विमान दुर्घटना : फेसबुकमा इन्जिनियर सन्तोषको त्यो अन्तिम सन्देश

हिमाल प्रेस ९ साउन २०८१ १८:१९
114.3k
SHARES
विमान दुर्घटना : फेसबुकमा इन्जिनियर सन्तोषको त्यो अन्तिम सन्देश

काठमाडौँ- एक महिनाअघि २४ जुनका दिन सन्तोष महतोले सामाजिक सञ्जाल फेसबुकमा छोरा रियान्सलाई जन्मदिनको शुभकामना दिँदै ‘हरेक दिन हाम्रो जीवनमा दिइरहेको खुसी र माया जस्तै जन्मदिन भरिपूर्ण होस्’ लेखेका थिए।

५ वर्षीय छोरा रियान्सलाई जन्मदिनको शुभकामना दिएको सामाजिक सञ्जाल फेसबुकमा सन्तोषको यो अन्तिम पोस्ट भएको छ। र, जन्मदिनमा छोरालाई दिएको अन्तिम शुभकामना। २४ जुनपछि फेसबुकमा उनले केही पोस्ट गरेका छैनन्।

खुसी र मायाको कामना गर्दै छोरा प्रियान्सलाई शुभकामना दिएको ठीक एक महिनापछि २४ जुलाईका दिन सन्तोष आफैं यो दुनियाँबाट अस्ताएका छन्। सौर्य एयरलाइन्समा ‘एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर’ का रूपमा कार्यरत जनकपुरधाम-१ का सन्तोषको बुधबार बिहान भएको दुर्घटनामा मृत्यु भएको छ।

मर्मतका लागि पोखरा उडेको सौर्य एयरलाइन्सको विमानमा सन्तोष पनि थिए। एयरलाइन्सको मेन्टेनेन्स इन्जिनियर भएकाले मर्मत टोलीको सदस्य भएर उनी जानैपर्ने थियो।

अरू जहाज मर्मतका लागि हिँडेको सन्तोषलाई आफू चढेकै विमान दुर्घटनामा पर्ला भन्ने थाहा थिएन।  ३५/३६ वर्ष उमेर भएका सन्तोषको पाँच वर्षका छोरा र दुई वर्षकी एक छोरी छन्। दुर्घटनामा ज्यान गएपछि सन्तोषको परिवारमा बज्रपात परेको छ।

जहाज दुर्घटनामा छोराको ज्यान गएको खबर पुग्नसाथ जनकपुरमा उनका आमाबुबा मूर्छा परेर बेहोस भएका छन्। घरमा रुवावासी सुरु भएको छ। जहाज दुर्घटनामा परेर छोराको ज्यान गएको खबर आएपछि आमाबुबा मूर्छित अवस्थामा रहेको सन्तोषका आफन्त शम्भु चौधरीले बताए।

‘बुबाआमा जनकपुरमै हुनुहुन्छ, यो खबर थाहा पाएपछि उहाँहरू बेहोस अवस्थामा हुनुहुन्छ, घरमा रूवाबासी छ,’ शम्भुले हिमालप्रेससँग भने। सधैँ आफैँ मर्मतमा खटिइरहने जहाजमा दुर्घटनामा परेर सन्तोषको ज्यान गएको भनेर परिवारका सदस्यले विश्वास गर्न सकिरहेका छैनन्।

जनकपुरबाट विद्यालय शिक्षा गरेका सन्तोषले भारतको महाराष्ट्रस्थित ‘विंग्स कलेज अफ एभिएसन टेक्नोलोजी’ बाट ‘एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरिङ’ अध्ययन गरेका थिए। एयर काष्टमण्डप र गोर्खा एयरलाइन्समा काम गरेर अनुभव बटुलिसकेका सन्तोष पछिल्लो समय सौर्य एयरलाइन्समा आबद्ध थिए।

यस्तो छ उनको पोस्ट

प्रकाशित: ९ साउन २०८१ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =