काठमाडौँ- शिखर धवनको उत्कृष्ट ब्याटिङमा कर्णाली याक्सले काठमाडौँ गुर्खाजले १५० रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ गरेको कर्णालीले ५ विकेटको क्षतिमा निर्धारित २० ओभरमा १४९ रन बनायो।
कर्णालीका लागि ओपनर धवनले नट आउट रहँदै सर्वाधिक ७२ रन जोडे। उनले ५१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। उनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए।
चाल्डिक वाल्टनले १५ बलमा ५ चौकाको सहयोगमा २१ रन जोडे। चौथो ओभरको पाँचौ बलमा वाल्टन जेहार्ड एरास्मसको बलमा करण केसीबाट समातिए । बाबर हायतले १८ बलमा १३ रन जोडे । हायत दीपेश कँडेलको बलमा बोल्ड आउट भए ।
गुलशन झाले १९ बलमा १ चौकाको सहयोगमा १२ रन जोडे । उनी जेहार्ड एरास्मसको बलमा विकेट किपर स्टेफन स्किनाजीले स्टपीङ गरे । जिशान मक्सुद ११ बलमा १ चौकाको सहयोगमा १४ रन बनाउँदै नट आउट रहे ।
त्यसअघि चितवन राइनोजविरुद्धको पहिलो खेलमा विकेटविहिन बनेका करण केसीले पहिलो ओभरको तेस्रो बलमा विकेट लिन सफल भए । करणले रनको खाता नखोल्दै देव खनाललाई आउट गराए । जनकपुर बोल्ट्ससँगको पहिलो खेलमा ५ बलमा १ रनमा आउट भएका देवले रनको खाता खोल्नै सकेनन् । देव करणको एलबिडब्लु धरापमा परे ।
अर्जुन घर्तीले ३ बलमा १ चौकाको सहयोगमा ४ रन जोडे । अर्जुन नाथन स्वटरको बलमा बोल्ड आउट भए । कर्णालीले पछिल्लो पाँच ओभरमा कुनै विकेट नगुमाइ ५८ रन जोडेका थियो । काठमाडौंका लागि जेहार्ड एरास्मसले २ तथा नाथन स्वटर, दीपेश कंडेल र कप्तान करण केसीले समान १ विकेट लिए । आजै हुने दोस्रो खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सको सामना गर्दैछ ।