विद्यार्थीकाे माग व्यावहारिक शिक्षा

हिमाल प्रेस ७ साउन २०८१ ११:१०
192
SHARES
विद्यार्थीकाे माग व्यावहारिक शिक्षा

कैलाली- कैलाश भट्ट सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषय अध्ययन गरिरहेका छन्। करिब पाँच वर्ष कृषि विज्ञान अध्ययन गरेका उनी आज अन्तिम परीक्षा दिँदैछन्। पाँच वर्ष अध्ययनमा बिताएका उनी परीक्षा सकेपछि के गर्ने भन्ने अन्योलमा छन्।

‘कृषि तर्फबाट स्नातक तहसम्मको अध्ययन सकियो। नतिजा आउन समय लाग्ने हुँदा बीचको समय के गर्ने भन्ने योजना बन्न सकेको छैन,’ उनी भन्छन्,‘विद्यार्थीलाई पढाईसँगै कमाउने वातावरण बनाउन सके कृषि प्राविधिक स्वदेशमै काम गर्ने वातावरण बन्न सके के गर्ने भन्ने सोच्नुपर्ने थिएन होला।’

पढ्ने अनि सँगै कमाउने वातावरण विद्यार्थीका लागि भए कृषि क्षेत्रमा विद्यार्थीको आकर्षण बढ्ने विद्यार्थी प्रमिला शर्मा बताउँछिन्। कृषिमा उत्पादन भएको जनशक्ति व्यवस्थापन हुन नसक्दा कृषिमा अवसर हुँदाहुँदै पनि त्यो अवसरका लागि हुन नसकेको उनको भनाइ छ। ‘झन्डै पाँच वर्ष हामी कृषि विषय अध्ययन गर्दछौं,अध्ययन गर्दा समय र लगानी धेरै हुन्छ,’ उनले भनिन्,‘सुदूरपश्चिम विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई पढ्दै कमाउने वातावरण बनाउनेतर्फ ध्यान दिनुपर्छ।’

विद्यार्थी पार्वती ओली कृषि संकायका विद्यार्थीलाई सैद्धान्तिक ज्ञान पढाएर व्यवहारिक ज्ञान सिक्न यहाँका किसानसम्म जोड्नुपर्ने बताउँछिन्। सैद्धान्तिक ज्ञानले विद्यार्थीको सिकाइ समयसापेक्ष नहुने जनाउँदै प्रयोगात्मक सिकाइको अभाव आफूलाई महसुस भएको उनको भनाइ छ। ‘हामी चार वर्ष सैद्धान्तिक कुरा पढ्छौं तर हामीलाई प्रयोगात्मक ज्ञान सिक्ने ठाउँ छैन,’ उनले भनिन्,‘हामीले पढेको सिकाइ र किसानको बारीमा गएर किसानबाट सिकेको कुरा फरक हुने गरेको छ। त्यसैले हामीले प्रयोगात्मक सिकाइका लागि किसानकै बारीमा जाने वातावरण स्थानीय सरकार र सरोकारवालाले मिलाउन सक्नुपर्छ।’

किसानलाई उद्यमशीलतातर्फ जोड्नुपर्नेमा जोड दिँदै अर्का विद्यार्थी दुर्गा बोगटीले वास्तविक किसानलाई सम्मानको खाँचो रहेको बताइन्। पाँच पहिना प्रयोगात्मक सिकाइको लागि किसानसँग नजिक भएर अध्ययन गरेकी उनले वास्तविक किसान हरेक दृष्टिकोणले पछाडि रहेको बताइन्।

किसानसँग जोडिएर आफूले काम गर्न चाहेको विद्यार्थीको भनाइ छ। उनले स्थानीय स्थानीय सरकारलाई निश्चित समयको लागि स्वयंसेवकको रुपमा रहेर काम गर्न तयार रहेको बताए। सैद्धान्तिक भन्दा शिक्षा पद्धति प्रयोगात्मक तिर केन्द्रित भए पढ्दै कमाउँदै गर्ने वातावरण सिर्जना हुनसक्ने विश्वास विद्यार्थीको छ। ‘प्रयोगात्मक शिक्षाले सिकाईमा सहताका साथै आफ्नो दैनिक खर्च व्यवस्थापन पनि हुनसक्छ,’ विद्यार्थी नवीन भुसालले भने,‘अध्ययनलाई उत्पादनसँग जोडन सकिएन भने आगामी दिनमा क्याम्पसमा विद्यार्थी पाउन मुस्किल हुने स्थिति आउने देखिन्छ।’

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञापन संकायका प्रमुख सुशील न्यौपानेले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन नसक्दा कृषिमा उत्पादन भएको जनशक्ति बाहिर जानुपर्ने बाध्यतामा रहेको बताए। उनले अवसरको खोजीमा भएकाले सहजै अवसर नपाउँदा शिक्षाको औचित्यमाथि प्रश्न उठेको जनाउँदै अहिले कृषिबाट उत्पादन भएको जनशक्ति पनि त्यहीँ स्थितिमा रहेको बताए।

‘देशभर वार्षिक दुई हजार दक्ष जनशक्ति कृषि क्षेत्रमा मात्रै उत्पादन हुने गरेको छ। त्यसमध्ये बढीमा एक सय जनाले स्वदेशमा कामको अवसर पाउँछन् होला।’ उनले भने,‘व्यावसायिक रुपमा सम्भावना नहुँदा आज विद्यार्थी उच्च शिक्षामा भन्दा विदेश जान बढी इच्छुक भैरहेका छन्।’

टीकापुर बहुमुखी क्याम्पस प्रमुख ढविन्द्रबहादुर रावलले कृषि क्षेत्रलाई संस्कारको रुपमा विकास गर्न आवश्यक रहेको बताए। उनले बजारको आवश्यकता अनुसार कृषि उत्पादनले प्राथमिकता नपाएका कारण परनिर्भरता कायमै रहेको बताए। ‘सम्भावनासँग चुनौती जहाँ पनि हुन्छ। त्यो चुनौतीको सामना गर्न सक्यो भने त्यसबाट नतिजा पनि सकारात्मक आउँछ,’ क्याम्पस प्रमुख रावलले भने,‘आत्मनिर्भर बन्नका लागि व्यावसायिक बन्न सक्नुपर्छ। अहिले पनि नेपालको कृषि क्षेत्र व्यावसायिक नबनेर परम्परागतमै सिमित छ।’

सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायले पुराना लोप हुन लागेका रैथाने जातका बालीको संरक्षणका लागि काम सुरु गरेको छ। संकायले केही रैथाने जातको खेतीको लागि अध्ययनको काम समेत सुरु गरेको बताएको छ। हाल कागुनु लगायत केही पुराना जातका बालीको परिक्षण कृषि संकाय गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 8 =