काठमाडौँ-तराई ‘फास्ट ट्रयाक’को धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

हिमाल प्रेस २१ साउन २०८१ १३:२३
14
SHARES
काठमाडौँ-तराई ‘फास्ट ट्रयाक’को धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

कैया (मकवानपुर)- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा-धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन्।

मकवानपुरको बकैया गाउँपालिका-१२, धेद्रेमा सोमबार (आज) एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ-निजगढतर्फको १.७२८ किमी लामो सुरुङ ब्रेक थ्रु गरेका हुन्। निजगढ-काठमाडौँतर्फको १.६५३ किमी धेद्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ। धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरुङ खोल्ने काम सम्पन्न भएको छ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५.९८ प्रतिशत रहेको जानकारी दिए।

लेनडाँडामा रहेको निजगढ-काठमाडौँतर्फको १.६१२ किमी र काठमाडौँ-निजगढतर्फको १.६३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ। ३.३२२ किमीको निजगढ-काठमाडौँतर्फको महादेवटार सुरुङ हालसम्म २.२९ किमी तथा ३.३८६ किमीको काठमाडौँ-निजगढतर्फको २.२८८ किमी सुरुङ खनिसकिएको छ। सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ।

द्रुतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ। आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन्। बाँकी चार पुल खोकना क्षेत्रमा छन्। सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ।

प्रस्थान विन्दु ललितपुरको खोकना र अन्तिम विन्दु बाराको निजगढ रहेको सो सडकको लम्बाइ ७०.९७७ किलोमिटर छ। द्रुत मार्ग पहाडी भू-भागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ। द्रुतमार्गमा १०.३०९ किमी लम्बाइको ६ वटा सुरुङ बन्ने छन्।

आयोजनाअन्तर्गत देवीचौरमा एक किमी, सिसौटारमा ०.३९ किमी, चन्द्राम भीरमा २.२५ किमी, महादेवडाँडामा ३.३५५ किमी, धेद्रेमा १.६९१ र लेनडाँडामा १.६२३ किमी लामो सुरुङ निर्माण हुनेछ।

सो सडकमा विभिन्न स्थानमा १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ। बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक वटा इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको हो। सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए। सरकारले २०७४ साउन २७ गते सडक विभागबाट सेनालाई आयोजना हस्तान्तरण गरेको थियो।

सो अवरसमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, नेपालका लागि चीन र कोरियाका राजदूत उपस्थिति थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =