किराँत धर्मावलम्बीहरूको आस्था रहेको लारुम्बामा पर्यटकको घुँइचो

हिमाल प्रेस १९ मंसिर २०८१ १२:१८
4
SHARES
किराँत धर्मावलम्बीहरूको आस्था रहेको लारुम्बामा पर्यटकको घुँइचो

इलाम- माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ। किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङ लारुम्बामा धार्मिक पर्यटकको घुँइचो लागेको हो।

किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७१औँ जन्मोत्सवका अवसरमा किराँत धर्मावलम्बी माङसेबुङ उपस्थित भएका छन्। धर्मगुरुको जन्मोत्सवलाई धार्मिक उत्सवका रूपमा मनाउँदै आएका किराँत धर्मावलम्बीहरू हरेक वर्ष मङ्सिर तेस्रो साता माङसेबुङमा भेला हुने गर्छन्।

सोमबारदेखि नै देश तथा विदेशबाट आएका धार्मिक पर्यटकले माङसेबुङ यतिबेला भरिभराउ भएको छ। यहाँका सबै होटल र घरबास होमस्टे भरिभराउ छ। होटल र होमस्टेमा नअटाएका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था गरिएको माङसेबुङ सामुदायिक होमस्टेकी अध्यक्ष कल्पना लिङ्देनले बताइन्।

‘यहाँ दर्ता भएका करिब एक दर्जन होटल र १५ वटा होमस्टे तथा दर्ता नभएका समेत गरी दर्जनौँ होटल र होमस्टे छन्। ती सबै धार्मिक पर्यटकले भरिभराउ छ’, उनले भनिन्, ‘यहाँ नअटेका धार्मिक पर्यटकलाई स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको छ।’ धार्मिक उत्सवका बेला यहाँका सबै घरलाई होमस्टेका रूपमा राख्ने गरिएको उनले बताइन्।

अहिले २० हजार बढी धार्मिक पर्यटक माङसेबुङमा भेला भएको होटल सञ्चालक सुकदल सेलिङले बताए। ‘यहाँ धार्मिक पर्यटक आउने क्रम जारी छ, सबै लजहरू भरिभराउ छ’, उनले भने, ‘होटलमा अटाउन नसकेपछि स्थानीयवासीको घरमा राखिएको छ।’

त्यस क्षेत्रमा करिब सात सय घरधुरी किराँत धर्मावलम्बीको बसोबास छ। हरेक वर्ष मङ्सिर तेस्रो साता हुने धार्मिक उत्सवले यहाँको व्यापार व्यवसायमा प्रवर्द्धन गर्दै स्थानीय आयआर्जनमा सहयोग पुर्याएको वडाध्यक्ष नरेन्द्रकुमार राईले बताए। ‘यहाँ हुने धार्मिक पर्यटकको जमघटले स्थानीयवासीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ’, अध्यक्ष राईले भने।

जन्मोत्सवमा देश तथा विदेशबाट हज्जारौँ पर्यटकको भीड लागेको छ। माङसेबुङमा नेपालका विभिन्न क्षेत्रसहित विदेशका भारत, भुटान, बर्मा, बेलायत, अमेरिका, अष्ट्रेलिया, डेनमार्कलगायतबाट हजारौँको संख्यामा धार्मिक पर्यटक आएका छन्। किराँत धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने गर्दछ। माङसेबुङ क्षेत्र धुम्रपान मद्यपान निषेधित क्षेत्र हो।

बाहिरबाट त्यहाँ जाने मान्छेलाई पनि मासुमंश तथा कुनै किसिमका मदिराजन्य पदार्थ तथा सुर्ती, चुरोटसमेत सेवन गर्न निषेधित गरिएको छ।

प्रकाशित: १९ मंसिर २०८१ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast