स्थानीय विवाद मिलाउँदा मेलमिलापलाई पहिलो प्राथमिकता दिनुपर्छ : सुनिता डंगोल

हिमाल प्रेस २५ साउन २०८१ १२:३९
14
SHARES
स्थानीय विवाद मिलाउँदा मेलमिलापलाई पहिलो प्राथमिकता दिनुपर्छ : सुनिता डंगोल सुनिता डंगोल

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्।

शुक्रबार काठमाडौँमा स्थानीय (वडास्तरीय) विवाद र निरुपणका विषयमा अन्तर्क्रियात्मक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख डंगोलले महानगरपालिकाले मेलमिलाप केन्द्रबाट स्थानीय विवाद टुंग्याउँदा मेलमिलापलाई पहिलो प्राथमिकतामा राखेर विवाद निरुपण गरिरहेको बताएकी हुन्। उनले न्याय निरुपण गर्दा अक्षरमा के-के छन् भनेर हेर्ने मात्र नभई व्यवहारिक पक्षलाई हेरेर न्याय निरुपण गरिरहेको दाबी गरिन्।

महानगरपालिकाका ३२ वटै वडामा मेलमिलाप केन्द्र सञ्चालनमा रहेको र यसले न्याय निरुपणलाई छिटो, छरितो बनाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। एक वर्षमा केन्द्रको न्यायिक समितिबाट ७० प्रतिशतभन्दा धेरै मुद्दाको निरुपण गरेको उनको भनाइ छ। ७० प्रतिशतभन्दा बढी निरुपण गरिरहँदा प्राथमिकतामा मेलमिलापलाई राखेको उपमेयर डंगोलको भनाइ छ। उपप्रमुख डंगोलले वडादेखि केन्द्रसम्म मेलमिलापबाट समग्रमा ६१ प्रतिशत मेलमिलाप गर्न सफल भएको बताइन्।

उपप्रमुख डंगोलले दिगो रूपमा विवादलाई निरुपण गर्न मेलमिलाप मात्रै एउटा विकल्प हुन सक्ने पनि बताइन्। उनले अर्को वर्ष ८० प्रतिशतभन्दा बढी मेलमिलापबाट विवाद टुंग्याउने स्थितिसम्म पुग्ने दाबी गरिन्। वडा तहमा मेलमिलाप केन्द्रका माध्यमबाट ९० प्रतिशतभन्दा बढी विवाद समाधान गरिसकेको पनि उनले बताइन्।

उपप्रमुख डंगोलले न्यायिक समितिले ४३ हजारभन्दा बढी महानगरबासीलाई वडा-वडामा निःशुल्क कानुनी सहायता दिएको बताइन्। एक महिनामा ३२ सय करिब महानगरबासीले निःशुल्क कानुनी सहायता लिएको उनको भनाइ छ।

प्रकाशित: २५ साउन २०८१ १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =