चिनियाँ विकासको एक्सप्रेस रेलमा यात्रा गर्न सीको आह्वान

अजय अलौकिक ३ मंसिर २०८१ १५:०३
18
SHARES
चिनियाँ विकासको एक्सप्रेस रेलमा यात्रा गर्न सीको आह्वान

विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब दुईतिहाई हिस्सा ओगट्ने र संयुक्त रुपमा विश्वको आधा व्यापार ओगट्ने एसिया प्रशान्त क्षेत्रका राष्ट्र र क्षेत्रहरू सम्मिलित एपेक मञ्चको वार्षिक भेला हालै पेरूको राजधानी लिमामा आयोजना भएको छ। एसिया प्रशान्त आर्थिक सहकार्य (एपेक) सन् १९८९ मा सन्तुलित, समावेशी, दिगो, नवीन र सुरक्षित विकासलाई प्रवर्द्धन गर्ने र क्षेत्रीय आर्थिक एकीकरणलाई गति दिने तथा यस क्षेत्रका जनताका लागि बृहत्तर समृद्धि सिर्जना गर्ने लक्ष्य राखेर स्थापना गरिएको क्षेत्रीय आर्थिक मञ्च हो।

यसलाई एशिया प्रशान्त क्षेत्रमा सबैभन्दा उच्चस्तरीय, व्यापक तथा प्रभावकारी आर्थिक सहयोग संयन्त्र मानिन्छ। यसमा अमेरिका, चीनसहित एसिया प्रशान्त क्षेत्र वरिपरिका राष्ट्र र क्षेत्रहरू गरी २१ सदस्य छन्।

चीन सन् १९९१ मा एपेकको औपचारिक सदस्य बनेको हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्र र विश्व व्यापारको ‘कि प्लेयर’ का रूपमा चीनले एपेकलाई आर्थिक वृद्धि, क्षेत्रीय सहयोग र बहुपक्षीयता प्रवर्द्धन गर्नका लागि महत्त्वपूर्ण मञ्चको रूपमा लिँदै आएको छ। एपेकमा चीनको संलग्नताले एसिया प्रशान्त क्षेत्रमा स्वतन्त्र व्यापार, आर्थिक भूमण्डलीकरण र दिगो विकासलाई प्रवर्द्धन गर्ने आफ्नो प्रयास र प्रतिबद्धता झल्काउँछ।

एक प्रतिवेदनअनुसार सन् २०२३ मा एसिया प्रशान्त क्षेत्रीय अर्थतन्त्रको पुरुत्थान मुख्यतया चीनबाट भएको हो। चीनले यस क्षेत्रको आर्थिक वृद्धिमा ६४.२ प्रतिशत योगदान पुर्याएको छ। एसिया प्रशान्त क्षेत्रमा वस्तु व्यापारमा ३७.६ प्रतिशत र सेवा व्यापारमा ४४.६ प्रतिशतले चीनको योगदान छ। एपेक सम्मेलन तथा चीनको भूमिकाबारे चर्चाअघि दुई शक्तिशाली नेताहरूको १६ तारिख लिमामा भएको ताजा भेटवार्ताको प्रसंग सान्दर्भिक हुन्छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच गत वर्ष सान फ्रान्सिस्कोमा आयोजित एपेक सम्मेलनपछिको पहिलो भेटका रूपमा महत्त्व पाएको यो सम्मेलनले सञ्चारमाध्यममा अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछिको पहिलो विश्व शिखर सम्मेलनका रूपमा समेत चर्चा पाएको थियो।

विश्वको पहिलो र दोस्रो तथा अरू आर्थिक शक्तिशाली र उदीयमान राष्ट्रहरू र उनीहरूले खेल्ने भूमिका अनि सम्भावित रस्साकस्सीका कारण पनि एपेक सम्मेलन चर्चित र महत्त्वपूर्ण छ।

भेटवार्तामा चिनियाँ राष्ट्रपति सी चिनफिङले बितेका चार वर्षमा चीन अमेरिका सम्बन्धमा देखिएको उतारचढावबारे चर्चा गर्दै संवाद र सहकार्यले सकारात्मक परिणामहरू हासिल हुने औँल्याएका छन्। सीले भने, ‘चीन अमेरिका सम्बन्धको स्थिर विकास दुई देशका जनतासँग मात्र नभई मानवजातिको भविष्य र भाग्यसँग पनि सम्बन्धित छ। चीन वार्ता जारी राख्न, सहयोग विस्तार गर्न, मतभेद व्यवस्थापन गर्न र चीन अमेरिका सम्बन्धमा स्थायित्वको गतिलाई निरन्तरता दिन तयार छ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अमेरिका चीन सम्बन्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धका रुपमा चर्चा गर्दै दुई देशका जनताका लागि मात्र नभई विश्वको भविष्यका लागि पनि महत्त्वपूर्ण रहेको बताए।

बाइडेनले भने, ‘अमेरिकाले नयाँ शीतयुद्ध चाहँदैन, चीनको प्रणाली परिवर्तन गर्न चाहँदैन, गठबन्धन बलियो बनाएर चीनको विरोध गर्न खोज्दैन, ताइवान स्वतन्त्रताको समर्थन गर्दैन, चीनसँग द्वन्द्व खोज्दैन र ताइवान मुद्दालाई चीनसँग प्रतिस्पर्धा गर्न प्रयोग गर्दैन।’ बाइडेनले अमेरिकाले एक चीन नीतिलाई निरन्तरता दिँदै जाने र चीनसँग सम्पर्क र संवाद सुदृढ बनाउन, आपसी समझदारी बढाउन र मतभेदलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न अमेरिका तयार रहेको पनि बताए।

दुवै देशका राष्ट्रप्रमुखले उक्त भेटवार्ता स्पष्ट, गहन र रचनात्मक रहेको भन्दै पारस्परिक संवाद र सम्पर्क कायम राख्न आफूहरू इच्छुक रहेको जाहेर पनि गरे। यी दुई नेताले पछिल्लोपटक गत वर्षको नोभेम्बर १५ मा अमेरिकाको सान फ्रान्सिस्कोस्थित फिलोली गार्डेनमा वार्ता गरेका थिए। दुई देशका नेताबीच चीन अमेरिका सम्बन्धमा रणनीतिक दृष्टिकोण, विश्वशान्ति तथा विकासबारेको महत्त्वपूर्ण विषयबारे गहन वैचारिक आदानप्रदान भएको थियो।

त्यस भेटमा पनि चिनियाँ राष्ट्रपति सीले ठूला मुलुकबीचको प्रतिस्पर्धाले चीन र अमेरिका दुई मुलुकका साथै विश्वासामु देखापरेका समस्या समाधान गर्न नसक्ने औँल्याउँदै चीन र अमेरिकाबीचका आआफ्ना सफलता पारस्परिक अवसरहरू भएको बताएका थिए।

यसर्थ चीन एकपक्षीयवाद र बढ्दो संरक्षणवादजस्ता चुनौतीहरूको सामना गर्दै बहुपक्षीयता र खुला क्षेत्रीयतावादको वकालत गरी उच्च गुणस्तरीय विकास तथा उच्चस्तरीय खुलापनमार्फत् एसिया प्रशान्तका साझेदारसमक्ष अझ बढी अवसर सिर्जना गर्दै एसिया प्रशान्तको भाग्य समुदायको साझा निर्माण गर्न अडिग छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘युगको जिम्मेवारी बाँडफाँट र एसिया प्रशान्त क्षेत्रको विकासलाई संयुक्त रुपमा प्रवर्द्धन गर्ने’ शीर्षकमा नोभेम्बर १६ मा लिमास्थित कन्भेन्सन सेन्टरमा ३१ औँ एपेक सम्मेलनलाई महत्त्वपूर्ण सम्बोधन गरेका थिए। जहाँ उनले सुधार र खुलापन चीन र विश्वबीचको साझा विकास र प्रगतिको ऐतिहासिक प्रक्रिया रहेको र चीनको विकासले एसिया प्रशान्त क्षेत्र र विश्व विकासका लागि थप नयाँ अवसर प्रदान गर्दै जाने बताए।

उनले भने, ‘हामी चीनको विकासको एक्सप्रेस रेलमा यात्रा जारी राख्न र विश्वका विभिन्न देशहरूको आधुनिकीकरणका लागि शान्तिपूर्ण विकास, पारस्परिक लाभकारी सहयोग र साझा समृद्धि हासिल गर्न सँगै काम गर्न सबै पक्षलाई स्वागत गर्दछौँ।’

चिनियाँ राष्ट्रपति सी जिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच पेरुको लिमामा शनिबार भएको भेट। तस्बिर : सिन्हवा/रासस

सम्बोधनमा राष्ट्रपति सीले एपेकले एशिया प्रशान्त क्षेत्रलाई विश्व अर्थतन्त्रको सबैभन्दा गतिशील क्षेत्र र प्रमुख विकास इन्जिन बन्न सहयोग गरिरहे तापनि हाल विश्व सय वर्षमा देखा नपरेको परिवर्तनबाट गुज्रिरहेको र एसिया प्रशान्त सहयोगले भूराजनीति, एकपक्षीयवाद र बढ्दो संरक्षणवादजस्ता चुनौती सामना गरिरहेको औँल्याए।

‘एसिया प्रशान्त क्षेत्रका विभिन्न देशहरूले एकताबद्ध भएर सहकार्य गर्नुपर्छ, जिम्मेवारी लिने साहस राख्नुपर्छ, साझा भविष्यसहित एसिया प्रशान्त संयुक्त भाग्य समुदाय निर्माणलाई बढाउनुपर्छ। एसिया प्रशान्तले विकासको नयाँ युगमा प्रवेश गर्ने प्रयास गर्नुपर्छ,’ उनले भने।

राष्ट्रपति सीले गत वर्ष आयोजित ३०औँ एपेक सम्मेलनमा पनि अर्को ‘सुनौलो ३० वर्ष’ कसरी बनाउने प्रश्न गर्दै यसबारे गहिरो रूपमा सोच्नुपर्ने विचार राखेका थिए। उनले गत वर्ष एपेककै साइड सम्मेलनमा ‘संयुक्त चुनौतीको सामनामा, एसिया प्रशान्त सहयोगको नयाँ अध्याय’ विषयमा सम्बोधन गर्दै ३० वर्षअगाडि एसिया प्रशान्त क्षेत्रका नेतागणले शान्ति र विकासको मागअनुरूप पहिलो एपेक सम्मेलनको आयोजना गरेको स्मरण गरेका थिए।

यसैगरी नोभेम्बर १७ तारिख आयोजित ‘सबैका लागि लचिलो र दिगो विकासयुक्त भविष्यको सिर्जना तथा निर्माण’ को नारा बोकेको ३०औँ एपेक सम्मेलनमा ‘हाम्रा सुरुदेखिको आकांक्षामा अडिग रहँदै एकताबद्ध सहयोगमार्फत एसिया प्रशान्त क्षेत्रमा उच्च गुणस्तरीय वृद्धिलाई सँगै अधि बढाऔँ’ शीर्षकमा महत्त्वपूर्ण सम्बोधन गर्दै चीन शान्तिपूर्ण विकासको मार्गमा अडिग रहेको र उच्च गुणस्तरको विकासलाई दृढताका साथ अघि बढाउँदै जाने र एसिया प्रशान्त क्षेत्रमा थप उपलब्धि र एसिया प्रशान्त क्षेत्रको अर्को ‘सुनौलो ३० वर्ष’ को संयुक्त रूपमा निर्माण गर्न सबै सहकर्मीहरूसँग सहकार्य गर्न तयार रहेको उद्घोष गरेका थिए।

साथै सीले भविष्यमा एसिया प्रशान्तले विकासको अर्को ‘सुनौलो ३० वर्ष’ कसरी हासिल गर्नेछ भनी प्रश्न पनि तेर्स्याएका थिए।

राष्ट्रपति सीले पुत्राजया भिजन २०४० को पूर्ण कार्यान्वयन गर्दै खुला, जीवन्त, लचिलो र शान्तिपूर्ण एसिया प्रशान्त क्षेत्रको संयुक्त भाग्य समुदायको निर्माण गर्नुपर्नेमा जोड दिँदै एसिया प्रशान्त क्षेत्रका जनता र भावी पुस्ताको साझा समृद्धिलाई साकार तुल्याउने गरी अघि बढ्नुपर्ने औँल्याएका थिए।

सन् २०१३ देखि नै राष्ट्रपति सीले साझा भविष्यसहितको एसिया प्रशान्त समुदाय निर्माणको अवधारणालाई बारम्बार प्रकट गर्दै आएका छन्। सीले चीनको राष्ट्रपतिको हैसियतमा पहिलोपटक २०१३ इन्डोनेसियाको बालीमा आयोजित एपेकमा सहभागिता जनाएका थिए। त्यहाँदेखि अटुट रूपमा एपेक सम्मेलनमा सहभागिता वा अध्यक्षता ग्रहण गर्दै एसिया प्रशान्त सहकार्यका लागि चिनियाँ ज्ञान बाँड्दै आएका छन्।

उनले एसिया प्रशान्त क्षेत्रको विकासका लागि चीनको योगदानलाई उपयोग गर्नुपर्नेमा जोड दिँदै सबै पक्षलाई खुला, समावेशी, नवप्रवर्तन र विकास, पारस्परिकता र साझा जित सहयोगको साझा भविष्यको एसिया प्रशान्त समुदायको संयुक्त रूपमा निर्माण गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति सीका अनुसार चीन एसिया प्रशान्त परिवारको एक सदस्य हो। चीनको विकास एसिया प्रशान्तबाट सुरु भएको हो र यसबाट लाभ हासिल गरेको छ। साथै चीनले एसिया प्रशान्तलाई निरन्तर रूपमा फाइदा पुर्‍याउनेछ।

लिमामा नोभेम्बर १५ मा आयोजित एपेक उद्योग तथा वाणिज्य शिखर सम्मेलनलाई सम्बोधन गर्दै सीले सिंगो एसिया प्रशान्त क्षेत्र आर्थिक भूमण्डलीकरणको ढाँचामा गाँसिएको, अहिले साझा हित र साझा भविष्यका साथ अन्योन्याश्रित समुदाय भएको बताए। ‘अर्कोतर्फ विश्व अशान्ति र रूपान्तरणको नयाँ युगमा छ’, सीले भने, ‘आर्थिक भूमण्डलीकरणको गम्भीर चुनौती एउटा नदीमा यात्रा गर्नु जस्तै हो, हामी या त अगाडि बढ्छौँ वा तलतिर जान्छौँ।’

चिनियाँ राष्ट्रपतिले कठिन समयमा अझ बढी आत्मविश्वासको खाँचो रहेको बताएका छन्। ‘आर्थिक भूमण्डलीकरणले थप सकारात्मक परिणाम उत्पन्न गर्दछ र यसलाई अधिक गतिशील, समावेशी र दिगो नयाँ चरणमा लैजानुपर्छ’, उनले भने।

आर्थिक सहयोगलाई अवरुद्ध गर्ने र विश्वको अन्योन्याश्रित सम्बन्ध तोड्ने प्रयास पछाडि धकेल्नेबाहेक अरू केही नभएको उनको भनाइ छ। उनले विकासशील देशहरूलाई विज्ञान र प्रविधिको क्षमता अभिवृद्धिमा सहयोग गर्न र ज्ञान र प्रविधिको विश्वव्यापी प्रवाहलाई बढावा दिन पनि आग्रह गरे।

चीनले उच्च गुणस्तरीय विकासलाई बढाउनेछ। हरित विकासको मार्गलाई निरन्तर पछ्याउनेछ र चीनले उच्चस्तरीय खुला अर्थतन्त्रको नयाँ प्रणालीको निर्माण गर्ने, अझ बढी स्वतन्त्र खुला र एकपक्षीय खुला नीति प्रस्तुत गर्ने, विश्वका सामु उच्च मापदण्डको स्वतन्त्र व्यापार क्षेत्र सञ्जालको विस्तार गर्ने गरी निरन्तर रूपमा विश्वसँग चीनको विकास अवसर बाँड्नेछ।

एसिया प्रशान्त क्षेत्रका जनताको हितका लागि एसिया प्रशान्त सहयोगलाई प्रगाढ बनाउन सबै पक्षसँग मिलेर काम गर्न तत्पर रहेको चीनले फेरि एकपटक एपेकको आयोजना पनि गर्ने भएको छ। सन् २०२६ मा चीन एपेकको आयोजक मुलुक बन्ने भएको छ।

अन्त्यमा, सन् १९९१ मा आबद्ध भएदेखि नै चीनले छिमेकी देशहरूसँगको आर्थिक सम्बन्धलाई गहिरो बनाउन, खुला बजार र साझा समृद्धिलाई समर्थन गर्ने नीतिहरूको वकालत गर्न एपेकलाई सघाएको छ। चीनमा सुधार तथा खुलापन लागू भएपछि एपेक चीनले भाग लिएको पहिलो क्षेत्रीय आर्थिक सहयोगात्मक संगठन हो र चीनले आर्थिक भूमण्डलीकरणको क्रममा गहन रूपमा भाग लिएको एउटा महत्त्वपूर्ण मञ्च पनि हो।

चीनले एपेकलाई आफ्नो आर्थिक हितलाई अगाडि बढाउने मञ्चको रूपमा मात्र नभई खुलापन, साझेदारी तथा बहुपक्षीयता र साझा भविष्य र साझा जितका अवसरका रूपमा लिएको छ। व्यापार, नवप्रवर्तन, हरित प्रविधि र दिगो विकासमा ध्यान केन्द्रित गर्दै तथा साझा जीत हुने एसिया प्रशान्त क्षेत्रको संयुक्त भाग्य समुदायको निर्माण गर्ने धारणासहित चीन अघि लागेको छ।

प्रकाशित: ३ मंसिर २०८१ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast