कांग्रेसले भन्यो : रास्वपाले विधिको शासनमाथि अवमूल्यन र उपहास गर्‍यो

हिमाल प्रेस ७ कार्तिक २०८१ १५:१२
20
SHARES
कांग्रेसले भन्यो : रास्वपाले विधिको शासनमाथि अवमूल्यन र उपहास गर्‍यो मीन विश्वकर्मा

काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीले विधिको शासनमाथि अवमूल्यन र उपहास गरेको आरोप लगाएको छ। आफ्नो पार्टीका सभापति पक्राउ पर्दा रास्वपाका नेता कार्यकर्ताले न्यायीक प्रक्रियालाई असहयोग गरेको भन्दै कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन्।

‘कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानविन र न्यायिक प्रकृयालाई सहयोग पु-याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन बढी जिम्मेवारी हुनु पर्दछ,’ विकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भैरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ।’

रास्वपाका सभापति रवि लामिछानेलाई गत शुक्रबार काठमाडौँबाट पक्राउ गरी कास्कीको पोखरा पुर्‍याइएको छ। उनीमाथि सहकारीका बचतकर्ताको रकम अपचलन गरेको गम्भीर आरोप छ।

त्यस्तै रविको बचाउमा रास्वपाले ठाउँठाउँमा गरेको प्रदर्शनप्रति पनि कांग्रेसले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। ‘सहकारी ठगी प्रकरणमा केही दिन अघि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेका समर्थकहरूले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि भैरहेकोले यस्ता अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

यस्तो छ विज्ञप्ति 

सहकारी ठगी प्रकरणमा केही दिन अघि अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेका समर्थकहरूले गरिरहेको हुल–हुज्जत र सडक प्रदर्शनले न्यायिक प्रकृयामा हुने प्रारम्भिक अनुसन्धानलाई नै प्रभावित गर्ने र राज्यका तटस्थ निकायहरूलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने गतिविधि भैरहेकोले यस्ता अनुचित क्रियाकलापप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ। राज्यका वैधानिक निकायबाट भैरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता र सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पुर्‍याउने गतिविधि प्रति नेपाली कांग्रेस गम्भीर आपत्ति व्यक्त गर्दै भर्त्सना गर्दछ।

कानून सबैका लागि समान हुन्छ र हुनु पर्छ। विधिको शासन भनेको कानूनका दृष्टिमा सबै नागरिक बराबरी हुनु हो। मुलुकका केही सहकारी संस्थामा रकम जम्मा गर्ने बचतकर्ताको बचत हिनामिना भएको, उक्त रकम बचतकर्ताले फिर्ता नपाएको र उक्त रकमहरू कानून विपरीत सहकारी संचालकहरूले निजी कम्पनीमा समेत दिई अपचलन गरेको भन्ने व्यापक गुनासो आएको र केही सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका संचालकहरू— जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध विभिन्न निकायमा उजुर परेता पनि छानविन प्रकृया अगाडि नबढेको हुँदा  प्रतिनिधि सभाका सांसदहरूले गृहमन्त्री स्वयं संलग्न रहेकोले प्रहरी प्रशासनले समयमा छानविन गर्न नसकिरहेको अवस्थामा प्रतिनिधि सभाबाट छानविनका लागि सहकारी छानविन संसदीय विशेष समिति गठन भयो। उक्त समितिले विस्तृत अध्ययन पश्चात दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकोले  वर्तमान मन्त्रिपरिषद्ले निर्णय गरी उक्त प्रतिवेदन कार्यान्वयनको प्रकृयामा रहेको व्यहोरा सबैमा अवगत नै छ।

प्रतिवेदनले कार्वाहीका लागि सिफारिश गरेका संलग्न विभिन्न आरोपित व्यक्तिहरूलाई सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिनै रहेको छ। आरोपितहरूमध्ये गोर्खा मिडिया कम्पनीका संचालक जीबी राई फरार रहेको, छविलाल जोशी केही समय पहिल्यै पक्राउ परी अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन्। सोही प्रकरणमा जोडिएका अर्का आरोपित व्यक्ति रवि लामिछाने पनि केही दिन पहिले पक्राउ परी अनुसन्धानका लागि प्रहरी हिरासतमा नै रहेका छन्। कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानविन र न्यायिक प्रकृयालाई सहयोग पुर्‍याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन बढी जिम्मेवारी हुनु पर्दछ। तर राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा भैरहेको गतिविधिहरूले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ।

प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरू माथि समान ढंगले अनुसन्धान गरी कानूनी दायरामा ल्याउनु पर्छ भन्ने मान्यताप्रति हाम्रो पार्टी प्रतिवद्ध छ। विधिको शासन कायम गर्न, न्यायिक प्रकृयालाई विश्वसनीय बनाउन, न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाई राख्नु हामी सबैको कर्तव्य भएकोले हुनाले उत्तेजित र उच्छृङ्खल गतिविधि नगरी संयमित भई अनुसन्धान र न्यायिक प्रकृयामा सहयोग पुर्‍याउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकमा हार्दिक अपिल गर्दछौं।
 

प्रकाशित: ७ कार्तिक २०८१ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =