थाइल्यान्ड-भैरहवा उडान सम्झौताले जागेको आशा

विनोद परियार २५ साउन २०८१ ७:५२
64
SHARES
थाइल्यान्ड-भैरहवा उडान सम्झौताले जागेको आशा

लुम्बिनी– एक वर्षदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयर एसियाले साताको चार दिन उडान गर्ने सम्झौता गरेपछि आशा जागेको छ। नागरिक उड्डयन प्राधिकरणले एयर एसियालाई भैरहवा उडान गर्ने सर्तमा त्रिभुवन विमानस्थलबाट उडानका लागि अनुमति दिएसँगै नियमित उडानको आशा जागेको हो। एयर एसियाको थाइल्यान्डमा भएको विंग्स (थाई एयर एसिया)ले त्रिभुवन विमानस्थलमा साताको ८ उडानका लागि अनुमति माग गरेको थियो।

प्राधिकरणले सातामा चार उडान भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट गर्ने गरी सम्झौता गरेको छ। २० सेप्टेम्बर २०२४ बाट उडान गर्ने गरी अनुमति दिइएको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए। ‘काठमाडौँ र भैरहवा ४/४ उडान गर्ने गरी सम्झौता भएको छ’, प्रवक्ता भुलले भने। उनका अनुसार एक साताभित्र थाई एसियाले भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्थलगत निरीक्षण गरेर कार्यतालिका तय गर्नेछ।

थाई एयरले साताको ४ दिन उडान गर्ने भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तम्तयार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त निर्देशक एव्म प्रवक्ता दीपककुमार बज्राचार्यले बताए। ‘प्राविधिक रूपमा र जनशक्तिका हिसाबले हामी तम्तयार छौँ’, बज्राचार्यले भने, ‘तालिका आउनासाथ यहाँ उडानका लागि कुनै समस्या छैन।’ सम्झौताले अब नियमित उडान हुने विश्वास पलाएको उनले बताए।

‘कुन दिन र कुन समय भन्ने तालिका आइसकेको छैन तर अब भैरहवाको आकाशमा अन्तर्राष्ट्रिय उडान हुने निश्चित भएको छ’, उनले भने।

सरकारको प्राथमिकता भएमा भैरहवाको आकाशमा नियमित उडान गर्न कुनै समस्या छैन। तर संघीय सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र तत्परताको अभावले नियमित उडान हुन सकिरहेको थिएन।

गौतमबुद्ध विमानस्थलमा जाडो महिनामा मौसमका कारण समस्या हुने भए पनि अहिले कुनै पनि खालको अवरोध नरहेको प्रवक्ता बज्राचार्यले बताए। उनका अनुसार लामो समयदेखि उडान नहुनुमा केही केन्द्रीय तहको समस्या र विमान कम्पनीहरुको अनिइच्छा प्रमुख हो।

उनका अनुसार गौतमबुद्धमा एक घण्टामा चार सय यात्रु ओराल्न र उडान गर्न सक्ने गरी संरचना तयार छ। त्रिभुवन विमानस्थल विस्तारका लागि नोभेम्बर ८ बाट विमानस्थल १० घण्टा बन्द हुने भएकाले पनि गौतमबुद्ध विमानस्थलमा नियमित उडान हुने निश्चित भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक तयारीका लागि निर्देशनसमेत दिएकाले निजी क्षेत्र पनि आशावादी देखिएका छन्। सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले थाई एयर एसियाले हप्तामा चार दिन उडान गर्ने गरी सम्झौता भएपछि भैरहवामा अन्तर्राष्ट्रिय उडान नियमित हुनेमा आशावादी रहेको बताए। उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि निजी क्षेत्रले ८० अर्बको हाराहारीमा लगानी गरेको बताउँदै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि सरकारको कदमलाई स्वागत गर्ने बताए।

‘सरकारले विमानस्थलका लागि गरेको लगानीभन्दा निजी क्षेत्रको लगानी धेरै छ, अब नियमित रुपमा उडान हुनुपर्छ। त्यसका लागि निजी क्षेत्रका तर्फबाट सहयोग गर्न तयार छौँ’, उनले भने। उनले थाई एयरसँगै अन्य विमान कम्पनीहरुलाई पनि आकर्षित गनुपर्ने बताए।

किन रोकियो उडान?

२०७९ साल जेठ २ गते बुद्धपूूर्णिमाको अवसर पारेर भव्य कार्यक्रमका बीच शुभारम्भ गरिएको थियो, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल। नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अन्तर्राष्ट्रिय उडान हुने दोस्रो विमानस्थलका रुपमा दर्ज भयो।

भैरहवाबाट नियमित रुपमा उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै उडान रोकेपछि विमानस्थलको प्रभावकारिताकै विषयमा प्रश्न उठेका थिए। जजिराले २०७९ जेठ २ गतेदेखि उडान सुरु गरेको थियो। यसले सुरुमा साताको तीन दिन गर्दै दैनिक उडान गरेको थियो। यात्रुको संख्या कम भएपछि सातामा तीन दिनमै सीमित भएको उडान २०७९ पुस ६ गतेदेखि हुुस्सुको कारण देखाउँदै उडान रोक्यो।

त्यसपछि केही महिनापछि फेरि उडान त सुरु ग¥यो तर जजिराले बीचमा २०८० वैशाख ६ गतेदेखि भने उडान पूर्ण रुपमा रोक्यो। नेपाल र चीनका निजी क्षेत्रको संयुक्त लगानी रहेको हिमालयन एयरलायन्सले २०७९ कात्तिक १७ गतेदेखि उडान सुरु गरेकोमा पुस १० गतेदेखि उडान गर्न सकेन। यी दुवै एयरलायन्सले मौसमलाई कारण देखाए पनि यात्रु नपाउने जोखिमका कारण उडान रोकेका हुन्।

जजिरा र हिमालयले उडान रोकेपपछि नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलायन्सले प्रत्येक मंगलबार उडान गर्ने गरी २०८० जेठ ३० देखि उडान सुरु गरेको थियो। तर नेपाल एयरलायन्सले नियमित रुपमा उडान भर्न सकेन।

विगत दुई महिनादेखि सातामा एक दिन उडान तालिका लिएको नेपाल एयरलायन्सले स्टिल अपरेसन भन्दै उडान रोकेको प्रवक्ता बज्राचार्यले बताए। विमानस्थलका अनुसार जजिराले २५२ उडानमा ३० हजार ३३८ जना, हिमालय एयरलायन्सले ७२ उडानमा चार हजार ८४१, नेपाल एयरलायन्सले ८४ उडानमार्फत एक हजार ७६० र अन्य एयरलायन्स (चार्टर) को ८६ उडानमा ९१ जना यात्रु गरी ३७ हजार ३० जना यात्रुले हवाई सेवा लिएका छन्।

प्रवक्ता बज्राचार्यले अब केही प्राविधिक समस्या रहेकाले त्यसलाई पनि हल गर्दै अघि बढ्नुपर्ने बताए। उनका अनुसार श्रम स्वीकृति, भिसा सेन्टर, स्वास्थ्य उपचारजस्ता प्राविधिक समस्याका कारणले पनि यात्रुले झन्झट भोग्नुपरेको छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनीका अध्यक्ष रचना पन्तले उडान सम्झौताले उत्साही भए पनि नियमित हुने कि नहुने भन्नेमा शंका रहेको बताइन्। उनले श्रम स्वीकृतिदेखि वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने म्यानपावरलगायतका मुख्य निकायहरुको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताइन्। निजी क्षेत्रले पनि लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रहरुलाई समेटेर प्याकेज बनाउनुपर्ने उनको सुझाव छ।

विमानस्थल नजिकै रहेको भन्सार कार्यालय र अन्य विमानस्थलसँग सम्बन्धित निकाय र कार्यालयहरुले समेत सेवा प्रवाह काठमाडौँबाट भैरहवा ल्याउनुपर्ने पनि उनले बताइन्।

बुद्धजन्मस्थललाई केन्द्रमा राख्न सुझाव

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भगवान् बुुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिएको हो। बुद्धजन्मस्थललाई जोडेर विमानस्थल सञ्चालनका लागि सरकारी तहबाट पहल हुन सकेको छैन।

बुद्ध धर्म मान्ने राष्ट्रहरुबाट लुम्बिनीमा सीधा उडान हुँदा त्यसले अतर्राष्ट्रिय विमानस्थल नियमित बनाउन सहयोग हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए। उनले लुम्बिनीमा आउने चिनियाँ, श्रीलंकाका राजदूत र बौद्ध राष्ट्रबाट आएका धर्मगुरुलाई गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि वातावरण बनाउन आग्रह गर्ने गरिएको बताए।

विश्वभरका बौद्धमार्गी, शान्तिप्रियलाई आर्कषण गरेर विमानस्थल सञ्चालन गर्दा त्यसबाट देशले आर्थिक लाभ लिनसक्ने उनले बताए। त्यसो त विमानस्थलबाट चीन, भारत, श्रीलंका, थाइल्यान्डजस्ता देशबाट सीधै उडान गर्नुपर्ने आवाज पनि उठेको छ। २०७१ साल माघ १ गते (जनवरी, १५ २०१५) मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरिएको थियो।

विमानस्थल करिब ८ सय बिघा क्षेत्रफलमा फैलिएको छ। तीन किलोमिटरको रनवे रहेको विमानस्थलमा फोर ई क्याटोगोरीको विमानस्थलमा नवौँ क्याटोगोरीका दमकलहरू छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसरह उडान र अवतरण हुन सक्ने यहाँ चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किड गर्न सकिन्छ।

प्रकाशित: २५ साउन २०८१ ७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + thirteen =