सदन र सडकमा बलियो दख्खल राख्ने निर्णय गर्दै सकियो जसपा नेपालको बैठक

हिमाल प्रेस ३० साउन २०८१ १७:०९
18
SHARES
सदन र सडकमा बलियो दख्खल राख्ने निर्णय गर्दै सकियो जसपा नेपालको बैठक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ- सदन र सडकमा बलियो दख्खल राख्दै संगठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमिति बैठक बुधबार सकिएको छ।

जसपा नेपालको केन्द्रीय समिति बैठक साउन २७ गतेदेखि ललितपुरमा सुरू भएको थियो। जनकपुरधाम महाधिवेशनपछि नवगठित केन्द्रीय समितिको यो पहिलो बैठक हो। चार दिनसम्म चलेको केन्द्रीय समिति बैठकले पाँच लाख क्रियाशील सदस्य पुर्‍याउने गरी लक्ष्य र कार्यदिशा निर्धारण गरेको जसपा नेपालले जनाएको छ।

हाल संघ र प्रदेशको सत्ताबाट बाहिर रहेको जसपा नेपाल संगठन निर्माणका साथै आगामी निर्वाचनतर्फ केन्द्रित हुने निर्णय केन्द्रीय समिति बैठकले गरेको नेताहरूले बताएका छन्।आगामी निर्वाचनमा जसपा नेपाललाई बलियो शक्तिको रूपमा स्थापित गर्नेगरी भुइँतहका जनताबीच होमिन अध्यक्षले निर्देशन दिएको केन्द्रीय सदस्य रामकुमार शर्माले बताए।

बैठकले अध्यक्ष यादवले प्रस्तुत गरेको राजनीतिक, सांगठनिक एवं जनअभियानको प्रतिवेदन सुभावसहित सर्वसम्मतिले पारित गरेको छ। त्यस्तै भूगोल, क्षेत्र, योग्यता, क्षमता र विविधताका आधारमा संगठन निर्माण एवं जनअभियानका लागि बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ।

आगामी भदौ ९ गते काठमाडौँमा औपचारिक कार्यक्रम गरी जसपा नेपालका अध्यक्ष यादवले जनअभियान कार्यक्रमको सुरूवात गर्ने भएका छन्। प्रथम चरणमा यो जनअभियानमा चार महिनाका लागि मंसिर मसान्तसम्मको सयम तोकिएको छ। जसपा नेपालले पाँच लाख सक्रिय सदस्य पुर्‍याउने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twenty =