बालिकाको बीभत्स हत्यापछि शोकमा छ पचरुखी

विवेक विवश रेग्मी २७ साउन २०८१ २०:२४
122
SHARES
बालिकाको बीभत्स हत्यापछि शोकमा छ पचरुखी

इटहरी- गाउँघर चकमन्न छ। स्थानीयवासी एकअर्कामा कानेखुसी गर्न सक्ने अवस्थामा समेत छैनन्।

शनिबार दिउँसो ३ बजेतिर इटहरी-५ पचरुखीमा स्थानीय ३० वर्षीय सालिग्राम लुइँटेलले आफ्नै भतिजीको क्रूर हत्या गरेको घटनापछि यो क्षेत्रका वासिन्दा भावविह्वल अवस्थामा छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले घटनामा संलग्न सालिग्रामलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए। उनका अनुसार आइतबार जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको हो।

‘डिप्रेसनको बिरामी रहेका सालिग्रामले आफ्नै भतिजीको हत्या गरेको खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो,’ उनले भने, ‘घटनास्थल बीभत्स अवस्थामा थियो। त्यही क्रममा घटनास्थलबाटै हत्यामा संलग्नलाई पक्राउ गरेका हौँ।’

प्रहरीका अनुसार मृतक नाबालिका र पक्राउ परेका सालिग्रामको साइनो काका-भतिजीको हो। घटनामा संलग्नविरुद्ध डिल्लीप्रसाद लुइँटेलले इलाका प्रहरी कार्यालय इटहरीमा आइतबार जाहेरी दिएका छन्।

स्थानीय मनहरी ढकालको घरमा कोठा भाडामा बस्दै आएका सालिग्रामले शनिबार घरमा कोही नभएको मौकामा बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार मृतक बालिकाकी आमा इटहरीस्थित हङकङ मार्केटमा कपडा पसल गर्दै आएकी थिइन्। मृतकका बुबा नवराज भने वैदशिक रोजगारीको सिलसिलामा देशबाहिर छन्। ‘बालिकाकी आमाले सासूआमाको साथमा छोरीलाई छाडेर पसल जाने गरेकी रहिछन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, ‘शनिबार मृतक बालिकाकी हजुरआमा आफ्नी छोरीकहाँ गएको र उनका श्रीमान (बालिकाका हजुरबा)सँग छाडेर गएका रहेछन्।’

बालिकाका हजुरबुबा घर वरिपरि रहँदा नै उक्त घटना भएको प्रहरी स्रोतले जनाएको छ। ‘हजुरबुबाले नातिनी नदेखेपछि खोजी गर्ने क्रममा घटना भइसकेको रहेछ,’ ती प्रहरीले भने, ‘पछि ढोका थुनेको पाइएपछि झ्यालबाट हेर्दा उक्त घटना भएपछि मात्रै प्रहरीलाई खबर भएको थियो।’ प्रहरीका अनुसार घटनास्थल बीभत्स अवस्थामा थियो।

उक्त परिवारमा चार भाइ छोरामध्ये घटनामा संलग्न सालिग्राम कान्छा छोरा हुन्। परिवारमा जेठो र माइलो छोरा छुट्टिएर बसेका छन् भने साइँला र कान्छा सँगै थिए। जसमध्ये साइँला छोरा नवराजकी छोरी साइन्सुको हत्या भएको हो।

परिवारका सबै जनाको इटहरीस्थित हङकङ मार्केटमा कपडा पसल छ। लुइँटेल परिवारका जेठी, माइली र साइँली बुहारीसहित घटनामा संलग्न सालिग्रामको कपडा पसल थियो। ‘एकैठाउँ पसल थियो। शनिबार सालिग्राम किन हो पसल गएका रहेनछन्,’ स्थानीयवासी एक महिलाले भनिन्, ‘अरू भाइ कोही विदेश छन्, कोही छुट्टिएर बसेका छन्। माइली बुहारी त्यही घरको अर्को कोठामा छुट्टिएर बस्दै आएकी थिइन्। साइँली बुहारी र कान्छा छोरासहित बुबाआमा बस्दै आएका थिए।’

लुइँटेल परिवारले आफ्ना चारै भाइ सन्तानका लागि एक-एक वटा घडेरी पनि किनिदिएका थिए। परिवार राम्रै चलिरहँदा अचानक अनपेक्षित घटना हुँदा परिवारजन हाल सम्हालिन नसकेको स्थानीयवासीको भनाइ छ।

नवराज भने करिब एक वर्षअघि मात्रै वैदेशिक रोजगारीमा गएका हुन्। आठ महिनाको गर्भ छाडेर उनी सन्तानको सुखका लागि विदेश गएको स्थानीयवासी बताउँछन्। तर उनले आफ्नी छोरीको प्रत्यक्ष रूपमा अनुहार भने हेर्न पाएनन्। नवराजको पहिलो सन्तानको रूपमा उनै छोरी थिइन्।

‘यस्ता घटना कहाँ–कहाँ समाचारमा आउँथ्यो, आफ्नै आँखा अगाडि देख्दा रातभर सुत्न सकेकी छैन,’ स्थानीय एक महिला आँशुमिश्रित भावमा भन्छिन्, ‘साइँला छोरा आफ्नो पहिलो सन्तानको खुसीका लागि विदेश गएका थिए होलान्। घटना देखेपछि हामी आफैँ सम्हालिन सकेका छैनौँ। झन् परिवारलाई कस्तो भएको होला?’

मृतक बालिकाको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी आइतबार अन्त्येष्टि गरिएको छ। घटनास्थलबाट प्रहरीले ब्लेड बरामद गरेको थियो। ब्लेड के प्रयोजनार्थ किनिएको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

‘पक्राउ परेकामाथि विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धान गर्दा डिप्रेसन नै मुख्य कारण हो भन्ने खुलेको छ,’ डीएसपी भण्डारीले भने।

प्रहरीको अनुसन्धानबाट सालिग्राम मानसिक रोगी रहेको र करिब तीन वर्षअघि उनी घरको छतबाट हाम्फालेको खुलेको छ। ‘हाल पनि उनी डिप्रेसनको औषधि सेवन गरिरहेका कारण र डिप्रेसनमै रहेका कारण घटना हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी प्रवक्ता भण्डारीले भने, ‘यद्यपि हामीले अनुसन्धान जारी राखेका छौँ। अनुसन्धानबाट थप कुरा खुल्न बाँकी छ।’

प्रकाशित: २७ साउन २०८१ २०:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =