राजर्षि विश्वविद्यालय स्ववियु निर्वाचन : लोकतान्त्रिक विद्यार्थी संघका यादव निर्वाचित

हिमाल प्रेस १८ साउन २०८१ ९:३६
8
SHARES
राजर्षि विश्वविद्यालय स्ववियु निर्वाचन : लोकतान्त्रिक विद्यार्थी संघका यादव निर्वाचित

काठमाडौँ- जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको स्ववियु निर्वाचनमा लोकतान्त्रिक विद्यार्थी संघका प्रवेश यादव सभापतिमा निर्वाचित भएका छन्। २०७४ सालमा विश्वविद्यालयको स्थापना भएपश्चात पहिलोपटक भएको स्ववियु निर्वाचनमा लोकतान्त्रिक विद्यार्थी संघका यादव सभापतिमा निर्वाचित भएका हुन्।

लोकतान्त्रिक विद्यार्थी संघ लोकतान्त्रिक समाजवादी पार्टी  (लोसपा) निकट विद्यार्थी संगठन हो। बिहीबार सम्पन्न स्ववियु निर्वाचनको नतिजा बिहीबार अबेर राति आएको हो।

लोकतान्त्रिक विद्यार्थी संघका यादव १२० मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संयुक्त विद्यार्थी प्यानलका श्याम साहले १११ मत प्राप्त गरेका छन्। सचिवमा अनेरास्ववियुका राजु अधिकारी ११० मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघका सुभाषचन्द्र यादवले १०४ मत प्राप्त गरे।

त्यस्तै, कोषाध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का शिवशंकर महतो निर्वाचित भएका छन्। महतोले ११९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक विद्यार्थी संघकी वर्षाकुमारी साहले ९६ मत प्राप्त गरिन्।

सदस्यहरूमा लोकतान्त्रिक विद्यार्थी संघका रामकुमार महासेठ, प्रितीकुमार कुर्मी, पूजा यादव, संयुक्त विद्यार्थी प्यानलकी सृष्टिकुमारी चौधरी, नेविसंघकी ज्योति दत्त र लोकतान्त्रिक विद्यार्थी संघकी र रञ्जना पासवान निर्वाचित भएका छन्।

४७५ जना मतदाता रहेकोमा ४४४ जनाले मतदान गरेका थिए। त्यस्तै समानुपातिकतर्फ लोकतान्त्रिक विद्यार्थी संघले ९६, अनेरास्ववियुले ७६, संयुक्त विद्यार्थी प्यानलले १०५, विद्यार्थी जनमत संघले ६२ र नेविसंघले ९९ मत ल्याएको छ।

समानुपातिकतर्फ ६ जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ। २०७४ साल असोज १२ गते स्थापना भएको राजर्षि विश्वविद्यालय २०७५ देखि सञ्चालनमा आएको थियो। यो विश्वविद्यालयमा विज्ञान, मानविकी र वाणिज्य गरी नाैवटा विषय अध्यापन भइरहेका छन्।

प्रकाशित: १८ साउन २०८१ ९:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =