ट्राफिक नियम मान्दैन सिंहदरबार [तस्बिरहरू]

रमेश भारती २८ साउन २०८१ १२:१५
82
SHARES
ट्राफिक नियम मान्दैन सिंहदरबार [तस्बिरहरू]

काठमाडौँ- सिंहदरबार मुलुकको प्रशासनिक केन्द्र हो, जहाँ देशका कार्यकारी प्रमुखको कार्यालय छ। स्वास्थ्य तथा जनसंख्याबाहेक अन्य सबै मन्त्रालय सिंहदरबारभित्रै छन्। सरकार प्रमुख प्रधानमन्त्री मात्रै होइन, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, कानुन निर्माता र कार्यान्वयन गर्ने कर्मचारीका हाकिमको अड्डा हो सिंहदरबार।

विशिष्ट व्यक्तिहरूको कार्यालय रहेकाले दैनिक सिंहदरबार पुग्ने सर्वसाधारण, नेताकार्यकर्ता, सेवाग्राही बाक्लै हुन्छन्। विदेशी कूटनीतिक अधिकारीहरूको पनि सिंहदरबार आउजाउ भइरहन्छ। त्यही सिंहदरबारमा ट्राफिक नियम भने लाग्दैन। सरकारी, निजी र विदेशी नियोगका गाडीहरू जहाँ पायो त्यहीँ पार्किङ गरिएको देखिन्छ। त्यसरी रोकिएका सवारीसधानमा न बग्गीखानाबाट खटिएका ट्राफिक कारबाही गर्ने हैसियत राख्छन् न त्यहाँ काठमाडौँ महानगरपालिकाका प्रहरीको नै पहुँच पुग्छ।

अव्यवस्थित सवारी पार्किङले सिंहदरबार परिसर अस्तव्यस्त बनेको छ। सडकपेटीमा जथाभाबी पार्किङ गरिँदा पैदल यात्रा गर्ने कर्मचारी र सेवाग्राही मर्कामा परेका छन्। सडकपेटीमा पनि मोटरसाइकल र कार पार्किङ गरिएको हुन्छ। ‘नो पार्किङ’ लेखिएको बोर्डलाई पनि चालकहरूले वास्ता गरेको पाइँदैन।

निजी नम्बर प्लेटका मात्रै होइनन्, सरकारी, विकास साझेदार संस्था र विदेशी गैरसरकारी संस्थाका सवारीसाधन पनि जथाभाबी पार्किङ गरिएको छ। सडकपेटीमा सवारीसाधन पार्किङ गरेपछि सेवाग्राही र कर्मचारी बीच बाटोबाट हिँड्न बाध्य छन्। सिंहदरबार परिसरमा आइतबार भेटिएका एक सेवाग्राहीले भने, ‘सिंहदरबार त ट्राफिक नियम मान्दो रहेनछ। अरू कुन नियम पालना गर्ला र?’

सिंहदरबार ट्राफिक प्रहरी नखटिएका भने होइनन्। तर उनीहरू पनि आजित छन्। अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्न मुस्किल परेको गुनासो  ड्युटीमा रहेका एक  ट्राफिक प्रहरीले गरे।

मन्त्री, नेता, सचिव र ठूलाबडालाई जथाभाबी पार्किङ नगर्न आग्रह गर्दा अटेर गर्ने गरेको उनको भनाइ छ। आफूले सलाम गरेका व्यक्तिलाई सिकाउन अप्ठ्यारो भएको उनले बताए। ती ट्राफिक प्रहरीले भने, ‘सिंहदरबारभित्र ठूला व्यक्तिहरूले ट्राफिक नियम मिच्ने गरेका छन्। उनीहरूलाई सामान्य ट्राफिक नियम सिकाउन मुस्किल छ।’

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता विश्वराज खड्काले सिंहदरबारको पार्किङमा रहेको समस्या समाधानका लागि छलफल भइरहेको बताए। उनले भने, ‘समस्या समाधानमा पटकपटक कुरा उठाउँदै आएको छु। यसलाई गृह मन्त्रालयका अधिकारीहरूले गम्भीर रूपमा लिनुभएको छ। चाँडै समाधान होला।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले सिंहदरबारमा पार्किङस्थल निर्माणको खाका पाँच वर्षअघि नै मन्त्रिपरिषद्‌मा पठाइए पनि कार्यान्वयन नभएको बताए। सिंहदरबारभित्र पार्किङ समस्या समाधान गर्न सबै मन्त्रालयबीच पटकपटक छलफल भए पनि समाधान हुन नसकेको उनले बताए।

  

प्रकाशित: २८ साउन २०८१ १२:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + thirteen =