नेपाली व्यापारीले चिनियाँ राष्ट्रपति भेट्न पाउँदा…

अजय अलौकिक ९ असोज २०८० १९:३६
116
SHARES
नेपाली व्यापारीले चिनियाँ राष्ट्रपति भेट्न पाउँदा…

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हालै एक नेपाली व्यापारीले भेट गर्ने अवसर पाएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले १९ औँ हाङचौ एसियाली खेलको अवसर पारेर चच्याङ प्रान्तीय शहरहरूको निरीक्षण गरेका थिए। हाङचौ चच्याङ प्रान्तको सदरमुकाम हो।

सो निरीक्षण भ्रमणमा राष्ट्रपति सीले चच्याङकै व्यापारिक सहर यीउको पनि भ्रमण गरेका थिए। यीउको लीचु गाउँ तथा यीउ अन्तर्राष्ट्रिय व्यापार सिटी पुगेर स्थानीय विशेषतायुक्त व्यवसायको विकास, ग्रामीण क्षेत्रको पुनरूत्थान तथा वैदेशिक व्यापार एवम् उच्च गुणस्तरीय विकासको अवस्थाबारे जानकारी लिएका थिए।

चिनियाँ राष्ट्रपतिको यीउ अन्तर्राष्ट्रिय व्यापार सिटीको भ्रमण क्रममा नेपाली व्यापारीले यस्तो अवसर पाएका हुन्। राष्ट्रपति सीलाई भेट्ने सम्भवतः उनी पहिलो नेपाली व्यापारी पनि हुन्।

यस्तो अवसर पाउने व्यापारी भक्तपुरका विष्णुप्रसाद डुमरू हुन्, जो पछिल्लो समय चीनको यीउ सहरमा व्यापार व्यवसाय गर्दै बसेका छन्। हाल करिब १५० नेपालीसहित झण्डै ३० हजार विदेशी यीउमा बस्दै आएका छन्।

डुमरु आफ्ना दाइ, अग्रजहरूले गर्दै आएको व्यापारबाट चीनको हाङचौ प्रान्तको यीउसम्म पुगेका थिए। सन् २००१ मा पहिलोपटक यीउ आएका उनी सन् २००६ देखि स्थायीसरह नै यीउमा बस्न थालेका हुन्।

यो यीउ सहर विश्वमा नै साना सामग्रीको उत्पादन तथा बिक्रीवितरण गर्ने सबैभन्दा ठूलो कारखाना हो। यहाँ २१ लाख प्रकारका वस्तुहरू उत्पादन हुने गरेको छ, जुन विश्वका कुनाकाप्चासम्म बिक्री हुने गर्छ।

पछिल्लो २० वर्षदेखि नेपाल र चीनबीचको व्यापारव्यवसाय मात्रै होइन, नेपाली व्यापारी डुमरूले आफूलाई एक सहजकर्ता र व्यापारिक तथा सांस्कृतिक दूतको रूपमा समेत ढाल्दै लगेका छन्। उनी नेप्लिज चेम्बर अफ कमर्स इन चाइना यीउका अध्यक्ष पनि हुन्। उनी नेपाल चीन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री यीउ अफिस, नेप्लिज चेम्बर अफ कमर्स चाइना, गैर आवासीय नेपाल संघलगायतका नेपाल र नेपालीसित सम्बन्धित विभिन्न संघसंस्थामा पनि आबद्ध छन्।

हाल नेपाली सामानलाई चिनियाँ बजारमा पुर्‍याउन कसरत गरिरहेका उनी नेपाली व्यापारीलाई चीनमा सरसामान खोज्न सहयोग गर्ने तथा परामर्श र ढुवानीको सेवा पनि दिँदै आएका छन्। साथै नेपाली सामानका लागि मञ्च पनि उपलब्ध गराउँदै आएका छन्।

यी व्यापारीले सेप्टम्बर २० नेपालको संविधान दिवसका दिन राष्ट्रपति चिनफिङलाई भेट्ने अवसर पाएका हुन्। चिनियाँ राष्ट्रपतिसँग भेटको अवसर विश्वका मै हुँ भन्ने नेतालाई समेत मुस्किल पर्छ।

यसबाहेक आमसाधारण मानिसलाई चिनियाँ राष्ट्रपतिसँग भेट गर्नु एउटा सपनाजस्तै हो। उनलाई स्थानीय निकायले यीउमा उच्चस्तरीय भ्रमण हुने भएकोले सो कार्यक्रममा उपस्थित हुन आउनु भन्ने सूचना दिएको थियो।

चिनियाँ राष्ट्रपतिसँगको भेट अघिसम्म पनि उनलाई पत्यार लागेको थिएन। उनी भन्छन्, ‘मैले कोही ठूलो नेता होला भन्नेसम्म सोचेको थिएँ, राष्ट्रपति सी चिनफिङसँगै भेट होला भनेर कल्पना गरेको थिइनँ।’

भेटका क्रममा डुमरुले नेपालीमा नै नमस्ते, स्वागत छ भनेका थिए। ‘उहाँले (चीनफिङ) तपाईंको पोसाकले मैले थाहा पाइसकेँ भन्नुभयो,’ उनले चिनियाँ राष्ट्रपति सीसँगको भलाकुसारी यसरी हिमालप्रेसलाई सुनाए। उनी उच्चस्तरीय भेट भनेकैले राष्ट्रिय पोसाक दौरा सुरूवालमा ठाँटिएर पुगेका थिए।

राष्ट्रपति सीले उनीसँग उनको पेसासँग सम्बन्धित प्रश्न तथा जिज्ञासा राखेका थिए। ‘यीउमा के गर्छौ, व्यापार व्यवसाय के गर्छौ भनेर सोध्नुभयो अनि मैले यहाँबाट नेपाललगायत विभिन्न देशमा सामान निर्यात गर्ने गरेको बताएँ,’ उनले भने, ‘यीउ मार्केटको मालसामान कस्तो छ भनेर पनि सोध्नुभयो, यहाँ सोचेको, खोजेको सबै सामान पाइन्छ भनेँ।’

राष्ट्रपति सीको यीउ मार्केट निरीक्षण क्रममा केही क्षण भलाकुसारी गर्न पाइएकोमा उनी निकै प्रफुल्लित भएका छन्। उनले खुसी जनाउँदै भने, ‘अन्तमा, मलाई ठीक छ, राम्रो व्यापार गर्नुस् पनि भन्नुभयो उहाँले।’

३० हजार विदेशीहरूमध्ये ३ जनाले मात्र चिनियाँ राष्ट्रपतिसँग कुराकानीको अवसर पाएका थिए। ‘यीउ स्थानीय सरकारले मैले दुई देशबीचको सम्बन्ध तथा यीउमा व्यापार व्यवसायमा खेलेको भूमिकालाई हेरेर नै यो अवसर प्राप्त भएको भन्ने लाग्छ,’ उनले थपे।

२० वर्षदेखि यीउमा बसेर व्यापार गर्दै आएका डुमरू यीउ विकासका साक्षी हुन्। साथै बेल्ट एण्ड रोड प्रस्तावपछि चौतर्फी रूपमा यीउले विश्वसँग जोडेको सम्पर्कबाट लाभ लिने एक व्यापारी पनि हुन्। उनी यीउबाटै बेल्ट एण्ड रोडको माध्यमबाट नेपाली सरसामानलाई विश्वभर पुर्‍याउन प्रतिबद्ध पनि देखिन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =