेस ६ चैत २०७९ २०:४५
12
SHARES
चिनियाँ राष्ट्रपति सी मस्कोमा, भेटे समकक्षी पुटिनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङलाई मस्कोमा स्वागत गरिँदै।

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेटेका छन्। सी सोमबार नै रुसी राजधानी मस्कोमा ओर्लिएका थिए। रुसी सरकारी टेलिभिजनले सी मस्कोस्थित भ्नुकोभो विमानस्थलमा ओर्लिदै गरेको दृश्य प्रशारण गरेको थियो। भेटवार्तामा सी र पुटिनले एकअर्कालाई ‘प्रिय मित्र’ भनेर सम्बोधन गरेको रोयटर्सको रिपोर्टमा उल्लेख छ।

सोमबारको यो भेट अनौपचारिक हो। औपचारिक भेटवार्ता मंगलबार हुनेछ। औपचारिक भेटवार्तामा समकक्षी भ्लादिमिर पुटिनसँग भेट्दा सीले शान्ति वार्ताको प्रस्ताव राख्ने विश्वास गरिएको छ। उता पुटिनले भने सीबाट पश्चिमा दबाब खेप्न सहयोगको अपेक्षा राखेका छन्।

रुस र युक्रेनबीच अझै पनि युद्ध जारी छ। गत शुक्रबार मात्र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। यसो गर्दा पुटिनमाथि लगाइएको आरोप हो, युक्रेनी भूभागबाट बालबालिकालाई रुसतर्फ गैरकानुनी रुपमा ‘डिपोर्ट’ गरिएको।

पक्राउ पूर्जी जारी भएपछि पुटिनले भेट्ने पहिलो विदेशी नेता सी बनेका छन्। तेस्रो कार्यकालका लागि चिनियाँ राष्ट्रपतिको पदमा चुनिएपछि सी पहिलो पटक विदेश भ्रमणमा निस्किएका हुन्। एकपल्ट फेरि राष्ट्रपति बनेपछि रुसको भ्रमण गरेर सीले पश्चिमा जगत्लाई सन्देश दिन खोजेको विश्लेषकहरुको भनाइ छ। अमेरिका नेतृत्वको पश्चिमा जगत्ले चीनलक्षित विभिन्न गतिविधि गरिरहेको परिवेशमा सी मस्को पुगेका हुन्।

‘चीनबाहिर भू–राजनीतिमा नाटकीय परिवर्तन भरहेको छ,’ पुटिनले हालै चिनियाँ अखबार पिपल्स डेलीमा लेखेका छन्। उनले आफ्नो लेखमा चीनलाई नजिकको पुरानो मित्र मान्दै साथको आश राखेका छन्।

गत महिना सीले रुसी अखबार रोसिसकाया गाजेटामा लेख लेख्दै चीन र रुसबीच गहिरो मित्रता रहेको र त्यसले दुवै देशलाई फाइदा गरिरहेको बताएका थिए। त्यही लेखमा सीले असामान्य समस्या सामान्य ढंगमा समाधान नहुने विचार व्यक्त गरेका थिए।

सीका लागि रुस भ्रमण कूटनीतिक रुपमा कठिन निर्णय हो। चीनले केही समयअघि रुसलाई युक्रेनसँगको युद्ध रोक्दै शान्तिवार्तामा सहभागी हुन १२ बुँदा सुझावसहित आह्वान् गरेको थियो। चीनले रुसलाई एकतर्फ वार्ताका लागि सुझाइरहेको छ भने अर्कोतर्फ उसँगको सम्बन्ध मजबुत बनाउने रणनीति लिएको छ।

जारी युद्धमा चीनले रुसलाई सैन्य सामग्री उपलब्ध गराउने योजना बनाएको आरोप पश्चिमा देशले लगाउँदै आएका छन्। चीनले यस्ता आरोपको खण्डन गर्दै आएको छ। यद्यपि चीनले के चाहिँ प्रस्ट पारेको छ भने, उ रुससँगको ऊर्जा सम्बन्ध जारी राख्न चाहन्छ। ताकि रुसी तेल, ग्यास र कोइला आयात नरोकियोस्।

पश्चिमाले लगाएको आर्थिक प्रतिबन्ध छल्न हाल रुस चीनतर्फ सस्तो दरमा तेल, ग्यास र कोइला निर्यात गरिरहेको छ। यसले गर्दा चीनलाई करोडौँ अमेरिकी डलर बराबरको फाइदा भइरहेको बताइन्छ।

सी मस्को पुग्नु केही समयअघि युक्रेनका राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का प्रमुख ओलेक्सी डानिलोभले पुटिनले युक्रेनमाथि नयाँ ढंगले हमला गर्न योजना बनाइरहेको र त्यसमै समय व्यतति गरिरहेको जिकिर गर्दै भनेका छन्, ‘अन्तर्राष्ट्रिय कानुन मान्दै रुसले युक्रेनी भूभागबाट आफ्ना फौज फर्काउनु पर्छ। रुस र चीन दुवैले अन्तर्राष्ट्रिय कानुन मान्नुपर्छ।’

चीनले रुसलाई युद्ध रोक्न आग्रह त गरेको छ, १२ बुँदे सुझाव पनि प्रस्तुत गरेको छ तर एक वर्ष लामो युद्ध अन्त्य गर्न प्रस्ट र औपचारिक प्रस्ताव भने चीनले राखेको छैन। पुटिनले चीनको मध्यस्थता गर्ने इच्छालाई स्वागत गरेका थिए। युद्धबारे रुसको वर्तमान विचार सीलाई भेटेर प्रस्ट पार्ने बताएका थिए।

प्रकाशित: ६ चैत २०७९ २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 9 =