चीनले आफ्नो मात्र विकास गर्दैन : राष्ट्रपति सी चिनफिङ

अजय अलौकिक १६ पुष २०८० १२:११
32
SHARES
चीनले आफ्नो मात्र विकास गर्दैन : राष्ट्रपति सी चिनफिङ चिनियाँ राष्ट्रपति सी चिनफिङ तस्बिर : रोयटर्स

बेइजिङ– नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङबाट समस्त सबैलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमा सीले सन् २०२३ को संघर्षलाई जारी राखी दृढताका साथ अगाडि बढ्ने अठोट व्यक्त गरेका छन्। साथै उनले सन् २०२४ मा आँधीबेहरीका परीक्षाको सामना गर्ने र ठूला उपलब्धि हासिल गर्ने संकल्प लिएका छन्।

राष्ट्रपति सीले सन् २०२३ मा चीनले पाएको विकास उपलब्धिबारे संक्षेपमा जानकारी दिनुकासाथै आगामी वर्षकालागि समृद्धि तथा विश्व शान्तिको कामना गरेका छन्।  हिउँदे संक्रान्तिका दिन सकारात्मक ऊर्जा उत्पन्न हुने र समयसँगै नियमित परिवर्तन हुने भन्दै शुभकामना सन्देशमा चिनियाँ राष्ट्रपति सीले भनेका छन्, ‘हामी संघर्ष जारी राख्नेछौँ र दृढताका साथ अगाडि बढ्नेछौँ, आँधीबेहरीका परीक्षाहरू सामना गर्नेछौँ र ठूला उपलब्धि हासिल गर्नेछौँ।’

उनले कोभिड महामारीको नियन्त्रण र रोकथामपछि चिनियाँ अर्थतन्त्र निरन्तर सुधार मात्रै नभई उच्च गुणस्तरीय विकास भइरहेको पनि औँल्याए। सीले लगातार २० वर्षदेखि अनाजको प्रशस्त उत्पादन भइरहेको बताए। सीका अनुसार ग्रामीण पुनरुत्थानलाई पछ्याउन नयाँ प्रगति भएका छन्। उनले भने, ‘उत्तरपूर्वी चीनलाई पूर्ण रूपमा पुनरुत्थान गर्न नयाँ प्रगति भएको छ। आँधीको सामना गरिसकेपछि चिनियाँ अर्थतन्त्र पहिलेको भन्दा धेरै लचिलो र गतिशील भएको छ।’

लामो समयको संघर्षपछि चीनको रचनात्मक शक्ति र जीवन्त विकास शक्ति पनि देखिएको सीको भनाइ छ । उनले भने, ‘लामो समयको प्रयासपछि चीनको नवीन सिर्जना र विकासको शक्ति धेरै बढेको छ। सी-९१९ ठूलो यात्रुबाहक विमान व्यावसायिक उडान सञ्चालनमा आएको छ।’

साथै स्वदेशी पानीजहाजको परीक्षण सञ्चालन भएको, सनचौ परिवारको अन्तरिक्षमा रिले भएको, ‘फनतौच’ नामक पनडुब्बी समुद्रको चरम गहिराइमा पुगेको र चिनियाँ ब्रान्डले व्यापक स्वागत पाएको सीको बताएका छन्। उनले भनेका छन्, ‘चीनमा उत्पादित नयाँ स्मार्टफोन निकै लोकप्रिय छन्। नयाँ ऊर्जाका गाडी, लिथियम ब्याट्री, फोटो भोल्टिक उत्पादनले मेड इन चाइनालाई उज्यालो थपेको छ। चीनमा दिनरात दोब्बर गतिमा विकास भइरहेको छ।’

चीन एक महान् संस्कृति भएको एक महान् देश रहेको चर्चा गर्दै राष्ट्रपति सीले यो विशाल भूमिमा भव्य र सुन्दर मरुभूमि रहेको बताएका छन्। ‘दक्षिण चीनमा हल्का वर्षाको दृश्य छ, जसले मानिसहरूलाई पुरानो इतिहास सम्झन प्रेरित गर्छ। पीत नदी र याङसी नदीले सबैलाई गौरववोध गराउँछ,’ सीले भने।

चीनको इतिहास धेरै लामो र चीनको संस्कृति अति भव्य रहेको भन्दै उनले यिनै कुराहरू चिनियाँ जनताका लागि आत्मविश्वास र बलको स्रोत भएको बताए। सीले ल्याङचु, अरलिथौ भग्नावशेष सभ्यता, यिनस्यु भग्नावशेषको ओरेकल अक्षर, सानसिनङत्वी भग्नावशेषको सांस्कृतिक सम्पदा, चिनियाँ राष्ट्रिय प्रकाशन तथा संस्कृति संग्रहालयका ग्रन्थहरूले चीनको लामो इतिहास र विशाल सभ्यता दर्शाउने बताए।

शुभकामना सन्देशमा राष्ट्रपति सीले चीनले आफ्नो मात्र विकास नगरी विश्वको विशाल राष्ट्रको जिम्मेवारी पनि सक्रिय रूपमा पूरा गरेको बताएका छन्। सीले भने, ‘चीनले आफ्नो विकासका साथै विश्वलाई सक्रियताका साथ अँगालो मारेर ठूलो मुलुकको जिम्मेवारी लिएको छ। हामीले चीन-मध्य एसिया शिखर सम्मेलन, तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चसमेत अनेक कूटनीतिक कार्यक्रमलाई सफलताका साथ आयोजना गरेका छौँ र विश्वका विभिन्न क्षेत्रका मित्रलाई स्वागत गरेका छौँ।’

आफूले केही मुलुकको भ्रमण गरी केही अन्तर्राष्ट्रिय सम्मेलनमा उपस्थित भएर धेरै पुराना साथी र नयाँ साझेदारसँग भेट गरी चीनको अडान राख्नुका साथै एकअर्कामा सहमतिलाई गहन पारेको उनले बताए।

अगाडिको बाटोमा आँधी र वर्षा सामान्य अवस्था भएको भन्दै कतिपय उद्योग सञ्चालन तथा रोजगारी र जीवनयापनमा कठिनाइको सामना गरिरहेको तथा कतिपय क्षेत्र बाढी, हावाहुरी र भूकम्पलगायत प्राकृतिक प्रकोपको सामना गर्नुपरेको र यी सबै कुरा मनमा रहेको बताए।

उनले आपसमा सहयोग गर्ने, चुनौती सामना गर्ने, कठिनाइ जित्ने कार्यले प्रभावित बनाएको तथा मनलाई निकै छोएको औँल्याए। ‘मेहनती किसान, परिश्रमी मजदुर, साहसी उद्यमी, मुलुकको रक्षा गर्ने सिपाही र विभिन्न काम गर्ने मानिसले अथक प्रयास गरिरहेका छन् र हरेक आमसाधारण मानिसले असाधारण योगदान दिएका छन्। हामीले सबै कठिनाइलाई जित्ने सबैभन्दा ठूलो आधार नै जनता हुन्’, उनले भने, ‘चिनियाँ जनतामा सधैँ सबै चुनौती र कठिनाइहरू पार गर्ने उत्कृष्ट गुण हुन्छ।’

आगामी वर्ष नयाँ चीन स्थापना भएको ७५ औँ वार्षिकोत्सव हो। सीले भने, ‘हामीले चिनियाँ शैलीको आधुनिकीकरणलाई सृदृढताका साथ अघि सारी नयाँ विकास धारणाको पूर्ण, सही, व्यापक रूपमा पालना गर्नुपर्छ, नयाँ विकासका ढाँचालाई तिव्र पारेर उच्च गुणस्तरीय विकासलाई बढाएर विकास र सुरक्षाको समन्वय गर्नुपर्छ।’ उनले स्थायित्वका साथ अगाडि बढ्नुपर्ने, प्रगतिबाट स्थायित्व बलियो बनाउनुपर्ने र स्थिर आर्थिक वृद्धिलाई कायम राख्न आर्थिक सुधारको राम्रो अवस्थालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले भने, ‘सुधार तथा खुलापनलाई व्यापक रूपमा गहन पारी विकासप्रतिको विश्वास बढाउने, आर्थिक जीवन्त शक्ति बढाउँदै शिक्षा, विज्ञान तथा प्रविधि र दक्षता विकासलाई सबल पार्नुपर्छ।’

हङकङ र मकाउलाई दीर्घकालीन समृद्धि र स्थायित्व कायम राख्न आ-आफ्नो शक्तिलाई चित्रण गरी देशको विकासमा राम्रोसँग संलग्न भई सहयोग गर्नुपर्ने सीको शुभकामना सन्देशमा उल्लेख छ। उनले भने, ‘मातृभूमिको एकीकरण इतिहासको अनिवार्य सर्त हो, ऐतिहासिक आवश्यकता हो। जलडमरूका दुई किनारका देशबन्धुले हात र मुटु मिलाएर राष्ट्रिय पुनःउत्थानको महान् गौरवलाई संयुक्त साझेदारी गर्नुपर्छ।’

आफूहरूको उद्देश्य आमजनतालाई अझ राम्रो जीवनस्तरको वातावरण सिर्जना गर्नु रहेको राष्ट्रपति सीले प्रस्ट पारेका छन्। बालबालिकाको हेरचाह र शिक्षा, युवाको रोजगारी र तालिम, वृद्धवृद्धाको उपचार, वृद्धावस्था पेन्सनजस्ता आधारभूत विषय परिवारका मात्र नभएर देशकै विषयको भएको उनको शुभकामना सन्देशमा उल्लेख छ।

‘हामीले यी काम मिलेर गर्नुपर्छ। अहिले समाजमा जीवनको गति तीव्र छ, मानिस व्यस्त छन्। हामीले समाजमा मेलमिलापको वातावरण सिर्जना गर्नुपर्छ। सृष्टिको समावेशी दायरा फराकिलो बनाउनुपर्छ। जनताले सुखी जीवन बिताउने सपना पूरा गर्न सकून् भनेर सरल जीवनयापनको वातावरण बनाउनुपर्छ।’

चीनले खेलकुद, पर्यटन तथा मनोरञ्जनको क्षेत्रमा पनि उत्कृष्टतता हासिल गरेको दाबी सीको छ। उनले छङतु विश्वविश्वविद्यालय खेलकुद, हाङचौ एसियाली खेलकुद भव्यताका साथ सम्पन्न भएको र ती प्रतियोगितामा खेलाडीले राम्रो उपलब्धि हासिल गरेको भन्दै उनीहरूको प्रशंसा गरेका छन्।

उनले बिदा अवधिमा पर्यटकको घुइँचो देखिएको र चलचित्र र मनोरञ्जनको बजार उकासिएको बताए। साथै राष्ट्रपति सीले ग्रामीण फुटबल प्रतियोगिता र ग्रामीण सांस्कृतिक उत्सव निकै लोकप्रिय रहेको बताए।

उनले कम कार्बन जीवन क्रमशः नियमित बन्दै गएको र पुनःउत्थानको आकांक्षाबाट असल जीवनबारे मानिसका इच्छा प्रस्तुत भएको भनाइ राखेका छन्। साथै स्वच्छ पानी र हरिया पहाडको निर्माणमा ठूलो प्रगति भइरहेकै सीको सन्देशमा उल्लेख छ।

वर्तमान विश्वलाई लिएर सीले भने, ‘वर्तमान विश्वका कतिपय क्षेत्र युद्धबाट प्रभावित छन्। चिनियाँ जनताले शान्तिको मूल्यबारे गहन रूपमा बुझेका छन्। हामी मानवजातिको साझा भविष्यको निर्माणलाई अगाडि बढाउन र मानवता र सार्वजनिक कल्याणको भविष्यको ख्याल राखेर सुन्दर संसार निर्माण गर्न अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न इच्छुक छौँ।’

राष्ट्रपति सीले अन्तर्राष्ट्रिय समुदायसँग मानवजातिको भविष्य र मानव भाग्य समुदायको रचनालाई बढाएर अझ असल संसार निर्माण गर्ने इच्छा बारम्बार व्यक्त गर्दै आएका छन्। दस वर्षअघिदेखि नै चिनियाँ राष्ट्रपति सीले विश्व एउटा डुंगा भएको बताउँदै सबै मिलिजुली बस्नुपर्नेमा जोड दिँदै आएका छन्।

उनले नयाँ वर्षको पूर्वसन्ध्यामा रात धेरै सुन्दर र हरेक घर बत्तीले उज्यालो भएको भन्दै मातृभूमिको समृद्धिको कामना तथा विश्व शान्तिको कामना व्यक्त गरेका छन्। सीले भने, ‘अहिले हजारौँ परिवारमा उज्याला बत्ती बलिरहेका छन्। मातृभूमिलाई समृद्धि बनाउने, विश्वमा शान्ति कायम राख्ने शुभकामना बाढौँ। सबैलाई वर्षभरि शुभ र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =