इरान-इजरायल-लेबनान युद्ध : बंकरमा लुकेर ज्यान जोगाउँदै नेपाली कामदार

रमेश भारती १८ असोज २०८१ १२:१६
48
SHARES
इरान-इजरायल-लेबनान युद्ध : बंकरमा लुकेर ज्यान जोगाउँदै नेपाली कामदार सिरियाको दमास्कसमा इरानले हालै गरेको मिसाइल आक्रमण। तस्बिर : रासस/सिन्हवा

काठमाडौँ- इरान-इजरायल र लेबनानबीचको त्रिपक्षीय युद्ध हुन थालेपछि ती देशमा कार्यरत नेपाली त्रसित बनेका छन्। युद्ध हुन थालेपछि बंकर र अन्डरग्राउन्डमा लुकेर ज्यान जोगाएको इजरायल र लेबनानमा कार्यरत नेपालीले  बताएका छन्। इजरायलमा इरानले मंगलबार साँझ आक्रमण गरेको हो।

झापा चारआलीकी कविता क्षेत्री इजरायलको राजधानी तेल अभिभस्थित एउटा घरमा कार्यरत छिन्। उनले बंकरभित्र लुकेर ज्यान जोगाएको बताइन्।

मंगलबार बंकर पुगेको दुई मिनेटभित्रै इजरायलको आकाशमा मिसाइल (क्षेप्यास्त्र) पड्किएको आवाजले त्रसित बनाएको उनले बताइन्। उनले फेसबुक म्यासेन्जरमार्फत हिमालप्रेससँग भनिन्, ‘गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा यति डर लागेको थिएन, मंगलबार त्योभन्दा बढी डर लाग्यो। यस्तै आक्रमण भयो भने बाँचिँदैन होला।’ उनले स्वदेश फर्किने वातावरण बनाउन सरकारसँग माग गरेकी छन्।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा १० नेपालीसहित करिब १२ सय जनाको मृत्यु भएको थियो।

इजरायलको राजधानी नजिकै केयरगिभरमा कार्यरत धादिङकी सविता थापाका अनुसार मंगलबार आकाशभरि मिसाइल देखियो। साइरन बजेपछि सबैजना बंकरमा लुक्न पुगेका थिए।

इरानबाट आएको मिसाइलको आवाज गत अक्टोबर ७ कोभन्दा फरक सुनिएको उनले बताइन्। ‘मिसाइल जमिनमा झर्दा लुकेको घरै हल्लिएको थियो। सहरमा मान्छेहरू चिच्याएका थिए। हाम्रो मालिक र उनका नाति बेहोस भए,’ उनले भनिन्।

प्यालेस्टाइन र इजरायलको निरन्तरको लडाइँभन्दा इरानको आक्रमण डरलाग्दो रहेको इजरायलमा कार्यरत नेपालीको भनाइ छ। दुई सातादेखि हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्रता दिइ हिजबुल्लाह र हमासका सैन्य अधिकारी मारिएपछि इरानले इजरायलमाथि आक्रमण सुरु गरेको हो।

क्षेप्यास्त्र तेलअभिभबाट करिब १६ सय किलोमिटरको दुरीमा रहेको इरानको तेहरानबाट प्रहार भएको बीबीसीले जनाएको छ। १ सय २५ किलोमिटर दुरीमा रहेको इजरायल-लेबनानको सीमा क्षेत्रबाट हिजबुल्लाह र ८५ किमि दूरीमा रहेको गाजापट्टीबाट हमास लडाकुले प्रहार गरेको क्षेप्यास्त्रले इजरालयको राजधानीमा बसोबास गर्दै आएका नागरिकलाई त्रसित बनाएको थियो।

इरानी सञ्चारमाध्यमका अनुसार तेहरानले मंगलबार नयाँ क्षेप्यास्त्र ‘फताह–१’ प्रयोग गरेको दाबी छ।

इजरायलमा करिब पाँच हजार नेपाली केयरगिभरका रूपमा कार्यरत रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। तीमध्ये धेरै महिला छन्। इजरायल कृषिमा काम गर्दै सिक्न नेपाली विद्यार्थी जान्छन्। हमास हमलापछि गत वर्ष केही विद्यार्थी स्वदेश फर्किएकमा थिए। त्यसपछि कृषि क्षेत्रमा नयाँ श्रमिकलाई औपचारिक रूपमा लगिएको छैन। भारतको बाटो हुँदै केही नेपाली इजरायल पुगेका छन्।

बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी लेबनानमा रहेका नेपालीलाई अधिकतम सतर्कता अपनाउन आग्रह गरेको थियो। सरकार त्यहाँ कार्यरत कामदारको अवस्था कस्तो छ भनेर खुलेर बताउन सकेको छैन।

मन्त्रालयका अनुसार हालसम्म लेबनानमा सबै नेपाली सुरक्षित छन्। इजरायलमा समेत अहिलेसम्म कोही नेपाली समस्यामा परेको खबर नआएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए। ‘इजरायल र लेबनानमा रहेका नेपाली सुरक्षित छन्। समस्यामा परे उद्धार गर्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने।

मन्त्रालयले इजिप्टको कायरोमा रहेका दीपक घिमिरेलाई २०१०७७७२३४८ नम्बरमा ह्वाट्सएपमार्फत, बेरुतमा मोहम्मद गोजायललाई ९६१३३०११८१, ९६१७१६८८८२१ र ९६१८१८८३७१३ नम्बरमा र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्रीकृष्ण सिलवाललाई ९८४९१७९५२० नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।

इरानले क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायलमा कार्यरत नेपाली त्रासमा रहेको गैरआवासीय नेपाली संघ इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले बताए। उनले भने, नेपालीहरू सुरक्षित भए पनि त्रासमा बाँचिरहेका छन्। गत वर्ष हमासले अप्रत्याशित हमला गर्दा इजरायलको सुरक्षा प्रणालीले काम गरेन। इजरायलले सुरक्षा दिन्छ भनेर बस्ने अवस्था छैन’, उनले भने।

प्रकाशित: १८ असोज २०८१ १२:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 3 =