सन्दर्भ : राष्ट्रिय पुस्तकालय दिवस

रिक्साचालकदेखि मन्त्रीसम्मले रुचाएको हिमालय बुक हाउस

विनोद परियार १५ भदौ २०८१ १०:२८
400
SHARES
रिक्साचालकदेखि मन्त्रीसम्मले रुचाएको हिमालय बुक हाउस ‘हिमालय बुक हाउस’ को पुस्तकालयमा अध्ययनरत राजनीतिज्ञ सरिता श्रीस। तस्बिर विनोद : परियार

लुम्बिनी– नयाँ पुस्ता डिजिटल दुनियाँमा रमाइहेको छ। पुस्तकका पानामा होइन मोबाईल र ल्यापटपमै आँखा गडिरहन्छ। बुटवलमा भने एउटा यस्तो पुस्तकालय छ जहाँ पाठकहरु मोबाइल र ल्यापटपमा होइन पुस्तककै पाना पल्टाइरहेका हुन्छन्, पुस्तकमै आँखा गाडिरहेका देखिन्छन्। त्यो ठाउँ हो ‘हिमालय बुक हाउस’।

बुटवल मिलनचोकमा छ यो बुक हाउस। यहाँ सामान्य रिक्सा चालकदेखि, चिकित्सक, शिक्षक, पत्रकार, इन्जिनियर, सांसद र मन्त्रीम्म हिमालय बुकमा भेटिन्छन्। बुटवलका पुराना पुस्तकालय करिबकरिब बन्दकै अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा २०६४ सालदेखि पुस्तक पसलसँगै पाठक जगाउने काममा लागेका छन् हिमालय बुक हाउसका सञ्चालक माधव गौतम।

‘पुस्तौँदेखि पुस्तकसँग जोडिए, यो मेरो रुचिको व्यवसाय हो’, गौतम भन्छन्, ‘आकर्षण त घटेको छ, तर पुस्तक पसल पाठकको चौतारी बनेको छ।’

त्यसो त गौतमका बुवा खेमराजले भारतको मेघालयमा ‘हिमालय बुक स्टल’ सञ्चालन गरेका थिए। यही नामबाट उनका दाजु अनिलले काठमाडौँ डिल्लीबजारमा पुस्तक पसल चलाइरहेका छन्। बुवा र दाजुसँगै बुटवलमा माधवले पुस्तक पसल चलाएका हुन्। माधवले पुस्तक पसल मात्रै चलाएका छैनन्, पाठक अभावमा सुक्दै गएका पुस्तकालयप्रति आशा पनि जगाइदिएका छन्।

हिमालय बुक हाउसबाट किताब मात्रै बिक्री हुँदैन। किताबमाथि विमर्श पनि हुन्छ। यति मात्रै होइन, नियमित आउने पाठकहरुबीच पुस्तकको आदानप्रदान गर्ने संस्कार नै बसेको छ। यतिसम्म कि केही यस्ता पाठक छन् जो हिमालय बुक हाउस नपस्दा खाना बिर्सेजस्तो महसुस गर्छन्।

यस्तै पाठकमध्येका एक हुन् बुटवलका वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुंगाना। ढुंगाना बिरामीको उपचारपछि साँझपख हिमालय बुक हाउस आउँछन् र दिनभरिको तनाव बिर्सन्छन्।

ढुंगाना यस्ता पाठक हुन् कुनै पनि नयाँ पुस्तक आउनासाथ किनिहाल्छन्। पेसागत रुपमा उनको दैनिक निकै व्यस्त छ। तर पनि दिनमा कम्तीमा तीन घन्टा पढ्ने उनी बताउँछन्। उनी दिनमा कम्तीमा एकपटक पेसागत तनाव छाडेर यहाँ पस्छन्।

डा. ढुंगाना आफूले मात्रै किताब पढ्ने होइन, उनी कुनै विशेष उत्सव पारेर पुस्तक उपहार दिने र पुस्तकका बारेमा हिमालयमा आएर छलफल पनि गराउँछन्। डा. ढुंगाना मात्रै होइन हिमालय बुक हाउसको नियमित पाठक हुन् राजनीतिज्ञ सरिता श्रीस। ‘यो हाम्रो पुस्तक पसल मात्रै होइन, जमघट हुने र पुस्तकमाथि विमर्श गर्ने थलो पनि हो’, श्रीसले भनिन्, ‘यसैका कारणले पनि बुटवलमा पठन संस्कृतिमा सहयोग गरेको छ भन्ने लाग्छ। पछिल्लो समयमा पढ्ने मानिस निकै कम भइरहेका बेला हिमालय बुक हाउसले पढ्न प्रेरित गरेको उनको बुझाइ छ।

‘किताब स्वार्थ नभएको साथी हो, पानाहरु छुँदा पनि छुट्टै आनन्द आउँछ’, डा. ढुंगाना भन्छन्, ‘हिमालय बुक हाउसले पढ्ने बानीलाई अझ फराकिलो बनाइदिएको छ।’

ढुंगानाको मात्रै होइन बुटवल ९ तीनकुनेका दिलीप ज्ञवालीको पनि पुस्तकालयले लत बसालेको छ। ‘०६८/०६९ सालदेखि निरन्तर आउन थालेको हुँ, समय खाली हुनेबित्तिकै हिमालयमा आएर बस्छु’, उनले भने। यहाँ आएर बसेकै कारण नयाँ नयाँ पुस्तक अध्ययन गर्ने र छलफलमा भाग लिने गरेको उनले सुनाए।

एउटा पुस्ताकालय त्यो पनि निजी क्षेत्रबाट चलेको छ। त्यसले पाठकहरु नजानिँदो तरिकाले बढाइरहेको उदाहरण हिमालय बुक हाउस बनेको बताउँछन् लेखक मनिकर कार्की। ‘यहाँ म पुस्तकको खोजीका लागि मात्रै आउँदिनँ, पुस्तकमाथि हुने छलफल, टीकाटिप्पणी सुन्न पनि आउँछु, यो पाठकहरुको छलफल चौतारी हो’, उनले भने। उनी सहरको सभ्यता, संस्कृति र सहर हुनुको आधार दिलाउन पनि पुस्तक पसल चाहिने बताउँछन्।

बुक हाउसमा आयोजित कार्यक्रममा पाठकहरु।

‘पुस्तक जीवन हो, पुस्तक साथी हो’, उनले भने, ‘त्यही पुस्तक किन्ने, पढाउने र पढ्न प्रेरित गर्ने बुटवलको साझा थलो नै हिमालय बुक हाउस हो।’

देशभरका पुराना पुस्तकालय बन्द हुँदैछन्। निजी क्षेत्रबाट हिमालयले पुस्तक पसलका माध्यमबाट पाठकको खोजी गराइरहेको । कवि भूपेन्द्र खड्का ‘कवि भूपेन’ कृतिका सन्दर्भमा बुटवल आउँदा हिमालय बुक हाउसमै भेटिए। उनले बुटवलमा कवि, साहित्यकार र पाठकका लागि छलफल गर्ने गफ गर्ने साझा चौतारी हिमालय बुक हाउस बनेकोमा खुसी व्यक्त गरे। ‘पुस्तक रुचाउने, पढ्नेहरुका लागि यस्तो ठाउँ जरुरी पर्छ’, उनले भने। बुटवल सांस्कृतिक केन्द्रको बिम्ब हो भन्ने कुरा हिमालय बुक हाउसमा जम्मा हुने पाठकले गराएको उनले बताए।

त्यसो त बुटवलमा पुराना पुस्तकालय नभएका होइनन्। २००४ सालमा स्थापना भएको महावीर पुस्तकालय, २०२३ सालमा स्थापना भएको जागृति पुस्तकालयहरु यहाँ छन्। ती पुस्तकालयहरु परम्परामै सीमित भए।

हिमालयले आधुनिक पुस्ताको रुचिका पुस्तक राख्छ। पाकादेखि नयाँ पुस्ता, विभिन्न पेसागत रुपमा छरिएकाहरुको भावना बुझेर पुस्तकहरु राख्ने गरेको छ। लेखकहरुले सीधै यहीँ नै पुस्तक पठाउँछन्।

‘हिमालय पुस्तक पसल मात्रै होइन, बटौलीका लागि साहित्यकारहरुको चारधाम हो, मक्कामदिना हो, पशुपतिनाथ हो’, बुटवलका कवि लेखक गिरी श्रीसको टिप्पणी छ। उनले हिमालय बुक हाउसले आफ्नो एकल कविता वाचन राखेर लिटरेचर फेस्टिबलसमेत गराएको स्मरण गरे। खास खास मान्छेहरु आउने थलोका रुपमा हिमालय चिनिएको उनले बताए। कवि श्रीसले भनेजस्तै बुटवलबाट पश्चिम लाग्दा होस् या पूर्व लाग्दा हिमालय बुक हाउसको बाटो काट्दैनन् लेखक कविहरु। आन्विका गिरी, विवेक ओझा, कुमार नगरकोटी यहाँ नपसी जाँदैनन्।

बुक हाउसका सञ्चालक माधव गौतम, कवि भूपेन्द्र खड्का लगायत।

मदन पुरस्कार विजेता नीलम कार्की निहारिका, रामलाल जोशी, पदमश्री पुरस्कार पाएक केशव ज्ञवालीले यहाँ पाइला टेकिसकेका छन्। बुटवलका साहित्यकारहरु जंगबहादुर शाह, दिल साहनी, ऋषिराम भुसाल, वनमाली निराकार, विजय सागर, रुद्र ज्ञवाली, दलबहादुर गुरुङ, गजलकार बुँद राना, रामचन्द्र श्रेष्ठ, पत्रकार लेखक मदनलाल पौडेल, दुर्गा पौडेल नियमित आइरहन्छन्।

पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, सभामुख तुलाराम घर्ती मगर, पूर्वसांसद नेत्र पन्थी, हिमालय पुस्ताकालयमा आइरहनेमा पर्छन्। यसैगरी वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुंगानासहित नेत्र राना, राजेन्द्र खनाल वर्षा थापा, इन्जिनियर कुसुम ज्ञवाली, अर्जुन खनाल, अधिवक्ताहरु तेजप्रसाद कँडेल नियमित पुस्तकालय आउने व्यक्तिहरु हुन्।

हिमालयमा धार्मिकदेखि राजनीतिक, इतिहास, अनुसन्धानमूलक कृति, साहित्यिक कृतिहरु, भारतीय साहित्यका पुस्तकहरु पाइन्छ। यतिसम्म कि किताब विमोचन र बिक्रीका लागि लेखकहरुले सम्झिने गरेको सञ्चालक गौतमको भनाइ छ।

उनी भन्छन्, ‘पुस्तकालय जताततै बन्द हुँदैछन् तर म पुस्तकालयसँगै पठन संस्कृतिको विकास गर्दै जाँदा पाठक थपिन्छन् भन्ने विश्वास लिएको छु।’


प्रतिक्रिया

One thought on “रिक्साचालकदेखि मन्त्रीसम्मले रुचाएको हिमालय बुक हाउस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =