महँगोमा पनि हवाई टिकट नपाउँदा कोरिया जान रोकिए १४ सय कामदार

रमेश भारती १८ मंसिर २०८१ १७:२५
50
SHARES
महँगोमा पनि हवाई टिकट नपाउँदा कोरिया जान रोकिए १४ सय कामदार

काठमाडौँ-  हवाई टिकट नपाउँदा १ हजार ४ सय नेपाली कामदार कोरिया जानबाट रोकिएका छन्। टिकट उपलब्ध गराउने जिम्मा पाएको कोरियन एयरको जीएसए (जनरल सेल्स एजेन्ट) युनिभर्सल टुर एन्ड ट्राभल्सले टिकट उपलब्ध गराउन नसकेका कारण रोकिनुपरेको गुनासो कामदारको छ। यसरी रोकिनेमा  रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत छनोट भई भिसा आएका कामदार छन्।

वैदेशिक रोजगार विभागको ईपीएस शाखाका प्रवक्ता कमलराज श्रेष्ठले दसैँतिहारको बीचमा धेरै श्रमिकको भिसा आएकाले उडानमा समस्या भएको बताए। उनका अनुसार डिसेम्बरका लागि ६ सय ५० जना श्रमिकको उडान तालिका तय भएको छ। श्रेष्ठले भने, ‘धेरै संख्यामा भिसा जारी भयो। चाडपर्वको समयमा कामको चाप बढेकाले उडान प्रभावित भयो।’

कोरियन एयरले काठमाडौँ-सिओलको सीधा उडान सातामा तीन पटकमात्र सञ्चालन गर्दै आएका कारण कोरिया जाने कामदारले टिकटका लागि दुई साता कुर्नुपर्ने बाध्यता छ। यस विषयमा सरकारले गम्भीर रुपमा नलिँदा समस्या कामदारले भोग्नुपरेको छ।

कोरिया जाने कामदारले ट्रान्जिट उडान प्रयोग गर्न नपाउने भएकाले टिकट नपाइएला भनेर कामदारलाई काठमाडौँ आएर दुई साता बस्नुपर्ने बाध्यता छ। भिसा जारी भएको तीन महिनाभित्र श्रमिक कोरिया पुग्नुपर्ने कानुनी प्रावधान छ। त्यही भएर भिसा आएपछि कामदारले टिकटका लागि काठमाडौँ बस्नुपर्ने बाध्यता छ। कोरिया जाने श्रमिकलाई समयमा उडाउन आवश्यक प्रक्रिया अघि बढाइएको र सम्बन्धित पक्षले यस विषयमा छलफल गरिरहेको प्रवक्ता श्रेष्ठको दाबी छ।

टिकटै महँगो

युनिभर्सल टुर एन्ड ट्राभल्सले श्रमिकलाई प्रतिटिकट ८ सय ९५ अमेरिकी डलर (झण्डै १ लाख १९ हजार) रुपैयाँ दरमा उडाउन टेन्डर पाएको भए पनि नियमित श्रमिकबाहेकलाई औसत १ लाख ५० हजार रुपैयाँमा टिकट लिनुपरेको कोरिया भिसा आएका एक जना कामदारले जानकारी दिए।

उनका अनुसार युनिभर्सल टुर एन्ड ट्राभल्सले चार महिनाका लागि टिकट बुकिङ भएको भन्दै औसत १ लाख ५० हजार देखि ७० हजारसम्म लिने गरेको छ। यस विषयमा श्रम मन्त्रालयमा कोरिया जाने श्रमिकले उजुरी गरे पनि मन्त्रालयले गम्भीरताका साथ नलिएको ती कामदारले जानकारी दिए। उनले दुई महिना कुर्दा मात्र कोरियाको टिकट एक लाख ६० हजार तिरेर लिएका छन्।

यस विषयमा बुझ्न खोज्दा युनिभर्सल टुर एन्ड ट्राभल्सका कर्मचारीले डिसेम्बरमा कोरियाको टिकट नभएको जानकारी दिए। ट्राभल्सका कर्मचारीले कोरियाका लागि एक लाख ६० हजारभन्दा बढीको टिकट मात्र भएको जानकारी गराए। ट्राभल्सकी महिला कर्मचारीले जनवरीदेखि कोरिया जाने कामदारको हवाई टिकट १ लाख ७० हजारमाथि पुग्ने जानकारी दिइन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता वसन्तबहादुर बोहरा पनि कोरिया जान कामदारले महँगोमा पनि टिकट नपाएको गुनासो गर्दै आएको बताउँछन्। उनले समस्या समाधान गर्न  कोरियाको सम्बन्धित पक्ष र युनिभर्सल टुर एन्ड ट्राभल्ससँग छलफल भइरहेको जानकारी दिए।

गत साउनदेखि कात्तिकसम्म तीन हजार १७२ जना श्रमिक कोरिया पुगिसकेका छन्। हालसम्म उत्पादन क्षेत्रमा ८ हजार १५१, कृषि क्षेत्रमा ८ हजार ५०० र पानीजहाज निर्माण क्षेत्रमा चार हजार जना गरी २० हजार ६५१ जना रोस्टरमा छन्। ती श्रमिकलाई रोजगारदाताले छनोट गर्न बाँकी छ। आगामी जनवरीमा कोरिया जान दुई हजारभन्दा बढी कामदारको भिसा जारी हुने शाखाले जनाएको छ।

प्रकाशित: १८ मंसिर २०८१ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast