लापत्ता सन्तान : वृद्धाश्रम पुगेकी आमाको कथा

हिमाल प्रेस १३ कार्तिक २०८१ १३:५४
74
SHARES
लापत्ता सन्तान : वृद्धाश्रम पुगेकी आमाको कथा

काठमाडौँ- ह्विलिचयरमा एक बालकले आमालाई डोर्‍याउँदै गरेको दृश्य देखेर वृद्धाश्रममा दिन गुजारिरहेकी शान्ति भावुक हुन्छिन्। अनि आफू वृद्धाश्रम आउनुपरेको ती दिन सम्झिन्छन्। उनलाई छोराबुहारीको झलझली याद आउँछ।

अशक्त भएपछि लठ्ठी बन्ला भनेर शान्तिले बुढेसकालमा छोरा समीर जन्माएकी थिइन्। गहना र खेत बेचेर छोरालाई डाक्टर बनाउन उनले पतिलाई निकै सम्झाउनुपरेको थियो। उनले सोचेजस्तै छोरो डाक्टर बन्यो। सहरमा घर बनाउन सफल भयो। बिहे गर्‍यो। शान्ति गाउँको थातथलो छोडेर छोराबुहारीसँगै बस्न थालिन्। छोराबुहारीको व्यस्ततालाई उनका लागि घर त्यति अनुकूल भएन। अनि छोराबुहारीले वृद्धाश्रममा पुर्‍याइदिए।

वृद्धाश्रममा परिवारको सम्झनाले तड्पिएर बसेकी उनी घर फर्किन चाहन्छिन् तर छोरा लिन कहिले आउने? उसले नै आश्रममा छोडेर गएको छ। मन शान्त नभएपछि उनी आश्रमबाट निस्किन्छिन्। अकस्मात् दुर्घटनामा पर्छिन् र अस्पतालमा आफ्नो प्राण त्याग्छिन् त्यही अस्पतालमा उनको छोरा डाक्टर समीर कार्यरत  छ।

आमालाई मृत अवस्था देखेपछि समीर पछुताउँछ। बाआमाले आफ्ना लागि गरेका त्याग सम्झिँदै आँसु बगाइरहन्छ। २० मिनेट ३५ सेकेन्डको छोटो फिल्म ‘लापत्ता सन्तान’मा सन्तानका लागि बाआमाकाे संघर्ष र वृद्धअवस्थामा उनीहरूले आश्रम पुर्‍याउने दर्दनाक अवस्थाको चित्रण गरिएको छ।

फिल्मका निर्देशक रामजी ज्ञवाली हुन्। फिल्मको कथा पनि उनले नै लेखेका हुन्। जल्दोबल्दो सामाजिक परिवेशलाई मुख्य कथावस्तु बनाइएको फिल्म ‘लापत्ता सन्तान’ ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। कथा वर्तमान समय र यथार्थ घटनामा बनेको भन्दै दर्शकले पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

फिल्ममा आमाको भूमिकामा रश्मी भट्ट छिन्। अन्य कलाकारहरूमा ओजस्वीविक्रम विष्ट, आशिष पराजुली, अर्जुन आचार्य, सविना राउत, नीलम भट्ट र मनीष प्रीतम निरौलाको अभिनय छ। निर्देशक ज्ञवालीकै लगानी रहेको फिल्म निरज कंडेलको छायांकन र नहकुल खड्काको सम्पादनमा बनेको छ।

यस्तो छ फिल्म

प्रकाशित: १३ कार्तिक २०८१ १३:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast