तस्बिरमा भाइटीका

हिमाल प्रेस १८ कार्तिक २०८१ १६:१५
28
SHARES
तस्बिरमा भाइटीका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटीका ग्रहण गर्दै। तस्बिर : रासस

काठमाडौँ- यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आइतबार भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइएको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन्। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट भाइटीका ग्रहण गर्दै। तस्बिर : रासस

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ। लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिएका छन्।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बहिनी सुशीला खड्काबाट भाइटीका लगाउँदै। तस्बिर : रासस

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।

दिदीबहिनी नहुनेका लागि भाइटीकाका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका दिनमात्र खुल्छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाएका छन्।

वर्षको एकपटक यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन भाइटीकाको दिनमात्रै खुल्ने काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा दर्शन एवम् टीका ग्रहण गरी फर्कंदै सर्वसाधारण। तस्बिर : रासस
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित न्युरोडका स्थानीयबासी तिहारको अन्तिम दिन दिदिबहिनीले दाजुभाइलाई भाइटीका लगाइँदै। तस्बिर : रासस
तराई मधेशको गाउँ बस्तीमा तिहार एवं यमपञ्चक पाँचौँ दिन आइतबार भाइटीकाका गरिँदै। तस्बिर : रासस
प्रकाशित: १८ कार्तिक २०८१ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast